लोकसंवाद संवाददाता | समाचार | भदौ २६, २०७७
काठमाडौं । भारतको प्रसारण नियमक संस्था ‘इण्डियन ब्रोकाष्टिङ फाउण्डेशन’ले सुचना तथा सञ्चार प्रविधि मन्त्रालयका सचिवलाई एक पत्र लेखी ‘क्लिन फिड’ नीति कार्यान्वयन गर्ने मिति छ महिनाकाे लागि पर सारिदिन आग्रह गरेको छ ।
नेपालका लागि भारतीय राजदूत तथा भारतका लागि नेपाली राजदूतलाई समेत बोधार्थ दिइएको उक्त पत्रमा कोरोना भाइरस (कोभिड १९) महामारीको कारण देखाउँदै क्लिन फिड कार्यान्वयन गर्ने मिति सार्न आग्रह गरिएको हो ।
फाउण्डेशनका सचिवले सञ्चार सचिव हरिप्रसाद बस्याललाई सम्बोधन गरी पठइएको पत्रमा भनिएको छ, ‘हालको महामारीको परिस्थितिमा ‘क्लिन फिड’ नीति कार्यान्वयन गर्ने समय छ महिना पर सार्न आग्रह गर्दछु ।’ भनिएकाे छ । कोरोना भाइरसको विश्वव्यापारी महामारीका कारण नेपाल र भारतसमेत प्रभावित भएको र दुवै देशका विभिन्न ठाउँमा अझै पनि लकडाउन जारी रहेको बताउँदै 'क्लिन फिड' कार्यान्वयनका लागि तयारी गर्ने छ महिनाको समय महामारीको कारण सिर्जित परिस्थितिमा व्यतित भइसकेको फाउण्डेशनले ध्यानकर्षण गराएकाे छ ।
छोटो समयमा क्लिन फिड लागू गर्ने कुराको प्राविधिक कुराहरु मिलाउन कठिनाई हुने कुरालाई औंल्याउँदै उनले कार्यान्वयन गर्ने समय छ महिना पर सार्न आग्रह गरिएकाे छ । नेपालका टेलिभिजनहरुलाई विदेशी विज्ञापनरहित बनाउने उद्देश्यले कार्यान्वयन गर्न लागिएको यो नीति कसरी कार्यान्वयन गर्ने रु भन्ने बारेमा सरोकारवालाबीच अझै पनि केही विवाद भने कायम रहँदै आएको छ ।