लोकसंवाद संवाददाता | विदेश | भदौ २४, २०७७
एस्ट्राजेनेका र अक्सफोर्ड विश्वविद्यालयले निर्माण गरिरहेको कोरोना भाइरसविरुद्धको खोपको अन्तिम चरणको मानव परीक्षणमा सहभागी एक व्यक्ति यूकेमा बिरामी परेपछि सो खोपको परीक्षण तत्कालका लागि रोकिएको छ।
हाल विश्वभरी विभिन्न खोप परीक्षणमा रहेका छन् । एस्ट्राजेनेका र अक्सफोर्डले निर्माण गरेको खोपलाई परीक्षणमा भएकामध्ये प्रभावकारी मानिएको छ।
पहिलो र दोस्रो चरणको परीक्षणमा सफल देखिएको सो खोप बजारमा चाँडै आउने अपेक्षा छ। केही सातायता सुरु भएको तेस्रो चरणको परीक्षणमा अमेरिका, बेलायत, ब्राजिल र दक्षिण अफ्रिकामा गरेर झन्डै ३० हजार सहभागी छन्।
तेस्रो चरणको क्लिनिकल परीक्षणमा प्रायः हजारौँ मानिसहरू सहभागी हुन्छन् र यो वर्षौँसम्म चलिरहन सक्छ।
एउटा स्वतन्त्र अनुसन्धानबाट सुरक्षासम्बन्धी तथ्याङ्कको समीक्षा गर्न खोपको परीक्षण सबै देशमा रोकिएको एस्ट्राजेनेकाले जानकारी दिएको छ।
त्यसपछि नियामक निकायहरूले खोप परीक्षण फेरि थाल्ने कि नथाल्ने भनेर निर्णय गर्नेछन् ।
‘ठूला परीक्षणहरूमा संयोगवश कोही बिरामी परेको पाइन्छ, तर त्यसको जाँच गर्न स्वतन्त्र समीक्षा हुनुपर्छ,’ अक्सफोर्ड विश्वविद्यालयका प्रवक्ताले भने।
अक्सफोर्डले बनाएको कोरोनाभाइरस खोपको परीक्षण रोकिएको यो दोस्रो पटक हो । ठूला र महत्त्वपूर्ण खोप परीक्षणहरूमा प्रायः यस्तो भएको पाइन्छ। परीक्षणमा सहभागी स्वयंसेवी कुनै कारणले बिरामी परेर अस्पताल भर्ना हुँदा र त्यो कारण तत्काल थाहा नहुँदा खोप परीक्षण रोक्ने गरिएको छ ।