लोकसंवाद संवाददाता | समाचार | भदौ २५, २०७७
विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) ले मानिसहरूले यअसघि कहिल्यै नगरेको दरमा प्रकृतिको दोहन गरेको बताएको छ ।
डब्लुडब्लुएफले जारी गरेको नयाँ प्रतिवेदनमा प्रकृतिको दोहन विगतमा कहिल्यै नभएको दरमा भएको जनाएको हो । विश्वभरका विभिन्न जङ्गलमा रहेका वन्युजन्तु, समुद्रमा रहेका जलप्राणी र घाँसेमैदानहरूमा रहने हजारौं जीवको अध्ययन गरिएको प्रतिवेदनमा उल्लेख छ।
विगत ५० वर्षमा चरा, माछा, स्तनधारी, उभयचर र घर्सने जनावरको विश्वव्यापी सङ्ख्या दुई तिहाइभन्दा बढी घटेको छ ।
संरक्षणसम्बन्धी वैज्ञानिकहरूले सन् १९७० यता विश्वभर यस्ता जीवहरूको सङ्ख्यामा औसतमा ६८ प्रतिशतले कमी आएको बताउँदै यसलाई उनीहरुले विध्वंसकारी भएको टिप्पणी गरेका छन् ।
प्रतिवेदन लेखनमा सहभागीहरूले चाहिने भन्दा धेरै माछा मारिनु, जङ्गलमा डढेलो लाग्नु र वन्यजन्तुको बसोबास रहेको क्षेत्र विनाश हुनुजस्ता कारणले जीवनहरूको सङख्यामा गिरावट आएको र यो एकदमै डरलाग्दो भएको बताएका छन् ।
तर प्रकृतिको विनाश कम गर्न यसअघि गरिँदै आएका प्रयासमा तत्काल थप कदमहरू चालिने हो भने समय त्यति ढिला भने भइनसकेको उनीहरुको भनाई छ ।
प्रकृतिको विनाश रोकथाम गर्ने प्रयासमा हाम्रो खाने बानी र हामीले उत्पादन गर्ने खानेकुरा पनि पर्छन् ।
जङ्गलको विनाश गर्ने, समुद्रमा अत्यधिक माछा मार्ने र जङ्गली जीवहरूलाई सखाप पार्नेहरूले यसको असर पृथ्वीमा स्पष्ट रुपमा देख्न थालेको वैज्ञानिकहरूको भनाइ छ।