सर्जकहरुमा, प्रकाशकहरु निर्मोह र निःस्पृहता छ अझै हाम्रो समाजमा

फर्कलान् र ती दिनहरु -१९६

सर्जकहरुमा, प्रकाशकहरु निर्मोह र निःस्पृहता छ अझै हाम्रो समाजमा

हरिविनोद अधिकारी  |  दृष्टिकोण  |  माघ ६, २०८०

मेरा एकजना मित्र हुनुहुन्छ हरि गौतम । कल्पनाशील लेखक । प्रत्येक लेखक कल्पनाशील नै हुन्छ, प्रगतिशील हुन्छ र गतिशील हुन्छ । उहाँले अधिकारीकी छोरी बहिनी मुनासँग बिहे गरेकाले म कहिलेकाहीँ ज्वाइँ साहेब पनि भन्छु ।

मेरी ठूली बहिनीको नाम पनि मुना नै हो र मलाई ती बहिनी पनि आफ्नै बहिनी जस्तै लाग्छ । बहिनीको म प्रतिको व्यवहार पनि उनले आफ्नै दाजुलाई गर्ने जस्तै पाउँछु । तर अहिले प्रसङ्ग हो हरिजीको । उहाँ अत्यन्त सकारात्मक विचार राख्ने सर्जक हुनुहुन्छ । उहाँले ओरेन्टल भन्ने प्रकाशन गृह पनि सञ्चालन गर्नु भएको छ र त्यो प्रकाशनले विविधीकृत सृजनालाई स्थान दिएको पाइन्छ ।

खासगरी त्यो प्रकाशनको अभिभावकत्व लिनेहरूमा नेपाली समाजमा उत्तर आधुनिकतालाई समाजीकरण गर्ने मनीषी प्राध्यापक डाक्टर गोविन्दराज भट्टराई र नेपाली साहित्यका अर्का धरोहर लेखक डाक्टर तुलसी भट्टराई देखिनु भएको छ । अरु लेखकहरू, विद्वानहरू पनि उहाँका निकटतम सहयोगीहरु हुनुहुन्छ । मैले नजिकबाट चिनेको पनि गोविन्दराज सरसँगको सम्पर्कमा हो । 

हरिजीको एउटा मिसन पाउँछु सधैँ सबैलाई उत्प्रेरित गर्ने । लेख्न, छपाउन र छपाएको सामग्री सार्वजनिक गर्नका लागि । त्यसको कारण हुनुपर्छ, उहाँ आफैँ पनि सर्जक, अनि प्रकाशक पनि ।  प्रकाशकसँग एउटा सहजीकरण गर्ने उपाय हुने रहेछ, सर्जकलाई उत्प्रेरित गरेपछि उसका कृतिहरूको आवश्यक परे प्रकाशन गरेर सहयोग पनि गर्ने । 

मलाई उहाँले अति महङ्गो पुस्तकहरु पनि दिनुहुन्छ र पढ्नका लागि प्रेरणा दिनुहुन्छ जसमा उहाँका प्रेरणाले मैले पढेका धेरै पुस्तकहरु छन् जसमा गणेशमान सिंहका बारेमा गरेको अनुसन्धानले मलाई साँच्चै नै प्रभाव पारेको थियो नेपाली क्रान्ति र गणेशमान सिंह भन्ने अपूर्व ग्रन्थले ।

कारण हो, गणेशमानजीको नाम अरुसँग जोडेको पनि नरुचाउने मानिसहरुले केही लेखे होलान् तर तिनको खासै अर्थ राखेन किनभने गणेशमानजीको राजनीतिक उँचाइको फाइदा लिनेमा उनीहरु परेका थिए । तर हरिजीलाई न त गणेशमानजीको नाम बेचेर केही पाउनु थियो, न त त्यसबाट कुनै आर्थिक  उपार्जन नै लिनु थियो । बर्सौँ अनुसन्धान गर्नुभयो र गणेशमानजीका बारेमा एउटा अनुसन्धान कृति निकाल्नु भयो मौनताका साथ । मैले सोधेँ पनि कुनै गणेशमानजीका नाममा खुलेका आधिकारिक संस्थाहरुले पुस्तक खरिद गरे त हरिजी ? उहाँले सदाझैँ मुस्कानसहित हाँसेर  बिताउनु हुन्छ र ती पुस्तकहरु भविष्यमा चाहिने र नेपालको प्रजातान्त्रिक आन्दोलनका लागि आवश्यक अनुसन्धान गर्नेका लागि सामग्री बनाएर राखेकोले कुनै कसैको  आभारी हुन मन छैन भनेर भन्नुहुन्छ ।

हरिजी गुणग्राही हुनु हुँदो रहेछ र तारिणीप्रसाद कोइरालाको कालजयी अनुवान चित्रलेखालाई प्रकाशन गर्नुभयो । वास्तवमा मैले हिन्दीमा पनि पढेको थिएँ चित्रलेखा तर नेपाली अनुवादले त्यसको खास मर्मलाई पाठकसामु प्रस्तुत गर्न सक्छ र मौर्यगुप्तहरुको समयमा दर्शनको अवस्था कस्तो थियो भन्ने भगवती चरण वर्माको कलमबाट संसारलाई जानकारी गराइएको छ । 

यस्तै नेपालको प्रजातन्त्रको लागि रेडियोको योगदानका बारेमा होस् या प्रसिद्ध राजनीतिक चिन्तक कृष्ण खनालजीको (जसले बीपीसँग पनि आफ्ना कुरा राख्ने हिम्मत गर्नुहुन्थ्यो) विश्वेश्वर प्रसाद कोइराला,चेतना, चिन्तन र राजनीति । यो पनि अनुसन्धानात्मक कृति नै हो । यतिबेर न त हरिजीलाई बीपीको नामबाट केही पाउनु छ, न त प्रसिद्ध चिन्तक खनाल सरलाई केही पाउनु छ तर खनाल  सर र हरिजीले बीपीका बारेमा चिन्तन नै गर्न छोडेको तर बीपीको फोटोलाई समाजमा देखाएर मत बटुल्ने काम गरिरहेका बेलामा बीपीका बारेमा चिन्तन गरिएको छ । 

हरिजी गुणग्राही हुनु हुँदो रहेछ र तारिणीप्रसाद कोइरालाको कालजयी अनुवान चित्रलेखालाई प्रकाशन गर्नुभयो । वास्तवमा मैले हिन्दीमा पनि पढेको थिएँ चित्रलेखा तर नेपाली अनुवादले त्यसको खास मर्मलाई पाठकसामु प्रस्तुत गर्न सक्छ र मौर्यगुप्तहरुको समयमा दर्शनको अवस्था कस्तो थियो भन्ने भगवती चरण वर्माको कलमबाट संसारलाई जानकारी गराइएको छ । 

त्यसो त हरिजीले मलाई गुलरको फूल भन्ने माधव प्याकुर्‍यालजीको सृजना(उपन्यास) दिनु भएको थियो धेरै पहिले नै अर्थात् प्रकाशित हुने बित्तिकै सायद, तर मैले अलिपछि पढेँ र मलाई कताकता भारतका समाज पर्गेल्ने अमर सर्जक प्रेमचन्दको झझल्को पाइरहेँ पढुन्जेल त्यो पनि नेपाली सीमान्त क्षेत्रका सीमान्त बस्तीका बासिन्दाहरुको । 

त्यसले मलाई के प्रभाव पारेको छ भने साँच्चै हामी गुलरको फूल खोजिरहेका छौँ गुलरको फल खाँदा पनि । त्यो कहाँ  फुल्यो होला या फुलेन तर फल त लाग्यो नै । आजको हाम्रो अवस्था पनि त्यस्तै भएको छ , कहिल्यै सोचेको जस्तो दिन नआउने नै हो त ? भन्छन् नि, बर्मा गयो, कर्म सँगै, नेपाल गयो कपाल(खप्पर)सँगै । जीवनमा सुख के हो, दुःख के हो , साँच्चै गुलरको फूल नै हो त ? कहिले फुल्छ थाहा चैँ नहुने तर फल भने खान पाइने, अर्थात् भोग्नै पर्ने अनेक तरिकाले । मिहिन तरिकाले बुनिएको रहेछ कथानक वस्तु र समाजको परिबन्द । छैन भने छ,  छ भने कहाँ छ ? तर छ वास्तविकता । 

हामीलाई अर्थात् म समेतलाई पठन संस्कृतिको केही मेलो मेरा गुरु महापण्डित साम्बभक्त सुवेदी(१९५८-२०३८)ले दिनु भएको हो । 

सायद मेरो यो संस्मरण पहिले पनि कतै आएको हुनुपर्छ । अहिले यी मेरा संस्मरण फेरि सुनाउन मन लाग्यो आफैँलाई । 

१. बालापनको कुरा हो । मात्र ९ या १०वर्षको बेला । सायद कक्षा ४मा हुनुपर्छ या कक्षा ५मा हुनुपर्छ । गाउँमा चतुर्मासामा पुराण लगाउने चलन थियो । पुराण भन्ने पण्डित हुनुहुन्थ्यो साम्वभक्त सुवेदी मुरारि । त्यो बेलाको सबैभन्दा चर्चित युवा नेता तथा सबैको प्यारो मान्छे नवराज सुवेदी । गुरु साम्बभक्त सुवेदीको दोस्रो छोरो जसलाई लोकले माहिलो मान्यो तर उहाँ आफ्नी माता गोमाका तर्फबाट पहिलो भए पनि माहिलो छोरो । गोमाको छोरो भएकाले होला नवराज नाम राखेको किनभने स्वस्थानीमा नवराजको चर्चा आउँछ र हात्तीले माला लगाएर राजा बनाएको । अर्थात् उहाँको मावली ग्वाल्टार हो र सानामा नै उहाँकी माता स्वर्गे हुनु भएकाले मावलीमा नै बसेर हुर्किनु भएको भन्ने सुनिएको  थियो । अत्यन्त ठूलो विद्वान पण्डित साम्बभक्त गुरु ग्वाल्टारमा पुराण भन्न आउनु भएको थियो र उहाँले हामी उत्तर बाल्या वस्थाका बालकहरुलाई पढ्ने बानीको विकास गर्नु भएको थियो । उहाँ सबैसँग मिल्ने स्वभावको । हामी केटाकेटीहरु भने उहाँसँग झ्याम्मिन्थ्यौँ किनभने उहाँ कुनै लोभ नगरी पुराणमा चढाएको  नैवेद्य वा प्रसाद हातमा जे आयो त्यही दिनु हुन्थ्यो । अझ केटाकेटीहरूलाई सिंगै फलफूल दिनुहुन्थ्यो जुन अरु पण्डितहरूले गर्दैनथे । 

२. उहाँको ससुराली ग्वाल्टारमा भए पनि सकेसम्म ससुरालीमा बस्नु नपरोस् भन्ने गुरुको चाहना रहन्थ्यो तर मुखले भने त्यसो भनेर कसैलाई चिढाउने विचारमा गुरु हुनुहुन्थ्यो भन्ने कुरा पछि उहाँसँगको लामो सङ्गतले थाहा पाइयो । नवराज काका हामी बालकहरुको पनि रोलमोडेल हुनुहुन्थ्यो धेरै पढेको, राम्रो र सबैसँग हाँसेर कुरा गर्ने । हामीलाई तँ कसको छोरो भनेर सोध्दै चकलेट पनि दिने , माया पनि गर्ने । सबैको प्यारो । राम्रा लुगा लगाएको राम्रो मान्छे अनि पढेको विद्वान । त्यो बेलामा स्वस्थानीको नवराज जस्तै मान्थे सबैले । सबै गृहिणीहरु पनि नवराजजस्तो छोरो होस् भनेर पढ्नका लागि उत्प्रेरित गर्थे जस्तो कि मेरी आमाको चाहना पनि त्यस्तै  थियो । धेरै पढ्नू, नवराज बाबुजस्तो हुनु । उहाँले मेरो पिताजीलाई साह्रै सम्मान गर्नुहुन्थ्यो किनभने पिताजी पनि धेरै माया गर्नुहुन्थ्यो । नाताले सानीमाको छोरो भाइ भए पनि गुरु पुत्रका रुपमा माया गर्नुहुन्थ्यो । 

३. सामान्य अक्षर चिनेकालाई समेत कथा , उपन्यास पढ्नका लागि उहाँले ( गुरुले ) प्रेरणा दिनु हुन्थ्यो र प्रत्येक पढन्तेलाई कल्पनाशील बनाउने खुराक उहाँ आफैँ दिनुहुन्थ्यो आफूसँग भएका पुस्तकहरु पढ्न दिएर । पढ्न दिने, पढेको नपढेको अनुगमन गर्ने अनि के कुरा कसरी बुझेको हो , भन्न लगाउने । अनि लेख्नका लागि समेत उत्प्रेरित गर्ने । आफैँ कविता लेखेर दिने । उहाँको संस्कृत र नेपालीमा बराबर हात चल्थ्यो । अझ संस्कृतमा सिद्धहस्त भन्थे अरु विद्वानहरू पछि पनि । 

४. सायद चतुरमासामा भनिने पुराणमा त्यो  वर्ष महाभारतको शान्ति पर्व  थियो कि जस्तो लाग्छ किनभने महाभारतको पाठ र अर्थ दुई तीन वर्षदेखि चलेको थियो क्या रे हाम्रो गाउँमा । कहिले ज्वालाप्रसाद कोइराला घ्याम्पाका गुरुले पुराण भन्नुहुन्थ्यो । कहिले यज्ञेश्वर कोइरालाले त कहिले कुन पण्डितले । मलाई अहिले पनि याद आएको ज्वाला पण्डित बा, गुरु र यज्ञेश्वर पण्डित बा । कान्छाबा । कुलचन्द्र काका, यज्ञेश्वर काका र दिव्यदेव ठूलाबाको पुस्ताचाहिँ सायद पाँचौँ पुस्ता हो क्या रे पण्डित कोइराला परिवारको । 

५.गुरुको बानी अचम्भको थियो, पाठ गर्दा गर्दै नै थाहा हुन्थ्यो कथा कस्तो छ भन्ने । गुरु हाँस्नु हुन्थ्यो, रुनु हुन्थ्यो, गम्भीर हुनुहुन्थ्यो र वरिपरि हेरेर लजाउनु हुन्थ्यो । त्यसले कथाको अवस्थालाई जानकारी दिएको मान्नुपर्ने हुन्थ्यो । छिटो छिटो पढ्ने भएकाले पाना त फटाफट पल्टिएको देखिन्थ्यो । साह्रै ठूलो विद्वान भनेर भन्थे तर कुनै घमण्ड थिएन, कुनै तामस थिएन र सधैँ हाँसिरहने , रमाइलो कुरा गरिरहनु पर्ने । जे कुराको पनि उत्तर उहाँँसँग थियो भन्ने बुझिन्थ्यो । हाम्रो भेगका नाम चलेका विद्वानहरु पण्डित दिव्यदेव कोइराला,पण्डित कुलचन्द्र कोइराला, पण्डित यज्ञेश्वर कोइराला सबै नै उहाँका शिष्यहरु हुनुहुन्थ्यो । ती तीन भाइ नै साहिँला पण्डित हजुर्बाका छोराहरु हुनुहुन्थ्यो । हाम्रा बाहरु पनि उहाँलाई गुरु नै भन्नुहुन्थ्यो । अरु सबैले उहाँलाई गुरु नै भनेर सम्बोधन गर्थे र हामी साना साना उत्तर बाल्यावस्थाका बालकहरु पनि उहाँलाई गुरु, गुरुबा , गुरुबाजे भनेर आदरसाथ भन्थ्यौँ ।

६. यहाँ उहाँको बानी, परिवार, विद्वत्ता र क्षमताको वारेमा कुनै व्याख्या गर्न चाहेको होइन । उहाँबाट परेको  प्रभावले ममा देखिएको परिवर्तनलाई अहिले आएर म समीक्षा गर्नमात्र चाहेको हुँ । उहाँलाई आशुतोष भगवानसँग तुलना गर्नु मनासिब हुन्छ । नाम पनि साम्बभक्त । सबैलाई माया गर्ने । लोभ भनेको पटक्कै केही नभएको । एकप्रकारले जोगी जस्तै । तर जब रिसाउनु हुन्थ्यो, साँच्चै भगवान शिवजी जस्तै हुनुहुन्थ्यो । तर तत्काल रीस साम्य हुन्थ्यो । उहाँ साँच्चै महादेवजस्तै वर दिन तयार हुुनु हुन्थ्यो । 

७.मलाई उहाँले कक्षा ४मा पढ्दा नै रुपमती उपन्यास पढाउनु भयो । हिन्दी पढ्न सिकाउनु भयो । हेन्री राइडर ह्यागर्डको सी उपन्यासको नेपाली अनुवाद पढाउनु भयो । त्यस्तो धेरै पुस्तक पढाउनु भयो जुन उहाँका पुस्तकालयमा थिए । त्यसले के बानी बसायो भने एकान्तमा बसेर पढ्ने र कल्पनाशील बनाउने आफैँमा । हाम्रो गाउँमा त्यसबेला शौचालय भनेको खुला ठाउँमा हुन्थ्यो यसो बाँसघारी या सेउलाले छेक्ने गरी बस्ने । पानी लिएर जानु पथ्र्यो । ब्रतबन्ध गरेकाले शौच गर्दा जनै कानमा बेर्नु पथ्र्यो । वास्तवमा कल्पनाशील समय भनेको त्यही बेला हुन्थ्यो । राम्रोसँग लेख्न जान्ने बेला अलि भएको थिएन तर गुरुको सङ्गतले पढेका कथा, कविता र उपन्यासले एउटा कल्पना यस्तो गर्ने बानी बस्यो कि जेमा पनि एउटा नायक हुने भयो, नायिका हुने भई र आफूलाई केन्द्रमा राखेर कथा  तयार हुन्थ्यो एकछिनमा अनि एकछिनमा नै विर्सने पनि । एकछिन अघि केके कल्पना गरिएको थियो, त्यो बडो मुस्किलले मात्र केही क्षणपछि सम्झने गरिन्थ्यो । अहिले पनि बाटामा हिँड्दा या यातायातका साधनमा बस्दा जुन कल्पना गरिएको हुन्छ, कथाको , कविताको , ती एकछिनमा कता पर्छन् कता । झन त्यो बेलामा त कुनै स्थिर तर्क पनि थिएन र तर्कका लागि कुनै आधार पनि थिएन तर पनि गुरुले दिएका पुस्तक र मानवीय स्वभावमा देखिने विभिन्न कल्पनाले भने बाटो देखाउन थालेका थिए । त्यस्तो बेलामा एक्लै बस्न मन पराइने रहेछ किनभने कल्पनामा कतैबाट भाँजो नपरोस् भनेर ।

८.  महाभारतको कथा सायद विहानको पुराणमा सुनिन्थ्यो झालाक झुलुक । कहिले त पैँलेटी मारेर सुनिन्थ्यो कथा । कथाका पात्र हुन्थे युधिष्ठिर, भीम, अर्जुन, दुर्योधन, शकुनि, धृतराष्ट्र, गान्धारी आदि । पात्र वीर र सहनशील हुन्थे कुनै । कुनै दम्भी र घमण्डी हुन्थे । गुरुको भनाइले नै कुन पात्रलाई सम्मान गर्नुपर्ने या तिरस्कार गर्नुपर्ने थाहा हुन्थ्यो । व्यास, कृष्ण र विदुरप्रति भने गुरुको सम्मान आवाजले नै देखाउँथ्यो । उदाहरणले यसरी कथाको अर्थ लगाउनु हुन्थ्यो कि कथा सुन्नेहरूमा कुनै हल्ला खल्ला हुँदैनथ्यो । अनि मलाई पनि कथा, लामो कथा, कहिल्यै समाप्त नहुने कथाको थालनी गर्न मन लाग्थ्यो ।