एकद्वार प्रणालीबाट मात्र राहत : बाह्रबिसे नगरपालिका

एकद्वार प्रणालीबाट मात्र राहत : बाह्रबिसे नगरपालिका

लोकसंवाद संवाददाता  |  समाचार  |  भदौ ३०, २०७७

सिन्धुपाल्चोक । घुम्थाङ भिरखर्क–नागपुजे पहिरोपीडितका लागि दाताहरुले राहत लिएर आउने क्रम शुरु भएपछि बाह्रबिसे नगरपालिकाले विषम परिस्थितिको ख्याल गर्दै भीड जम्मा गरेर आफूखुशी राहत नबाँड्न सार्वजनिक अपिल गरेको छ । स्वास्थ्य सुरक्षाको ख्याल गर्दै एकद्वार प्रणालीबाट राहत वितरण गर्ने भन्दै बाह्रबिसे नगरपालिकाले दाताहरुलाई नगरपालिकासँग समन्वय गर्न आग्रह गरेको हो ।

कोरोना भाइरसको जोखिमका कारण भीडभाड गर्न नहुने,  भौतिक दूरी कायम गर्नुपर्नेजस्ता स्वास्थ्य  मापदण्ड पालना  गरेर पहिरोपीडितलाई नगरपालिकाले राहत उपलब्ध गराउने बाह्रबिसे नगरपालिकाका प्रमुख निमफुञ्जो शेर्पाले बताउनुभयो । 'पीडितको घाउमा राहतको मलमपट्टी लिएर आउनुहुने दातालाई नगरपालिकासँग समन्वय गर्न आग्रह गरेका हौँ', प्रमुख शेर्पाले भन्नुभयो ।

एकद्वार प्रणालीमा पहिरोपीडितका आश्रयस्थलमा राहत पुर्याउने नीतिअनुरुप समन्वयका लागि दाताहरुलाई आग्रह  गरिएको उपप्रमुख सुशीला पाख्रिनले जानकारी दिनुभयो । 'परिस्थिति अलि जटिल छ, राहत सामग्रीसँगै पहिरोपीडितका बस्तीमा कोरोना भाइरसले प्रवेश नगरोस् भनेर समन्वयका लागि अपिल गरिएको हो', पाख्रिनले भन्नुभयो । बाह्रबिसे नगरपालिकाले आइतबार साँझ नै पीडितको अस्थायी बासका लागि ४५ थान टेन्ट नागपुजे पुर्याएको छ । पीडित विस्थापितलाई टेन्टमा राखिएको छ ।