ट्रम्पले कोरोनाबारे जानीजानी झुठ बोलेको खुलासा

ट्रम्पले कोरोनाबारे जानीजानी झुठ बोलेको खुलासा

लोकसंवाद संवाददाता  |  विदेश  |  भदौ २५, २०७७

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस घातक बन्न सक्ने जानकारी हुँदाहुँदै त्यसको नियन्त्रणका लागि पर्याप्त कदम नचालेको खुलासा भएको छ । 

प्रतिष्ठित पत्रकार बब वूडवार्डसँगको अन्तर्वार्तामा ट्रम्पले अमेरिकामा महामारी प्रवेश गर्नुअघि नै कोरोना भाइरस घातक रहेको बताएको पाइएको छ । तर उनले कोरोना नियन्त्रणका लागि पर्याप्त कदम चालेनन् । 

वूडवार्डले आफ्नो नयाँ पुस्तकमा राष्ट्रपति ट्रम्पसँगको अन्तर्वार्तालाई जस्ताको त्यस्तै उल्लेख गरेका छन् ।

उनले गत डिसेम्बरदेखि जुलाइसम्म राष्ट्रपति ट्रम्पसँग १८ पटक अन्तर्वार्ता लिएका थिए । अन्तर्वार्तामा ट्रम्पले अमेरिकामा कोरोना भाइरसका कारण पहिलो व्यक्तिको मृत्यु हुनु भन्दा पहिले नै कोरोना भाइरसलाई ‘डेड्ली स्टफ’ को रुपमा व्याख्या गरेको वुडवार्डको नयाँ पुस्तक रेजमा उल्लेख छ ।

पुस्तकबारे टिप्पणी गर्दै ट्रम्पले महामारीलाई लिएर सर्वसाधारणमा त्रास नफैलियोस् भन्ने आफ्नो चाहाना रहेको बताएका छन् । 

अमेरिका कोरोना भाइरसको महामारीका कारण विश्वमै सबैभन्दा बढी प्रभावित भएको देश बनेको छ । अहिलेसम्म अमेरिकामा कोभिड–१९ बाट एक लाख ९० हजार भन्दा बढीको मृत्यु भएको छ भने ६३ लाख ५९ हजारभन्दा बढी संक्रमित बनेका छन् । 

अमेरिकाका केही सञ्चारमाध्यमहरुले राष्ट्रपति ट्रम्प र पत्रकार वूडवार्डबीचको अन्तर्वार्ताको अंश प्रकाशित गरेका छन् । वूडवार्डको पुस्तक रेज आउँदो १५ सेप्टेम्बरमा बजारमा आउँदैछ । 

वूडवार्डसँगको अन्तर्वार्तामा सुरुमै भाइरसलाई घातक भनेका ट्रम्पले सार्वजनिक रुपमा भने सामान्य फ्लू रहेको र यो त्यसै हराएर जाने बताउँदै आएका थिए ।