अनियमित विद्युत् कटौतीका कारण अनलाइन कक्षा स‌ंचालनमा समस्या

अनियमित विद्युत् कटौतीका कारण अनलाइन कक्षा स‌ंचालनमा समस्या

लोकसंवाद संवाददाता  |  समाज  |  भदौ ३०, २०७७

सर्लाही ।  केही दिनयता छिनछिनमा विद्युत् कटौती हुँदा जिल्लाका उपभोक्ता मारमा परेका छन् । दश–दश मिनेटमा विद्युत् झ्यापझ्याप जाने र लाइन आएको समयमा पनि अत्यन्त न्यून भोल्टेज आउँदा जिल्लावासी आजित बनेका छन् । अत्यन्त चर्को गर्मी मौसममा अनियमित विद्युत् कटौती हुनु र आउँदा पनि अत्यन्त न्यून भोल्टेज आउँदा पङ्खासमेत नचल्ने भएपछि घरभित्र बस्नै नसक्ने अवस्था आएको जिल्लाका उपभोक्ताहरुको गुनासो छ ।

अनियमित विद्युत् कटौती र न्यून भोल्टेजले उद्योग कलकारखाना सञ्चालन नै हुन नसक्ने अवस्थामा पुगेका एक व्यवसायीले गुनासो गरेका छन् । अत्यन्त न्यून भोल्टेज हुँदा विद्युत् भएको समयमा समेत जेनेरेटर चलाएर काम गर्नुपर्ने अवस्था रहेको व्यवसायीको गुनासो छ । त्यस्तै अनियमित विद्युत् कटौतीले अनलाइन कक्षा पढ्ने विद्यार्थीसमेत मारमा परेका छन् ।

क्षमताभन्दा बढी मात्रामा विद्युत् खपत हुँदा जिल्लाभर नै विद्युत् प्रवाहमा बारम्बार समस्या आइरहेको विद्युत् प्राधिकरणले जनाएको छ । रौतहटको चन्द्रनिगाहपुरबाट ल्याइएको ३३ केभी प्रसारण लाइन हरिपुर, बरहथवा र मलङ्गवा सबस्टेशन हुँदै जिल्लाभर वितरण भइरहेको छ । 'जिल्लाका तीन सबस्टेशनले ३३ केभीबाट लिएको करेन्ट ५०० एम्पियरसम्म पुग्ने गरेको छ तर जिल्लामा विस्तार भएको तारको क्षमता ४३० एम्पियर मात्रै छ । यसरी तारको क्षमताभन्दा बढी करेन्ट प्रवाह हुँदा जम्पर खाने अर्थात् तारको कनेक्सन छुट्ने समस्या बारम्बार दोहोरिने गरेको छ', नेपाल विद्युत् प्राधिकरण लालबन्दी वितरण केन्द्रका प्रमुख रायले भन्नुभयो ।

उहाँका अनुसार वाग्मती र चन्द्रनिगाहपुरबीचको जङ्गलमा कुनै एक ठाउँमा रुखका हाँगा भाँचिएर तारमा खस्दा पनि लालबन्दीबाट प्राविधिक गएर ठाउँ पहिचान गरी मर्मतको काम गर्दा घण्टौँसम्म विद्युत् ठप्प हुने गरेको छ । हरेक दिन भोल्टेज अनियमित भई विभिन्न सबस्टेशनमा जम्परिङ हुँदा पटक–पटक विद्युत् अनियमित भइरहेको छ । वर्षा धेरै हुँदा पोल ढल्ने र चर्को घाम लागेको समयमा ओभरहिट भएर कनेक्सन छुट्ने समस्या बढी देखिने गरेको प्राविधिकहरुले बताएका छन् । जिल्लाको नवलपुरमा बनिरहेको सबस्टेशन सञ्चालनमा नआउँदासम्म जिल्लामा विद्युत्को समस्या रहिरहने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।