ऋतु आशिक | साहित्य | चैत्र २४, २०८०
महान चिनियाँ जनताका
ती श्रमहरू एकीकृत गर्दै
राजा वीरेन्द्रले
संसद भवन बनाउँदै थिए
नेपाल भाषा
नेपाली राष्ट्रियता
विभिन्न भेष भूषामा समेटिएका
नेपालीहरुलाई एकीकृत गर्दै थिए
छिमेकीको होस्टे हैसेमा
सांसद भवन
चिनियाँ जनताको उपहार
मेरो देशको राजधानीमा ठिङ्ग उभिएको छ ।
अमेरिकी साम्राज्यवाद
सधैँ–सधैँ देशमा सिमानाहरू भत्काउँदै
अशान्त र मानव जीवनको सङ्घार गर्दै
कर त्रासको आतङ्कको भुमरी
संसारका कुना–कुना थर्कमान बनाउँदै
घृणा, क्लेश, धम्कीका डरको उत्पीडनबाट
अमेरिका आफूलाई
आतङ्कको शरताज बोकेर हिँडिरहेको छ ।
यसपल्ट नेपाल पस्दा त्यसो गर्दै गरेन
कतै कत्लेआम
कतै महिलाको वलत्कार
कतै आगजनीको संहार गर्दै गरेको
यी आँखाले देखेन
कानले पटक्कै सुनेर
न अखबारमा कतै पढ्न पाइयो ।
अमेरिकी साम्राज्यवाद
जब–जब नेपाल पस्यो
च्याप्प माओवादीका प्रचण्ड समायो
च्याप्प काँग्रेसका शेरबहादुर समायो
च्याप्प एमालेका ओली समायो
च्याप्प भारतीय गुमस्ता फेटा गुथेकालाई समायो
च्याप्प नक्कली राप्रपा समायो
ती सबैका मनचिन्ते चाहनाहरु
तथास्तुका व्यवहार देखायो
एम.सी.सी. को लालीपप पार्टी पिच्छे बाड्यो
सांसदहरु मुसुमुसु मौनताका लालीपपमा रमाउँदै
संसद भवन नै थर्काउने गरी
नेपाली जनता माथि पीडाको समुद्र खन्याउँदै
एम.सी.सी. पास भएको घोषणा गरियो ।
मुस्ताङमा रहेका युरेनियम
नेपाल र नेपालीको अथाहता भण्डार हो ।
हाम्रो वैभवता
हाम्रो मुलुकको विकासको अकल्पनीय श्रोत
पार्टीका झोलेहरुले
कनिका छर्काइको देशद्रोही खाएर
देशप्रति घात–प्रतिघात गरिरहेका छन् ।
देशभक्त नेपाली जनता हो !
पार्टीका भूसतिघ्रेहरुलाई
जसले जहाँ भेट्छ समाउ
एम.सी.सी. प्रदत्त देशद्रोहीहरुलाई
नाङ्गेझार पारौ
आउ यी देशद्रोहीहरुलाई कारवाही गरौ ।
आउ देशभरि नै घेरौ
मुटु दरो पारेर भनौ
अमेरिकी साम्राज्यवाद नेपाल छोड !
मेरो देशको अथाह सम्पत्ति
मेरो देश अक्कसिने ऐश्वर्य हो ।
यसबेला
अमेरिकी साम्राज्यवाद
देशको गर्व स्थल
काठमाडौँ शिवपुरी माध्यमिक विद्यालयको
प्राङ्गण क्षेत्रमा
अमेरिकी सेनाले परेड खेलेको छ ।
सार्वभौम राष्ट्र भूमिमा
तिम्रो यो घृणित हर्कत
तिम्रो यो हेपाहा प्रवृत्ति
मेरो देशप्रति धावा बोलेका छौ ।
प्रचण्ड सरकार ! तिम्रो यो दासता
देशभक्त नेपालीलाई स्वीकार छैन ।
अमेरिकी साम्राज्यवाद
सैनिक ड्रेसमा
स्कुल–स्कुल छिरेको छ ।
नेपाल टेलिभिजन, रेडिया नेपाल
नेपाली पत्रकारहरु मौनता साधिरहेका छन् ।
आफूमा स्वार्थ रोपेर
नेपाल पत्रकार महासंघ किन बोल्दैन
देशप्रति घात प्रतिघातमा तिम्रो मौनता
म तिमीलाई घृणा गर्छु ।
मेरो देशको शान
मेरो देशको अस्मिता रक्षार्थ
हाम्रा कलमहरू चल्नुपर्छ
हो देशप्रति घात प्रतिघातमा
हो ! हाम्रा कलमहरू चल्नुपर्छ ।
आउ देशभक्त पत्रकारहरु हो ।
अमेरिकी साम्राज्यवादको विरोध गरौँ ।
आउ एम.सी.सी.को विरोधमा
हाम्रा स्वतन्त्र देश भक्तिका कलमजीवीहरु
कलममा मसी भरौ
देशको स्वाभिमान उठाऔँ
हामी हाम्रा कलमहरूले देशलाई माया गरौँ ।
२०८० चैत्र २१ बुधबार
तरहरा, इटहरी