लोकसंवाद संवाददाता | समाज | भदौ २४, २०७७
तनहुँ । तनहुँको व्यासनगरपालिका कार्यालयले वडा नं ३ स्थित तल्लो मादी नदी किनारमा विगत वर्षदेखि फोहोर व्यवस्थापन गर्दै आएको स्थान नदीले कटान गरेपछि वैकल्पिक स्थलको रूपमा माथिल्लो भतेरीमा व्यवस्थापन गर्न लागेको छ ।
वडा नं १० र ४ पर्ने माथिल्लो भतेरीमा फोहोर विसर्जन गरी कम्तीमा मङ्सिर महिनासम्मका लागि बजार क्षेत्रको फोहोर सङ्कलन गरी अस्थायीरूपमा विसर्जन गर्न लागिएको नगरपालिका कार्यालयले जनाएको छ ।
गत असार अन्तिम र साउन पहिलो साता परेको अविरल वर्षापछि मादी नदीमा आएको बाढीले नगरपालिकाले फोहोर व्यवस्थापन गर्दै आएको स्थल बगाइदिएपछि फोहोर व्यवस्थापनमा कठिनाइ हुँदै आएको छ । वडा नं १० स्थित रानीपानी सामुदायिक वन क्षेत्रमा नगरपालिकाले दीर्घकालीनरूपमा फोहोर विसर्जनस्थल निर्माण गर्न लागेको छ ।
वातावरणीय प्रभाव अनुसन्धान रिपोर्ट आउन बाँकी रहेकोले तत्कालका लागि माथिल्लो भतेरीमा फोहोर व्यवस्थापन गर्न लागिएको वातावरणीय अध्ययन सहयोग तथा परामर्श समितिका संयोजक एवं वडा नं ४ का वडाध्यक्ष विश्व न्यौपानेले जानकारी दिनुभयो ।
उक्त क्षेत्रमा करिब सात रोपनी जग्गा पर्याप्त मात्रामा रहेकोले फोहोर विसर्जनको सम्भावना बढेकाले प्रक्रिया अघि बढिरहेको समितिका संयोजक न्यौपानेले बताउनुभयो ।
वडाध्यक्ष न्यौपानेको संयोजकत्वमा नगरपालिकाका वरिष्ठ आलेप नोडल अधिकृत कुमारकञ्चन जिसी सदस्य सचिव, वडा नं १० का वडाध्यक्ष तुलसीराम सापकोटा सदस्य, शान्तिनगर, डिहीकुना, बिरालेटार, वेदव्यास टोल विकास संस्थाका अध्यक्ष तथा रानीपानी र विर्ता सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष सदस्य रहने गरी वातावरणीय अध्ययन सहयोग तथा परामर्श समिति गठन भइसकेको छ ।
दीर्घकालीनरूपमा फोहोर व्यवस्थापन गर्न लागिएको लागि वडा नं १० र ४ मा पर्ने बाटो र नाला निर्माण भइरहेको छ । गत आवमा ५० लाख रुपैयाँ र यस आवमा ७० लाख रुपैयाँ गरी एक करोड २० लाख रुपैयाँ विनियोजन गरिसकिएको छ ।
दुवै वडालाई बराबरी असर पर्ने हुँदा सोहीअनुरूप विकास निर्माणका कामहरु भइरहेका छन् । संयोजक पौडेलले भन्नुभयो, 'यस आवभित्रै बाटो नाला निर्माण सम्पन्न गरी आगामी जेठ महिनादेखि फोहोर व्यवस्थापन कार्य थाल्ने योजना छ ।