रैथाने जातीको जीवन शैलीमा माघे सङ्क्रान्ति: महत्त्व र खानपिन

रैथाने जातीको जीवन शैलीमा माघे सङ्क्रान्ति: महत्त्व र खानपिन

आशिष पौडेल  |  जीवनशैली  |  माघ १, २०८०

देशभर आज माघे सङ्क्रान्ति पर्व मनाइँदैछ । यस दिन विशेषगरी घिउ, चाकु, तरुल, तिलको लड्डु, फुलौरा, खिचडीलगायतका परिकार खाने गरिन्छ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने हुनाले माघे सङ्क्रान्तिलाई मकर संक्रान्ति पनि भनिन्छ । धर्ममा आस्था राख्नेहरु भने बिहानै नदी, त्रिवेणी, तलाउ आदिमा गएर स्नान, जप, तप, ध्यान तथा दान गर्ने गर्छन् । यस दिन चितवनको देवघाट, त्रिशुली, कालीगण्डकी, बाग्मती, इन्द्रावती, त्रिवेणी, रिडीलगायतका ठाउँमा मेला पनि लाग्ने गर्छ । 

माघे सङ्क्रान्तिदेखि साउने सङ्क्रान्तिसम्म सूर्य उत्तरको बाटो हिँड्ने हुनाले यो छ महिनालाई उत्तरायणको समय पनि भनिन्छ । यो समयमा दिन लामो तथा रात छोटो हुँदै जान्छ । 
माघे सङ्क्रान्तिमा किन खाइन्छ तरुल, घिउ, चाकु तथा खिचडी

माघे सङ्क्रान्ति तरुल, घिउ, चाकु तथा खिचडी खाने परम्परा छ । यस पर्वमा खाइने तरुल, सखरखण्ड कन्दमूल अन्र्तगत पर्छ । जमिन मुनि फल्ने यस्ता फलमा भिटामिन सी, ए, आइरन, म्याग्नेसियम, कार्वोहाइड्रेडको मात्रा अत्यधिक पाइन्छ । तरुल, सखरखण्ड जस्ता कन्दमूलमा कार्वोहाइड्रेडको मात्रा बढी पाइने हुँदा यसलाई शक्तिको स्रोतको रुपमा लिइन्छ । पुष/माघमा जाडो धेरै हुने जाडोबाट बच्न उर्जा धेरै चाहिने हुँदा पनि यस्ता कन्दमूलको प्रयोग गरिन्छ । 

त्यस्तै माघे संक्रान्तिमा खाइने चाकुमा पनि कार्वोहाइड्रेडको मात्रा धेरै हुन्छ । जाडो मौसममा चाकु खाँदा शरीरमा उर्जा र शक्ति बढ्ने हुँदा पनि यसको सेवन गर्ने प्रचलन छ । जाडोमा घिउको सेवनले शरीरको तापक्रममा वृद्धि हुने कारणले पनि माघे संक्रान्तिमा घिउ, चाकु खाने परम्परा रहेको छ । 

चामल तथा (मास) दालको मिश्रण गरेर पकाएर बनाउने खिचडी पनि माघे संक्रान्तिमा खाइने प्रमुख खाद्य मध्येको एक हो । खिचडीमा तेल तथा घिउको प्रयोग नहुने हुँदा सजिलै पचाउन सकिन्छ । खिचडीले शरीरमा ऊर्जा प्रदान गर्ने तथा रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्छ ।

रैथाने खोज्ने तर उत्पादनमा ध्यान नदिने

माघे सङ्क्रान्ति मात्र नभएर अन्य चाडपर्वमा पनि अहिले रैथाने खानेकुरा खोज्ने प्रचलन बढ्दै गएको छ । तर, रैथाने खोजे पनि यस्ता चिजको उत्पादनमा भने ध्यान दिइएको पाइँदैन । माघे सङ्क्रान्तिमा खाइने तरुलको उत्पादनमा पनि यसको पकेट क्षेत्र तोकेर कसरी उत्पादन बढाउन सकिन्छ भन्ने बारेमा सरकार गम्भीर भएको देखिँदैन । 
सरकारले सिन्धुलीमा कन्दमूल तरकारी विकास केन्द्र स्थापना गरे पनि केन्द्रले तरुल, सखर खण्ड जस्ता कन्दमूलको उत्पादनमा वृद्धिमा ध्यान पुर्याउन सकेको छैन । वर्ष भरीमा देशभरी कति तरुल उत्पादन हुन्छ भन्ने तथ्यांक केन्द्रमा छैन ।

मगर समुदायले पनि तीन दिनसम्म माघे सङ्क्रान्ति मनाउने गर्छन् । त्यस अवसरमा धनुकाँड खेल्ने तथा चेलीबेटी तथा पितृ पुज्ने काम पनि हुन्छ । पहिलो दिन चेलीबेटीलाई निस्रो बाँड्ने चलन छ । पूजा गर्दा थालमा अलिकति चामल, तरुल, पुरी तथा मिठाइ, खानेकुरा, दक्षिणा हालेर दिने चलनलाई निस्रो भनिन्छ ।

तरुलको खपतको कुरा गर्दा वार्षिक रुपमा बढिरहेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका प्रवक्ता विनय श्रेष्ठ बताउनुहुन्छ । उहाँका अनुसार २०७७ सालमा एक हजार चार सय ४० टन रहेकोमा २०७८ मा बढेर एक हजार सात सय तीन टन पुगेको छ । तर, २०७९ सालमा भने एक हजार छ सय टन ९३ टन खपत भएर अघिल्लो वर्षको तुलनामा १० टन कम भएको देखिन्छ । तर, यस वर्षको पुस मसान्त १६१३ टन तरुल भित्रिएकJले खपत बढेको देखिन्छ । चैत मसान्तसम्मको हिसाब गर्ने हो भने यस वर्ष तरुलको खपत निकै धेरै हुने अनुमान गर्न सकिन्छ । 

सर्लाही तथा सुनसरीबाट मुख्यरुपमा तरुल आउने गर्छ । कालीमाटी तरकारी बजारमा आउने झण्डै ५० प्रतिशत तरुल सर्लाहीबाट आउने गरेको छ । भारतबाट आउने तरुलको हिस्सा भने ६ प्रतिशत रहेको छ । यसका अलावा सुनसरी, मोरङ, धादिङ, नुवाकोट तथा मकवानपुरबाट पनि उपत्यकाका बजारमा तरुल आउने गर्छ ।
माघे सङ्क्रान्तिमा उपयोग हुने चाकु, घिउ तथा लड्डुहरुको बजारमा खपत बढेको देखिए पनि यस्ता चिजहरु स्थानीय उत्पादन भएका कारण यस्ता कुराको तथ्यांक खुद्रा व्यापार संघमा नरहने महासचिव अमुलकाजी तुलाधर बताउनुहुन्छ । 

क–कस्ले मनाउँछन माघे संक्रान्ति

माघे सङ्क्रान्ति प्रायः हिन्दुधर्मालम्बी सबै नेपालीले मनाउने भए पनि विशेषरुपमा थारु समुदायले मनाउने गर्छन् । थारु समुदायले यसलाई माघी तथा नयाँ वर्षको रुपमा मनाउँछन् । थारुहरुले खिचडी, ढिक्री, माछा तथा सुँगुरको मासु खाएर माघी मनाउने गर्छन् । थारु समुदायमा माघीको अघिल्लो दिन घर–घरमा सुँगुर काट्ने चलन छ । जसलाई ‘जिता मरना दिनु’ पनि भनिन्छ ।

माघीमा थारु समुदायले ‘सखियै हो, माघीक पिली गुरी जाँर’ भन्ने गीत गाएर रमाइलो गर्ने गर्छन जसलाई 'धमार' भनिन्छ । माघीमा मघौटा नाच नाच्ने चलन पनि छ यो समुदायमा ।
मगर समुदायले पनि तीन दिनसम्म माघे सङ्क्रान्ति मनाउने गर्छन् । त्यस अवसरमा धनुकाँड खेल्ने तथा चेलीबेटी तथा पितृ पुज्ने काम पनि हुन्छ । पहिलो दिन चेलीबेटीलाई निस्रो बाँड्ने चलन छ । पूजा गर्दा थालमा अलिकति चामल, तरुल, पुरी तथा मिठाइ, खानेकुरा, दक्षिणा हालेर दिने चलनलाई निस्रो भनिन्छ ।

दोस्रो दिन माघ खानलाई भनेर युवतीहरु वनभोज जस्तै गरी समूह, समूहमा बाँडिएर गोठतिर जान्छन् । साथै दाजुभाइले दिएको निस्रो अनि वनभोजका लागि पकाउने, खाने भाँडाकुँडा बोकेर जान्छन् र रमाइलो गरी मनाउँछन् । 

तेस्रो तथा अन्तिम दिन भने गाउँभरिका पुरुषहरु जम्मा भएर तारो हान्ने चलन छ । जसले तारो निशानामा लगाउँछ उसलाई बोकेर गाउँ घुमाउने गरिन्छ ।

तराईमा पनि माघे सङ्क्रान्ति भव्यरुपमा मनाइन्छ । तराईवासीले माघे सङ्क्रान्तिलाई नहान तथा नुहाउने पर्वकारुपमा पनि मनाउँछन् । त्यस दिन तिलले स्नान गर्ने, तिलको तेल घस्ने, पितृलाई तिलयुक्त जल दिनु, तिलको हवन गर्ने, तिल दान गर्ने गरिन्छ ।

काठमाण्डौ उपत्यका लगायतका नेवार समुदायहरुले भने माघे सङ्क्रान्तिलाई ‘घ्यूचाकु सँल्हु’ भन्ने गर्छन् । त्यस दिन उनीहरू चाकुमा तिल मिसाएर लड्डु बनाइ खाने र दान दिने गर्छन् । साथै बिहानै उठेर स्नान गरी घरको सम्पूर्ण भाग सरसफाई गर्ने, देवी देवताको पूजा गर्ने, चोखोनितो गरी विभिन्न परिकारहरू बनाउने गर्छन् ।