लोकसंवाद संवाददाता | समाज | भदौ ३०, २०७७
भाेजपुर । जिल्लाको उत्तरी क्षेत्रमा अवस्थित साल्पासिलिछो गाउँपालिकाका अध्यक्ष महेश राईले जन्मदिनको अवसरमा एक लाख रुपैयाँको अक्षयकोष स्थापना गर्नुभएको छ । अध्यक्ष राईले ४७औँ जन्मदिनको अवसरमा लक्ष्मीसाल्पा आधारभूत विद्यालय च्याक्सिलामा ५० हजार रुपैयाँ र श्रृयाबाल विकास केन्द्र ढाडगाउँमा ५० हजार गरी एक लाख रुपैयाँ बराबरको ‘महेश राई’ अक्षयकोष स्थापना गर्नुभएको हो ।
गाउँपालिकाकाको दुर्गम गाउँमा स्थानीयवासीले चन्दा सङ्कलन गरी विद्यालय सञ्चालन गरेकाले उक्त विद्यालय सञ्चालन गर्न सहज होस् भन्ने उद्देश्यले अक्षयकोष स्थापना गरेको गाउँपालिकाका अध्यक्ष राईले बताउनुभयो । अध्यक्ष राईले आफूले पाउँदै आएको भत्तावापतको रकम स्थानीय सङ्घसंस्था, विद्यालयलगायत गरिब तथा विपन्न बालबालिकालाई वितरण गर्दै आएको जानकारी दिनुभयो । अक्षयकोषबाट आउने ब्याजको रकमले विद्यालयमा अध्ययनरत गरिब, विपन्न, जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति दिइने विद्यालयले जनाएको छ ।