लोकसंवाद संवाददाता | समाचार | भदौ २६, २०७७
लामो समयदेखि स्थगित रहेको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ ।
पार्टीभित्रेको आन्तरिक विवादका कारण पटक–पटक बस्दै र स्थगित हुँदै आएको बैठक १३ साउदेखि बस्न सकेको थिएन ।
पार्टीभित्रको विवाद समाधानका लागि महासचिव विष्णु पौडेलको नेतृत्वमा गठित कार्यदलले बुझाएको प्रतिवेदनका आधारमा निकास खोज्ने प्रयासस्वरुप अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच पटक पटक छलफल भएको थियो ।
कार्यदलको प्रतिवेदन बुझेपछि दुई अध्यक्षले तयार पारेको सहमितको खाका आजको स्थायी कमिटि बैठकमा पेश हुने छ।
पछिल्लो सहमति अनुसार ओलीले पाँच वर्ष सरकारको नेतृत्व गर्ने र दाहाल पार्टीको कार्यकारी अध्यक्षको भूमिकामा रहने छन् । सो सहमतिमा वरिष्ठ नेता माधवकुमार नेपालको भने सहमति देखिएको छैन । उनले बैठकमा ‘नोट अफ डिसेन्ट’ लेख्ने सम्भावना रहेको बताइएको छ ।
नेपाल समूहले दुई अध्यक्षबीच मात्रै भएको सहमतिले निकास भएकाले पार्टीलाई विधि र विधानका आधारमा अगाडि बढाउनुपर्ने माग गर्दै आएको छ ।