निषेधाज्ञा खुकुलो, यातायात र पसल खुल्ने, सवारीमा जोर बिजोर

निषेधाज्ञा खुकुलो, यातायात र पसल खुल्ने, सवारीमा जोर बिजोर

लोकसंवाद संवाददाता  |  समाचार  |  भदौ २४, २०७७

काठमाडौं उपत्यकामा भोलिदेखि निषेधाज्ञा खुकुलो भएको छ । निषेधाज्ञा खुकुलो भएसँगै बिहीबारदेखि पसल व्यवसाय खुला हुने भएका छन् भने सार्वजनिक तथा निजी सवारी साधन पनि सञ्चालनमा आउने छन् । 

काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीले तीन सातादेखि जारी रहेको निषेधाज्ञा खुकुलो पार्ने निर्णय गरेका हुन् । 

कोरोना संक्रमण बढेसँगै काठमाडौं उपत्यकामा ४ भदौदेखि निषेधाज्ञा जारी गरिएको थियो । सुरुको दुई साता कडा गरिएको निषेधाज्ञा तेस्रो सातादेखि निश्चित समय तोकेर निर्माण सामाग्री ढुवानी तथा बिक्री वितरण खुला गरिएको थियो ।

बिहीबारदेखि भने थप सहज हुने भएको छ । उपत्यकामा बिहीबारदेखि सवारी साधन जोर विजोर प्रणालीका आधारमा सञ्चालनमा आउने भएका छन् ।

निजी सवारी साधनहरु जोरविजोरका आधारमा सबै चल्नेछन् । तर मोटरसाइकल तथा स्कुटरमा पनि भौतिक दुरी र स्वास्थ्यका मापदण्ड पालना गर्नुपर्नेछ ।

सार्वजनिक यातायातको हकमा १६ सिट भन्दा बढी क्षमताका मात्र चल्न पाउनेछन् । यसरी चलेको सवारी साधनमा कुल सिट क्षमताका आधा नबढ्ने गरी एक लहरमा एक जना मात्र यात्रु राख्न पाउनेछन् भने मास्क अनिवार्य रुपमा लगाउनुपर्नेछ । 
चालक र सहचालकले मास्क र पञ्जा अनिवार्य लगाउनुपर्छ भने सवारी साधनको ढोकामा स्यानिटाइजर राख्नुका साथै दैनिक रुपमा निसंक्रमित पनि गर्नुपर्नेछ । 

उपत्यकामा अत्यावश्यक वस्तु तथा सेवाका पसलहरु अब साँझको समयमा पनि खुला हुनेछन् । सुरुमा विहान ९ बजेसम्म खोल्न दिइएका यस्ता पसललाई १७ भदौदेखि ११ बजेसम्म खुल्‍न दिइएको थियो । अब बेलुका ५ देखि ७ बजेसम्म खुला हुनेछन् ।

यो निर्णयअनुसार अब खाद्यवस्तु, दूध, दुधजन्य पदार्थ, फलफूल तरकारी माछा मासु पसल विहान ११ बजेसम्म र बेलुका ५ देखि ७ बजेसम्म सञ्चालन हुनेछन् ।

फुटपाथ र ठेलाको व्यापार पनि खुला भएका छन् । योसँगै स्टेशनरी, इलेक्ट्रिक र इलेक्ट्रोनिक्स पसल र डिपार्टमेन्टल स्टोर बिहान ११ बजेसम्म र बेलुका ४ देखि ७ बजेसम्म खुला हुनेछन् ।