ज्ञानमित्र | जीवनदर्शन | चैत १३, २०७५
भारतीय लेखक खुशवन्त सिंहले लेखेको एउटा पंक्ति सम्झिन्छु, ‘यो संसारमा वेश्यावृत्तिभन्दा गएगुज्रेको तीन वटा पेशा छन्, सौभाग्यले भनौं वा दुर्भाग्यले, मैले ती सबै पेशा गरेको छु, राजनीति, वकालत र पत्रकारिता ।’
यस दृष्टिकोणले म र खुशवन्तबीच समानता छ । किनकि मैले पनि तीन पेशा गरेको छु । दुई पेशा उहाँसँग मिल्छन् । तर, वकालतसँग भने मेरो सम्बन्ध छैन । हामीबीच एउटा पेशा मात्रै फरक छ । खुशवन्तले मैले गरेको त्यो पेशामा नओर्लेकाले उहाँले तीनवटा पेशाको मात्र उल्लेख गर्नुभएको हो जस्तो लाग्छ, नत्र यस्ता चार पेशा छन् । चौथो ‘यस्तो कोटिको’ पेशा हो, जुन मैले पत्रकारिता छाडेपछि अँगाले । यसलाई धर्म प्रचार, गुरुडम, आश्रम संस्कृति, मोटिभेसनल स्पिकरलगायत जे भन्दा नि हुन्छ ।
खुशवन्त वर्णित पेशाका बारेमा धेरथोर सबैलाई थाहा नै छ, त्यसबारे लेख्नु मसी, कागज र समयको बर्बादी हुन्छ । आफूले अपनाएको पेशा, जुन कि मानिसको श्रद्धा र भावनासँग अन्तरनिहित छ, त्यसबारे लेख्ने धृष्टता र दुस्साहस गर्दैछु ।
परराष्ट्र मन्त्रालयमा कार्यरत एक मित्रले सुनाउनुभएको प्रकरण– एक जना धार्मिक व्यक्तिले राहदानीको निवेदनमा आफ्नो नामका अगाडि एच.एच. (हिज होलिनेस) लेख्नुभयो, फाँटवालाले यो लेख्न नमानेपछि (चिनजानका आधारमा) उहाँले ती मित्रलाई भेटेर कार्य सम्पन्न गराउन दबाब दिनुभयो । ती मित्रले चाहेर पनि गर्न सक्ने काम थिएन यो । उहाँको असमर्थतामा मारवाडी समुदायका ती व्यक्तिले अनेकौ तर्क गर्नुभयो, ‘हिज होलिनेस’ दलाई लामाको उद्धरण दिनुभयो । मित्रले यति भनेर आफ्नो ज्यान जोगाउनुभयो– दलाई लामालाई विश्वका अनेकन राष्ट्रले यो उपाधि प्रदान गरेका छन् । तपाईंलाई कसले प्रदान गरेको हो यो उपाधि ? यसको विवरण संलग्न गरेर ल्याउनुस्, त्यसपछि हेरौला ।
धार्मिक क्षेत्रमा यस्ता उपाधि आफूखुसी ग्रहण गर्ने गरिन्छ । ‘हिज होलिनेस’को उपाधि चाहने ती व्यक्ति काठमाडौंमा प्रवचन गर्छन् ।
आफ्नो ७–८ वर्षे घुमन्ते जीवनमा मैले धेरै साधु, सन्यासी, गुरु, महाराजजी, बाबा माताको संगत गरेको छु । नेपालवासी भएकाले श्री ३ र श्री ५ बारे त मलाई थाहा थियो । तर, यस क्षेत्रमा त श्री १०८, श्री १००८ सम्म हुँदा रहेछन् । नाम चलेका गुरुहरू कतिसम्म हास्यास्पद हुन्छन्, त्यसको एउटा नमुना हेरौं– भर्खरै सम्पन्न भएको प्रयागराज कुम्भमा एउटा गुरुको ‘होडिङ बोर्ड’मा लेखेको थियो, ‘अनन्त श्री विभूषित श्री १००८ स्वामी...।’ अब अनन्त श्री लेखेपछि श्री १००८ लेख्नुको के औचित्य ?
जति ठगी, झुठ, प्रपञ्च, आडम्बर, धूर्तता, धार्मिक क्षेत्रमा छ, अन्यत्र कतै भेटिन्न । यहाँ सबै क्षेत्रका मानिस पुगेका हुन्छन्, के राजनीतिज्ञ, के वकील, के पत्रकार, के व्यापारी, के उद्यमी, के भूमिपति, के खेलाडी, के अभिनेता सबै नतमस्तक हुन्छन् धार्मिक गुरुका चरणमा । सायद, यसैले होला यस क्षेत्रका व्यक्ति सबै खाले धूर्ततामा पारगंत हुन्छन् ।
यस पेशामा ‘करियर’ बनाउनु जस्तो सरल, सहज र सुगम वातावरण अन्यत्र सायदै पाइएला । दुई–चार वर्ष कपडा रंगाएर बेपत्ता हुनुस्, डर नमान्नुस्, महान पवित्र भूमि भारतमा साधु तथा सन्यासीलाई केहीको अभाव हुँदैन । संगतले दुई–चार कुरा सिकाइ नै दिन्छ । बोल्ने शैली, प्रस्तुत हुने भावभंगिमा, प्रश्न सोध्ने तरिका र आशीर्वाद दिने ढंग सबै कुरा संगतले सिकाउँछ । यसमा पनि यदि तपाई पढेलेखेको हुनुहुन्छ भने ‘कर्पोरेट गुरुहरू’का आश्रम पुग्नुस्, प्रत्येक ठाउँबाट दुई–चार वटा विधि संग्रह गर्नुस्, (त्यहाँ सबै रेडिमेड पाइन्छन्) सबै संकलनबाट तोडमरोड गरी आफ्ना दुई–चार वटा नयाँ विधि बनाउनुस् । अब तपाईं ध्यान सिकाउन, ‘माइण्ड म्यानेजमेन्ट’ गर्न दक्ष भइसक्नु भयो । तपाईँ आफूलाई भने ध्यानका बारे केही अनुभूति हुन्न । अब ‘सेन्टर’ खोली आफ्नो कार्यलाई विस्तार गर्दै लैजानुस् । एउटा कुरा भने नबिर्सनु होला आफ्नो नामका अगाडि उपाधि राख्ने, जस्तैः युगपुरुष, शान्ति अभियानकर्ता ब्रह्मवेत्ता, ओशो, धर्मपरायण, साँई, कुण्डलिनीवेत्ता, शक्तिपाताचार्य आदि ।
एकपटक पाइलट बाबाले हामी चार–पाँच जना नवसन्यासीसँग भन्नुभएको थियो, ‘बेटा यो दस महाविद्या यज्ञ, यो भूमिगत समाधि मात्र मैले प्रचारका लागि गर्छु, तिमीहरूले यसबाट केही
पाउँदैनौ । यो त सामान्यजनलाई आकर्षित गरी आफूसम्म ल्याउने कला हो । तिमीहरू आफ्नो साधनामै समर्पित होऊ, यो यज्ञ, समाधि तिमीहरूका लागि होइन ।’
यसपछि पनि उहाँले गरेका अनेकौं यज्ञमा सम्मिलित त भएँ, तर एउटा दर्शकका भाँति ।’ वास्तवमा अहिले गरिने सारा यज्ञ बाबाले भनेझैं आफ्नो प्रचारका लागि मात्र गरिन्छन्, योभन्दा बढी केही सार हुन्न यस्ता यज्ञ र धार्मिक अनुष्ठानका कार्यमा ।
कतिपय बाबाले यज्ञ मात्रै गराउँछन् । किनकि यसबाट मोटो आम्दानी हुन्छ । करौडौंको बजेट हुन्छ यस्ता यज्ञमा । जसका कारण आयोजक सबै लखपति बन्ने गर्छन् २०–३० दिनको मेहेनतमा ।
जति ठगी, झुठ, प्रपञ्च, आडम्बर, धूर्तता, धार्मिक क्षेत्रमा छ, अन्यत्र कतै भेटिन्न । यहाँ सबै क्षेत्रका मानिस पुगेका हुन्छन्, के राजनीतिज्ञ, के वकील, के पत्रकार, के व्यापारी, के उद्यमी, के भूमिपति, के खेलाडी, के अभिनेता सबै नतमस्तक हुन्छन् धार्मिक गुरुका चरणमा । सायद, यसैले होला यस क्षेत्रका व्यक्ति सबै खाले धूर्ततामा पारगंत हुन्छन् ।
भनिन्छ– वकालत पेशामा जति झुटो अन्यत्र बोल्नु पर्दैन । तर, पंक्तिकार यस भनाइसँग सहमत छ्रैन । वकिलले कारणले झुटो बोल्छ । अथवा आफ्नो स्वार्थका लागि झुटो बोल्छ । तर, धार्मिक क्षेत्रमा कारणले मात्र सत्य बोलिन्छ, अन्यथा यस क्षेत्रका मानिसको दैनिकी नै झुटोमय भइरहेको हुन्छ ।
नवी मुम्बईको एउटा आश्रममा थिए । त्यहाँका गुरु मेरा मित्र थिए । म उनकै निमन्त्रणामा दिउँसो २ बजे भेट्न गएको थिएँ । हामी कुरा गरिरहेका थियौं । उनको मोबाइल बज्यो । उनले कुरा गर्न थाले, ‘हा बेटा, म तिम्रो लागि जप गरिरहेको थिएँ, बिहानदेखि जपमा बसेको छु, बीस लाख जपपछि अनुष्ठान गर्नुपर्छ ।’
उताबाट बोलेको त सुनिएन, यताबाट गुरुजीले अनुष्ठानका लागि तीन लाख रूपैयाँ पठाइदेऊ भन्नुभयो ।
फोन समाप्तिपछि मसँग उहाँले भन्नुभयो, ‘के गर्नु गुरुभाई, यति नगरे आश्रम चल्दैन ।’ मनमा त आयो, ‘यसरी आश्रम चलाउनुभन्दा त पेट्रोल छर्केर आगो लगाइदिनुस् भनी दिउँ ।’ तर, शिष्टाचारवश मौन रहे ।
गजब त के भने अहिले ती गुरु महोदय नेपालमा बसेर आफ्नो ‘व्यवसाय’ सञ्चालन गरिरहेका छन् । मलाई कैयौं पटक निमन्त्रण पनि पठाएका छन् । तर, उनको पुनः दर्शन गर्ने सौभाग्य अहिलेसम्म जुरेको छैन ।
अहिलेका तमाम गुरु वेबसाइट पनि प्रयोेग गर्छन् । वेबसाइटका पानामा मनगढन्ते कथा लेखिएका हुन्छन् । अनेकौं नेता– अभिनेतासँगका फोटोले भरिएका हुन्छन् पाना । दिव्य उपदेश लेखिएका हुन्छन् र आफ्ना भजनमण्डलीबाट आफ्नो जयगान गराइएको हुन्छ । गुरुलाई भने अंग्रेजी बोल्नसम्म आउँदैन । तर, हावर्डमा शिक्षा पाएको लेखिएको हुन्छ । र, विश्वका तमाम मुलुक भ्रमण गरेको व्यहोरा समावेश गरिएको हुन्छ । कतिपय गुरुले किताब पनि लेखेका हुन्छन् ती कितावमा कपोलकल्पना बाहेक केही हुन्न । अहिले त योगा आसन सिकाउने, कथा गर्ने पनि गुरु बनी टोपलेका छन् । यो सबै हेर्दा त नेपाली भाषाको एउटा शब्द सम्झना आउँछ– गुरु । नेपालीमा ड्राइभरलाई ‘गुरु’ भनिन्छ । विडम्बना भनौ, ड्राइभर पेशामा ठगेर तथा ढाँटेर हिँड्नु पेशागत अधिकारसरह नै हो । मभन्दा धेरै पहिला धार्मिक गुरुको ठग्ने र ढाँट्ने प्रवृत्ति पहिचान गरी नेपाली भाषाशास्त्रीले ड्राइभरमा देखिएको समान प्रवृत्तिले गर्दा नेपालीमा ड्राइभरलाई ‘गुरु’ भनेका हुन् कि !
यायावरी जीवनमा नाम चलेका अनेकौं आश्रम पुगेको छु, अधिकांशले सर्वसाधारणका जग्गा कब्जा गरेको देखेको छु । आश्रम बनाउने नाममा एक रोपनी जग्गा किनेर वरिपरिका जग्गा अतिक्रमण गरेर बनाइएका हुन्छन् भव्य आश्रम । यस्ता जग्गा कब्जा गर्नेमा अनेकौं स्वनामधन्य गुरुको नाम अग्रपंक्तिमा आउँछ । अहिले त नेपालमा पनि यो चलन देखिएको छ । प्रायः आश्रममा हात–हतियार रहेको पाइन्छ । र, पाइन्छन् यस्ता आश्रममा विभिन्न राज्यबाट अपराधिक गतिविधिमा संलग्न भई लुकेका अपराधीहरू । ब्रह्मज्ञानी गुरु बन्दुकधारीको पहरामा हिँडडुल गर्छन् । भन्नलाई यिनीहरू आफ्ना भक्तलाई आफूसँग ‘ब्रह्मास्त्र’को ज्ञान रहेको भन्छन् ।
अन्त्यमाः समग्रमा धार्मिक क्षेत्र अहिले ‘साइक्लोजिकल ब्ल्याकमेलिङ’ गर्ने÷गराउनेका रूपमा विकसित भएको छ । मेरो व्यक्तिगत विचारमा मान्छेलाई ‘हत्या’ गर्नुभन्दा पनि ‘गुमराह’ गर्नु जघन्य अपराध हो । वर्तमानमा धार्मिक क्षेत्रमा ९५ प्रतिशतभन्दा बढी स्वनाम धन्य गुरुहरू खुशवन्तले भनेझैं गएगुर्जेकै कोटिमा पर्छन् । अब त नेपालको स्थिति पनि भारतजस्तै भइसकेको छ । २१ औं शताब्दीमा पैसा र पेशा महत्वपूर्ण बनेको छ । त्यसैले पैसा कमाउनका लागि योभन्दा सजिलो पेशा अरु हुन सक्दैन । कसैको नाम लेखेर उसको कोपभाजन म किन बनुँ । तपाईं आफै आँखा खोलेर यसो चारैतिर हेर्नुस् । तपाईंकै टोल छिमेकका एक–दुई जना यस्ता गुरु देख्नुहुनेछ ।
याे पनि