लोकसंवाद संवाददाता | समाज | भदौ २९, २०७७
सिमकोट । काम र व्यापारको सिलसिलामा तिब्बतको ताक्लाकोटमा रहेका हुम्लीले आगलागी पीडितका लागि आर्थिक सहयोग गरेका छन् । यही भदौ १७ गते सर्केगाड गाउँपालिका–७ वामनबाडा ठूलोगाउँमा भएको आगलागीबाट पूर्ण क्षति भएका छ घरपरिवारसहित अन्य आंशिक क्षति भएका घरपरिवारलाई हुम्लीले एक लाख तीन हजार ५०० आर्थिक सहयोग गरेका हुन् ।
ताक्लाकोटबाट आएको आर्थिक सहयोग सिमकोट आइपुगेका आगलागी पीडितलाई प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरी र वडाध्यक्ष कृष्णप्रसाद जैशीको रोहवरमा वितरण गरिएको हो । आगलागीबाट घर जलेर पूर्णरूपमा क्षति भएका छ घरपरिवारलाई जनही १० हजार र आंशिक क्षति हुने छ घरपरिवारलाई जनही ६ हजार ५०० प्रदान गरिएको हो ।
ताक्लाकोटमा व्यापार व्यवसाय गर्दै आएका हुम्लाका स्थानीयहरुले कैलाश व्यापार सङ्घ गठन गरेको र सो सङ्घका उपाध्यक्ष लामु लामामार्फत सहयोग रकम प्राप्त भएको हो । लामाले समेत २५ हजारका साथै अन्य २८ जनाले सहयोग गरेको छिटुप लामाले जानकारी दिनुभयो ।