डा.रामप्रसाद ज्ञवाली: चार कक्षा फेल हुँदा घरको थाममा बानेर सिस्नु पानी खाने १ सय ७ कृतिका सर्जक

डा.रामप्रसाद ज्ञवाली: चार कक्षा फेल हुँदा घरको थाममा बानेर सिस्नु पानी खाने १ सय ७ कृतिका सर्जक

आशिष पौडेल  |  अन्तर्मन्थन  |  मंसिर ३, २०८०

उहाँको बुवा सामान्य किसान । कर्मकाण्ड पनि गर्नुहुन्थ्यो । तर, कर्मकाण्ड गरे पनि कर्मकाण्डी भने हुनु हुन्थेन । उहाँले बुवालाई यो धर्म कर्ममा त्यति विश्वास गर्दिन तपाईँ बितेपछि यो किरियाकर्म गर्दिन जे जे गरे पनि बाँचुन्जेल सेवा गर्ने हो भन्दा गरे गर नगरे नगर मलाई गरिदिने हो र भनेर उदारमना देखाउनुहुन्थ्यो । बुवा पण्डित भएर भावगत नै भन्ने हुँदा पनि यति उदार ह्दयको हुनुहुन्थ्यो । तर, यसो भनिरहँदा आमा भने चित्त दुखाउनुहुन्थ्यो । 

आर्थिक अवस्था अलि कमजोर भएको र छोराछोरीलाई पढाउन अनि घर व्यवहार पनि धान्नुपर्ने हुनाले उहाँ भारतको नागाल्याण्डमा काम गर्न जानुभयो । तर, बुवाले कहिले पनि नभएको अभाव देखाउनु भएन । दुःख कसैलाई पनि देखाउनु भएन । 

उहाँको जन्म गुल्मीको हालको रुरु गाउँपालिकामा भएको हो । उहाँका पाँच भाइ तथा तीन बहिनी । उहाँ भने काइँलो । चप्पल कस्तो हुन्छ, जुत्ता कस्तो लुगा कस्तो हुन्छ भन्ने थाहा नपाएरै बितेको हो उहाँको बाल्यकाल । जाँघे लाएर, घाँस काटेर, गोबर सोहोरेर, ढिकी जाँतो गरेर बितेको हो उहाँको बाल्यकाल । खेल्दा चोटपटक लाग्यो भने घाउमा धुलोको मल्हम पनि लगाए कै हो उहाँले । खोलामा पौडी खेल्ने, भ्यागुता जम्मा गर्ने, गँगटे लखेट्ने त कति हो कति । 

लारी, लौरो अर्थात् डण्डी बियो खेल्ने, खोपी खेल्ने, गुच्चा खेल्ने, कपर्दी खेल्ने, मट्याँग्रा खेल्ने, रुखका हाँगामा गएर झुण्डिएर खेल्ने गर्दै बितेको हो उहाँको बाल्यकाल । 

०००

उहाँको कखरा सिक्ने समयमा बुवा नागाल्याण्डमा जानु भएकोले उहाँको कखरा सिकाइ घरमा भएन । कक्षा तीन पास गरेको खुट्टा अलि लँगडो भएको स्याङ्ला गुरुले चौरमा राखेर पढ् पढ् भन्दै पढाएको उहाँलाई सम्झना छ । चौरमा बस्न चकटी घरबाटै लिएर लानु पर्थ्यो । खुट्टा अलि लँगडो भएको हुनाले स्याङ्ला गुरु भने जस्तो लाग्छ उहाँलाई ।

गुरु सबै विद्यार्थीलाई भ्याउने गरी लामो लौरो लिएर बस्नुहुन्थ्यो । र, उठेर हत्पत्ति हिँड्न नसक्ने हुनाले नपढ्दा टाढैबाट लौरोले पिट्नुहुन्थ्यो । हिर्काउँदा रुन मनाही थियो । रोयो भने झन दोब्बर जोडले झटारो आउँथ्यो । टाउकोमा टुटुल्का कति उठे हिसाब किताब भएन । 

सागर पोखरीमा पढ्दा पनि धेरै जसो चउरमा नै बसेर पढेको हो उहाँले । कच्ची ढुंगा, माटोको भवन थियो । साना साना तीन वटा कोठा थिए । एउटा कोठामा दुई वटा कक्षा हुन्थे । सागर पोखरीमा पढ्दा एक जना भेडे दाइ भन्ने हुनुहुन्थ्यो । एकोहोरो भएका कारण भेडे दाइ भनिएको हो । अरुले उक्साएको भरमा जे पनि गर्ने खालको । एक दिन उहाँले पच्चीस पैसा दिन्छु एक मुठी खुर्सानी खानुस् भनेको ल भन्नुभयो । तर, पछि आँखा बाट आँसु खसाल्दै, मुख सबै रातो बनाएर बेहोस भएर पानी छम्केर होसमा ल्याउनुपर्ने स्थिति भयो ।

त्यस बेला भुइँमा धुलोमा क,ख लेख्ने अनि कालो पाटीमा सिलोटले लेख्ने गर्नुभयो उहाँले । कलमको प्रयोग पनि गर्नुभयो तर, मसी भने किम्बु निचोरेर त्यसको झोलको बनाउनुपर्ने हुन्थ्यो । भर्खर भर्खर चक्की मसीको चलन आएको थियो । 

कक्षामा छात्रहरू कै बाहुल्यता थियो । झण्डै दश/बाह्र जना पुरुषमा दुई जना महिला त्यो पनि ओमप्रकाश सरका छोरीहरु भएको उहाँलाई सम्झना छ । महिलालाई क,ख चिनाए पनि माथिल्लो कक्षासम्म पढाएको खासै उहाँलाई थाहा छैन । 

उहाँ भने सानैदेखि विद्रोही स्वभावको मान्छे । सानो कुरामा पनि अरुले गल्ती गरेको छ भने झम्टिहाल्ने स्वभाव थियो । एक पटक के भयो भने सात वर्षको उमेरमा हुनुपर्छ गाउँमा उहाँहरुको खेतमा पानी लगाउने पालो भएका बेला एक जनाले आफ्नो खेतमा पानी लगाएछन् । आमाले उहाँलाई पानी हेर्न पठाउनु भयो । तर, हेर्न जाँदा त आफ्नो पालोमा आफ्नो खेत सुक्खा अनि अरुको खेतमा पानी लगाएर टलफल पानी । 

अनि उहाँले आफूसँग लिएर गएको कोदालोले सबै उनीहरुको खेतको आली काटेर पानी आफ्नै खेतमा हालिदिनुभयो । अनि खे तधनी उताबाट आएर उहाँलाई गाली गरे । किन हाम्रो खेतको पानी आली काटेर लगाइस् भने । तँलाई नकुटी छाड्दिन भनेपछि उहाँले आफूसँग भएको हँसियाले उनको हातमा हानेको उहाँलाई सम्झना छ । शायद यसले उहाँलाई जनआन्दोलन, भूमिगत, क्रान्ति आदिमा पनि लाग्न प्रेरित गरेको उहाँको बुझाइ छ । 

त्यसपछि उहाँ गाउँको कोत भन्ने ठाउँको राष्ट्रिय निमाविमा चार कक्षामा भर्ना हुनुभयो । पढाइ ठिकै थियो । चार कक्षामा उहाँको एक विषय लाग्यो । अनि अब घरमा गाली गर्छन् भनेर घर जान मन थिएन । अनि रुँदै रुँदै ओरालो झर्दै गर्दा बाटोमा एक जना काकी भेटिनुभयो । किन रोएको भनेर सोध्नुभयो । चार कक्षामा फेल भएको घर जाँदा मार्छन् अब भनेपछि अब बालाई केही थाहा छैन आमालाई त झनै केही थाहा छैन त्यसैले एउटा माला लगाइदिन्छु अनि कापी दिन्छु पुरस्कार पाएँ भनेर जा भनेर काकीले सल्लाह दिनुभयो । काकीले लगेर आँसु पसिदिएर, मुख धोइदिएर खाजा खुवाएर अबिर दलेर माला लगाएर पठाइदिनुभयो !

झण्डै दुई महिनापछि यसो बाटोमा हिँड्दै जाँदा छोरो पाँच कक्षामा पढ्ने भयो के छ त हालखबर हेरौँ न त भनेर बुवा स्कूलमा जाँदा त छोरो चार कक्षामै पो छ त ! अनि घरमा आउँदा त बुवाले रातभरि घरको थाममा बानेर  सिस्नुपानी लाउँदै आमालाई पनि यसलाई ख्वाउलीस् भनेर आमालाई पनि गाली गर्नुभयो

 घरमा अब अबिर माला लाएर पास भएर आएको छोरालाई खुशी भएर गाउँबाट दूध खोजेर ल्याएर खीर पकाएर ख्वाउनु भयो । तर, अब एक महिनापछि स्कूल त जानै छ फेरि । त्यो पनि चार कक्षामा । तर, घरम पास भइयो भनेर ढाँटेका कारण बुवाले पाँच कक्षाको किताब किनिदिनुभयो । तर, अब उहाँलाई भने सकस पर्यो । स्कूल जाँदा माथि भने पाँच कक्षाको एउटा किताब राख्ने अनि बाँकी चार कक्षाको किताब राखेर उहाँ चार कक्षामै पढ्न थाल्नु भयो । घरका मान्छेले पाँचमा पढ्दैछ भन्ने ठानेका छन् । उहाँ भने चारको पुरानो विद्यार्थी । 

झण्डै दुई महिनापछि यसो बाटोमा हिँड्दै जाँदा छोरो पाँच कक्षामा पढ्ने भयो के छ त हालखबर हेरौँ न त भनेर बुवा स्कूलमा जाँदा त छोरो चार कक्षामै पो छ त ! अनि घरमा आउँदा त बुवाले रातभरि घरको थाममा बानेर  सिस्नुपानी लाउँदै आमालाई पनि यसलाई ख्वाउलीस् भनेर आमालाई पनि गाली गर्नुभयो । त्यसपछि उहाँ पाँच कक्षामा भने नेपालकै पुरानो मध्येको रिडी संस्कृत पाठशालामा गएर पढ्नु भयो । उहाँ त्यस बेला एघार वर्षको हुनुहुन्थ्यो । उहाँको त्यो विद्रोही चेत भने कायम थियो । उहाँले त्यस बेला नै आमालाई अब मलाई मेरो अंश दिनुस् अब म पढ्न जान्छु भनेर भन्नुभएको थियो । शायद पढाइ प्रतिको यो विद्रोह थाममा बानेर लाएको सिस्नुपानीको पनि करामत हो कि । 

उहाँ त्यसपछि भने गाउँका चर्तुभुज काकाका साथ भागेर हरिद्वारतिर लाग्नुभयो । उहाँ त्यसपछि एसएलसी पूर्व मध्यमामा पाँच नम्बर ग्रे स लिएर पास गर्नुभयो । अनि उत्तर मध्यमा अर्थात् आइए सरहलाई भने एक नम्बर पुगेन उहाँको फस्र्ट डिभिजनका लागि । शास्त्री भने उहाँले ६८ प्रतिशत नम्बर ल्याएर पास गर्नुभयो । अनि उहाँ नेपाल फर्केर एमए नेपाली विषयमा भने नेपाल टप गर्नुभयो । यो २०४९ सालको कुरा हो । त्यस बेला उहाँले राजा वीरेन्द्रको हातबाट तक्मा तथा पुरस्कार लिनुभयो । 

त्यस बेला नेपाल टप गर्नेलाई जापानमा छात्रवृत्ति दिने चलन थियो । त्यसै अनुसार उहाँ पढ्न जापान जानुभयो । नेपाल टप गरेको घमण्ड पनि साथमै थियो । तर, जापान पुगेपछि उहाँलाई एउटा प्रश्न गरियो उसले भने उहाँलाई कसरी पढ्नुपर्ने रहेछ भन्ने ज्ञान भयो । जापान गएपछि उहाँलाई यति धेरै किन पढेको भनेर प्रश्न गरियो । यसको उहाँसँग कुनै उत्तर थिएन किन पढेको पढेको । त्यसपछि उहाँलाई लाग्यो हामी शिक्षाको वास्तविकता  नबुझि नै पो पढ्दा रहेछौँ । घोकेर पढ्दा रहेछौँ । हामी त जीवनसँग जोडिएर पढ्दा रहेनछौं पढ्नु, लेख्नु भनेको त जीवन बाँच्ने कला रहेछ । बोल्न सिक्ने, खान सिक्ने, साथी बनाउन सिक्ने, दुःख परेको बेला धैर्य धारण गर्न सिक्ने, समस्या समाधान गर्न सिक्ने भन्ने थाहा भयो । 

उहाँले ‘नेपाली महाकाव्यमा वर्गीयता र वर्ग द्वन्द्वको अभिव्यक्ति’ शीर्षकमा विद्यावारिधि पनि गर्नुभयो । त्यस बेला एक सय ९३ वटा महाकाव्य प्रकाशन भएका रहेछन् । तर, उहाँलाई प्राप्त एक सय ६० वटा महाकाव्य पढेर त्यसबाट छानेर महाकवि देवकोटाको प्रमिथस, मोदनाथ प्रश्रितको देवासुर संग्राम, जगदिशशमशेर राणाको नर्सिङ अवतारलगायत नौ वटा महाकाव्यमा केन्द्रित भएर उहाँले विद्यावारिधि गर्नुभएको हो । उहाँ आफ्नै महाकाव्यको पनि त्यसमा अध्ययन रह्यो । एमएको थेसिसमा सय पूर्णाङ्कको ‘औँसीका फुलहरु’ शीर्षकको महाकाव्य बुझाएर उहाँले थेसिस पूरा गर्नुभएको छ । उहाँ यसलाई विश्वकै पहिलो घटना बताउनुहुन्छ । यसलाई सामान्य ज्ञानमा पनि सोधिने उहाँको भनाइ छ । पछि यसलाई नेपाल प्रज्ञा प्रतिष्ठानले पनि प्रकाशन गर्यो । यसको धेरै चर्चा पनि भयो । यसकै बारेमा तीन/चार वटा थेसिसहरु पनि लेखिएका छन् । 

०००

उहाँले २०४२ सालमा काभ्रेपलाञ्चोकको डाँडापारीमा गएर पढाउन सुरु गर्नुभएको आजसम्म पनि पठनपाठन जारी नै छ । पहिलो पटक पढाउन भनेर त्यो दुर्गममा जाँदाको उहाँको आफ्नै अनुभव छ । हिँड्दै जाँदा रुखबाट जुँगा खसेका, खान नपाएर भोकले रन्थनिँदा बल्ल ढिँडो खान पाएको, ढिँडो निल्न नसकेका बेला कुराउनी थपि दिउँ भनेर उल्टो ढिँडोकै डल्लो थपिदिएको अनेकौँ कहानी छन् । 

उहाँको तलब त्यस बेला सात सय रुपैयाँ थियो । चार महिनाको एकै पटक अट्ठाइस सय रुपैयाँ आउँदा खुशीको सीमा नै थिएन । त्यो पैसा उहाँले बुवालाई दशैँमा घरमा आउँदा ल्याएर दिनुभयो । त्यसले बुवालाई अलिकति भए पनि ऋण तिर्न मद्दत गर्यो । 

उहाँ त्यस बेला शिक्षक संघमा आबद्ध भएर राजनीति पनि गर्नुहुन्थ्यो । उहाँ शिक्षक संघको सम्मेलनमा भकुण्डे बेँसीमा भाग लिन आएको बेला पुलिसले खेदेपछि एकैपटक भागेर पाँचखाल पुग्नुभयो । आज पनि उहाँलाई भकुण्डेबाट एकै पटक कसरी पाँचखाल पुगियो भन्ने लाग्छ । 

उहाँले काभ्रे ढुङखर्कको पार्वती मावि, पाँच खालको सर्वमङ्गला मावि हुँदै अन्य विद्यालयमा पढाउँदै २०४९ सालमा काठमाण्डौ आएर पद्मकन्या क्याम्पसमा पढाउन थाल्नुभयो । र अहिले रत्नराज्यलक्ष्मी क्याम्पसमा पढाउँदै हुनुहुन्छ । 

०००

साहित्यको सुरुवात भने उहाँ संस्कृत पढ्दाको बखत हरिद्वारबाट नै सुरु गर्नुभएको हो । त्यस बेला नेपाली छात्र संघ हरिद्वारसँग आबद्ध भएर नाटक लेख्ने, देखाउने काम गर्नुहुन्थ्यो । विद्रोही स्वभावले उहाँलाई कहिले पनि छोडेन । त्यसकारण त्यस बेलामा पनि अर्थात् पञ्चायतको समयमा नै ‘अवला’ शीर्षकको नाटक देखाउनु भएको थियो हरिद्वारमा । 

२०४१ सालमा यो नाटक देखाउँदा भारतका लागि नेपाली राजदूत हेर्न गएका थिए । तर, राजाकाविरुद्ध नाटक देखाउने भनेर राजदूत कहिल्यै आउँदिन भनेर रिसाएर हिँडेको उहाँलाई सम्झना छ । 

त्यसपछि उहाँले मानवता भन्ने नाटक देखाउनु भयो । अनि नौ, दश वटा अरु नाटक पनि लेख्नुभयो । २०४४ सालमा विवश आँसु भन्ने राष्ट्रिय नाचघरमा देखाएको नाटकमा पञ्चायत विरोधी नाटक थियो । तर, अञ्चलाधीशसँग कुरा मिलाएर त्यो शब्द हटाएर उहाँको नाटक प्रदर्शन गरिएको थियो । 

उहाँको पहिलो प्रकाशित कृति कविता संग्रह भने २०४२ सालमा हो । उहाँले झण्डै गाउँमा दश वर्ष स्कूल पढाउँदा जहाँ जहाँ जुन जुन स्कूलमा पढाउनु भयो त्यहाँका विद्यार्थीका नामबाट कविता लेख्नु भएको छ । यसले उहाँलाई लेख्ने अभ्यास मात्र होइन पारङ्गत नै बनायो । जसका कारण २०३९ सालमा उहाँले एमएको थेसिसमा महाकाव्य लेखेर बुझाउन सफल हुनुभयो । 

उहाँका अहिलेसम्म समालोचनाका १८ वटा पुस्तक छापिएका छन् । एकै दिन दश वटा समालोचनाको पुस्तक विमोचन भएको छ उहाँको । महाकाव्य दुई वटा, खण्डकाव्य तीन वटा, कविता संग्रहहरु झण्डै पाँच/छ वटा छन् । त्यस्तै उहाँका संगीत बद्ध गीतहरु अहिले पनि विभिन्न रेडियोबाट बज्ने गरेको छ । 

उहाँको पहिलो उपन्यास भने २०४९/२०५० सालतिर छापिएको हो । अर्को पनि उहाँको उपन्यास प्रकाशित छ ‘जीवनका घुम्तीहरु’ । 

उहाँले २०५४ सालमा अभियान साहित्य प्रतिष्ठान पनि स्थापना गर्नुभयो । जसमा उहाँको नेतृत्वमा रहेर अर्जुन पराजुली, मित्रलाल पंगेनी, नेत्र एटम, मधुसुदन गिरी आदि अहिलेका चर्चित साहित्यकारहरूले काम गर्नुभएको छ । गणतन्त्रको आन्दोलनका बेलामा पनि उहाँले सडकमा थुप्रै कविता वाचन गर्दै हिँड्नुभयो ।

उहाँको ‘स्वप्न दृष्टि’ महाकाव्यमाथि अहिले विद्यावारिधि पनि हुँदैछ । जुन उहाँको उत्तर कोरिया भ्रमणको यात्रा तथा त्यसका अनुभूतिलाई लिएर उहाँले यो महाकाव्य लेख्नु भएको छ । 

पुरस्कारमा विकृति आयो भनेर अभियानले एक रुपैयाँको पुरस्कारको अभियान नै चलायो । जुन निकै चर्चित पनि भयो । जसका बारेमा त्यस बेलाका कान्तिपुरलगायतका पत्रपत्रिकाहरूले कभर पेजमा पनि लेखे । 

उहाँका कथा, कविता, निबन्ध, उपन्यास, महाकाव्य, खण्डकाव्यलगायत ४२ वटा कृति प्रकाशन भएका छन् । त्यसका अलावा पाठ्य पुस्तक सन्दर्भ पुस्तक आदि सबै गरेर अहिलेसम्म एक सय सात वटा कृति प्रकाशन भएका छन् ।