खर्च थेग्न नसकेपछि थन्कियो जुम्लाकाे डिजेल्ट प्लान्ट

खर्च थेग्न नसकेपछि थन्कियो जुम्लाकाे डिजेल्ट प्लान्ट

लोकसंवाद संवाददाता  |  समाज  |  भदौ २४, २०७७

जुम्ला । गत वर्ष जुम्लामा अन्धकार भएपछि सांसद गजेन्द्रबहादुर महतले सांसद विकास कोषबाट डिजेल प्लान्ट खरिद गर्न  २४ लाख ६० हजार उपलब्ध गराउनुभयो । खरिद गरेर २०० केभी (१६० किलोवाट) क्षमताको उपकरण जुम्लामा पनि ल्याएर केही समय डिजेलबाट भए पनि बिजुली बल्यो तर डिजेलको खर्च थेग्न नसकिएपछि उक्त उपकरण पनि थन्किएको छ ।

जुम्लाको बिजुलीको विषयमा गत वर्ष सडकदेखि संसद्सम्म चर्को विरोध र आलोचना भएपछि विद्युत् प्राधिकरण केन्द्रीय कार्यालयले अर्को डिजेल प्लान्ट पनि पठायो तर डिजेल भने पठाएन । त्यो उपकरण पनि ल्याएदेखि एक दिन बिजुली नबालेरै थन्किएको तत्कालीन साना जलविद्युत् उपभोक्ता समितिका अध्यक्ष विष्णुबहादुर बुढ्थापाले बताउनुभयो । 'विद्युतगृहको चौरभरि उपकरणले भरिएको छ तर यहाँका उपभोक्ताले नियमित बिजुली बाल्न पाएका छैनन्', उहाँले भन्नुभयो । केन्द्रीय प्रसारण लाइन कहिले जिल्लामा आउने हो भन्ने कुनै टुङ्गो नभएको पनि उहाँले बताउनुभयो ।