लोकसंवाद संवाददाता | अपराध | भदौ २९, २०७७
राँझा । प्रहरीले बाँकेमा १० किलो लागुऔषध अफिमसहित दुई जनालाई पक्राउ गरेको छ । दाङबाट बाँकेको कुसुम नाका हुँदै अवैध लागुऔषध बाँके ल्याउँदै गरेको गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले आज बिहान करीब ६:३० बजे कुसुम बजारबाट उनीहरुलाई पक्राउ गरेको थियो ।
पक्राउ पर्नेमा पूर्वी रुकुमको पुथाउत्तरगङ्गा गाउँपालिका–८ का ५३ वर्षीय धनबहादुर सेन र दाङ घोराही उपमहानगरपालिका–१९ का २४ वर्षीय वसन्त घर्तीमगर रहेका छन् । उनीहरुलाई जाँच गर्ने क्रममा अफिम बरामद भएको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी उपरीक्षक ओमबहादुर रानाले जानकारी दिनुभयो । उनीहरुबाट झोलाभित्र प्लास्टिकमा राखिएको अवस्थामा एक केजीका दरले बनाइएका १० वटा अफिमका पोका बरामद भएको थियो ।
आजै जिल्ला प्रहरी कार्यालय बाँकेले पत्रकार सम्मेलनमार्फत लागुऔषध अफिमसहित उनीहरुलाई सार्वजनिक गरेको छ । लागुऔषध नियन्त्रण ऐन २०३३ को दफा १४ (छ) को उपदफा ९३० बमोजिम १५ वर्षदेखि जन्मकैद र पाँच लाखदेखि २५ लाखसम्म जरिवाना हुनसक्ने कानूनी प्रावधान रहेको प्रहरी उपरीक्षक रानाको भनाइ छ ।