इन्द्रेणीका सातै रंग धोका मात्रै हुन, अर्थात यो आप्टिकल इल्यूजन हो

इन्द्रेणीका सातै रंग धोका मात्रै हुन, अर्थात यो आप्टिकल इल्यूजन हो

ज्ञानमित्र  |  ज्ञानविज्ञान  |  चैत १४, २०७५

हंसदा आश्रममा निकै चहलपहल थियो । आश्रमको प्रमुख स्वामी पंचशीललाई बिहान देखी नै फुर्सद थिएन । हुन पनि आजकोे दिन आश्रमका लागि विशेष दिन नै थियो । उहाँको गुरुको पालादेखी नै आषाढ महिनाको पूर्णिमालाई गुरुपूर्णिमाका रुपमा भव्यताका साथ मनाउने चलन रही आएको हो । विगत पन्ध्र वर्षदेखी गुरुको भौतिक उपस्थिती नरहे पनि स्वामी पंचशीलले यो परम्परा तन मन धनले कायम राख्नु भएको छ । 

काठमाडौं,बनेपा,बुटवल,पोखरा देखी अनेकन गुरुभक्त र शिष्यहरु गुरुप्रति आफ्नो श्रद्धा व्यक्त गर्न गुरुपूर्णिमाको दिन आश्रममा भेला हुन्छन । स्वामी पंचशीलले आउने सबै पाहुनाहरुको बस्ने, खाने प्रबन्ध गर्नुहुन्छ । 

किशोरावस्था मै आश्रम प्रवेश गर्नुभएका स्वामी पंचशील अतिथिप्रति ‘देवोभव’ (पाहुना भगवानको रुप हुन) को भाव राख्नुहुन्छ । यस पटकको गुरुपूर्णिमाका दिन आश्रमको भान्सा उहाँ आफैँले जिम्मा लिनु भयो । हलुवा, खीर, पुडी, केराउको अचार, आलू काउलीको सुख्ख तरकारी, मटर पनीरको झोल तरकारी, गोलभेडाको अचार सबै परिकार उहाँले आफ्नै निर्देशनमा बनाउन लगाउनु भयो । 

पाहुनाहरु आउने क्रम बिहान देखि नै शुरु भयो । ध्यान कक्षको एउटा कुर्सीमा गुरुको फोटो राखियो । आउने सबैले फोटोमा माल्याअर्पण गरी गुरुप्रतिआफ्नो अहोभाव (Dedication) व्यक्त गरी केही समय ध्यानमा(Meditation) बस्ने कार्य गरे ।

 रचयिता र लावण्यका ड्याडी रामको साथी तीन महिनादेखि स्वामी पंचशीलको साथीका रुपमा आश्रम बस्दै आउनु भएको छ । आश्रम बनेपाभन्दा २ कि.मी. वर जनगाल भन्ने गाउँमा, जंगलको

एकदम किनारमा रहेको छ । राम पनि आज रचयिता र लावण्यलाई लिएर आश्रम आउँदै छन् । 

स्वामी पंचशील र रामका साथी आश्रमको फुलबारीमा बसेर चियाखाँदै थिए । यत्तिकैमा रचयिता र लावण्य ड्याडीसँग आश्रम आइपुगे । आहा कति रमाइलो ठाउँमा आश्रम रहेछ, रचयिताले चारैतिर हेर्दै भनिन् । 

ल अब तिमीहरु आफ्नो खुशीले आश्रम घुम, म स्वामीजीहरुसँग बस्छु, ड्याडी रामले दुबै केटाकेटीलाई भन्नुभयो । 

आषाढको महिना पानी पर्ने/नपर्ने के ठेगान ? बिहान देखि नै लुकामारी गरीरहेका घाम र बादलमध्ये बादल बलियो भएर पानी दर्किन थाल्यो । सबैजना ध्यान कक्षमा आएर बसे । यही अवसरमा स्वामी पञ्चशील र स्वामी प्राणमुर्तिले गुरुपूर्णिमाको महिमा बखान गर्नुभयो । यसपछि पन्ध्र मिनेटसम्म सबैजनाले ऊँ गुन्जार गरे । आँखा चिम्लेर गरिने ऊँ गुन्जारको आनन्द नै अर्कै....यसलाई शब्दमा भन्नु भन्दा प्रयोग गरेर मात्र बुझ्न सकिन्छ । रचयिता र लावण्य कुन बेला हलबाट बाहिरिए कसैले थाहा पाएन ।

बाहिर पानी पर्न रोकिएर घाम लागेको थियो र यसका साथै आकाशमा ठूलो इन्द्रेणी देखिएको थियो । ल भन लावण्य इन्द्रेणीमा कतिवटा रंग हुन्छन् ? रचयिताले भाई लावण्यलाई सोधिन । 
मलाई थाहा छैन, गने भइहाल्यो नि ! लावण्यले जवाफ फर्कायो । 

त्यसो भए तिमी गनेर बस, म अंकललाई बोलाएर ल्याउँछु भनी रचयिता ‘मेडीटेशन हल’तिर गइन । केही बेरमै अंकल र रचयिता दुबै लावण्य भएको ठाउँमा आइपुगे । 
‘भन लावण्य कति वटा रंग गन्यौ ? अंकलले सोध्नु भयो । 

‘रेड’ ‘यलो’, ‘ग्रीन’, ‘ब्ल्यु’ र ‘भ्वाइलेट’ मैले यी पाँचवटा हेर्दै गनेको छु अंकल, लावण्यले जवाफ फर्कायो । 

ओह, ‘दैट्स ग्रेट’ । तिमीलाई थाहा छ लावण्य, महान वैज्ञानिक सर अइज्याक न्यूटनले पनि इन्द्रेणीमा तिमी जस्तै पाँचवटा रंग मात्रै देख्ने गर्थे । 

अंकल के इन्द्रेणीमा यो भन्दा बढीरंग हुन्छन र ? लावण्यले सोध्यो । 

रंग भनेको प्रकाश र आँखाको खेल हो, रंग छुट्ट्याउन तिम्रो आँखा कति सिपालु छ संसारमा त्यति नै रंग हुन सक्छन.......

त्यसो भए इन्द्रेणीमा कति रंग हुन्छन् ? रचयिताले सोधिन् । 

सन् १६७२ मा न्यूटनले इन्द्रेणीमा लावण्य जस्तै ‘रेड’, ‘यल्लो’, ‘ग्रीन’, ‘ब्ल्यू’ र ‘भ्वाइलेट’ पाँच रंग हुन्छन् भनेर लेखे । तर न्यूटन आफूमा पुरै धार्मिक व्यक्ति थिए । उनी पाइथागोरसलाई खुबै मान्ने गर्दथे । पाइथागोरस अंकका राम्रा ज्ञाता थिए । उनी सात नम्बरलाई अति पवित्र एवं रहस्यमयी मान्ने गर्थे । यही सात अंकको मोहले न्यूटन महोदयले पछि गएर इन्द्रेणीमा दुइरंग अरु थपीदिए । ‘ओरेन्ज’ र ‘इण्डिगो’ । 

मुलतः अब इन्द्रेणीमा सात रंग भएको मानिन्छ, ‘रेड’, ‘ओरेन्ज’, ‘यल्लो’, ‘ग्रीन’, ‘ब्ल्यू’, ‘इण्डिगो’ र ‘भ्वायलेट’ । 

तर अंकल आकाशमा इन्द्रेणी कहिलेकाँही मात्रै देखिन्छ, यो देखिनुको कारण के हो ? रचयिताले सोधिन् ।

इन्द्रेणी दृष्टि भ्रम (Optical Illusion) मात्र हो, यो देखिन्छ मात्र ! तिमी उडेर यसलाई छुन सक्दैनौ । किनकि यसको वास्तविक अस्तित्व नै हुँदैन् । 

पहिला यो बुझ, इन्द्रेणी बन्छ कसरी ?आकाशमा रहेका पानीका थोपामा जब सूर्यको प्रकाश पर्छ । प्रकाशको केहीभाग परावर्तित हुन्छ र केही थोपाबाट गुजे्रेर जान्छ । हामीले जुन सेतो प्रकाश (Visual Light) देख्छाै‌, त्यो विभिन्न रंगको मिश्रणले सेतो देखिएको हो । हाम्रो आँखाले सातवटा रंग ‘आइडेन्टीफाइड’ गर्छ । पानीको थोपाबाट परावर्तित हुँदा सेतो प्रकाशमा रहेका यी सातैवटा रंग छुट्टिन्छन् । 

एउटा इन्द्रेणी बन्नलाई आकाशमा पानीका दुईचार थोपा भएर हुन्न, पानीका लाखौं थोपा हुनुपर्छ । यी लाखांै थोपाबाट प्रकाशका किरण ठोक्किएर इन्द्रेणीको निर्माण हुन्छ । 

इन्द्रेणी कहिलेकाँहि मात्रै किन देखिन्छ । लावण्यले सोध्यो ?

इन्द्रेणी बन्नलाई धेरै संयोग जुर्नुपर्छ अनिमात्रै यो ‘दृष्टिभ्रम’रुपी इन्द्रेणी देखिन्छ । जस्तै पानी परे पछि आकाशमा दशौं लाख पानीका थोपा रहेको हुनुपर्छ । यसरी रहेका पानीका थोपा जुन दिशामा छन्, सुर्य त्यस दिशाको विपरीत हुनुपर्छ । 

अझै राम्ररी बुझ, बिहानको समयमा बन्ने इन्द्रेणी सँधै पश्चिम दिशामा देखिन्छ र जब सूर्य घुमेर पश्चिम दिशामा पुगेको हुन्छ त्यो बेला इन्द्रेणी सँधै पूर्व दिशामा देखिन्छ । मध्यान्हमा जब सूर्य हाम्रो टाउकोको माथि हुन्छ त्यसबेला इन्द्रेणी बन्न सक्दैन् । तिमी यसरी बुझ, ‘इन्द्रेणी बन्नलाई सूर्य ‘होराइजन’मा हुनुपर्छ ।’ तिमीले इन्द्रेणी हेर्नलाई सूर्य सँधै तिम्रो ‘ब्याक होराइजन’मा हुनुपर्छ । तिमीभएको स्थानबाट सरदर ४२ डिग्रीको कोण बनेको आकाशमा मात्र इन्द्रेणी देखिन्छ । 

के हामी प्लेनमा उडेर गएर इन्द्रेणी छुन सक्छौं ? लावण्यले सोध्यो ?

जस्तो कि मैले तिमीहरुलाई भनें, यो एउटा ‘आप्टिकल इल्यूजन’हो । अब भन त ‘इल्यूजन’लाई कहिल्यै पनि छुन सकिन्छ र ? तिमी इन्द्रेणी भएको दिशामा जति अगाडि बढ्छौ, इन्द्रेणी पनि अगाडि सर्दै जान्छ । तर एउटा भने फायदा हुन्छ है तिमीले प्लेनबाट हेर्दा इन्द्रेणी पूरै गोलो देखिन्छ । पृथ्वीबाट भने यो आर्क (Arch) आकारको देखिन्छ । एउटा अर्को अचम्मको कुरा कुनै दुईजना मानिसले एउटै इन्द्रेणीलाई फरक फरक रहेको देख्छन् । कहिलेकाँही एक साथ दुईवटा इन्द्रेणी पनि देखिन्छन् । तर यसरी दुईवटा इन्द्रेणी बनेको बेला इन्द्रेणीमा देखिने रंगको क्रम ठ्याक्क उल्टो हुन्छ । विश्वमा सबैभन्दा लामो समयसम्म देखिएको इन्द्रेणी १४ मार्च १९९४मा बनेको थियो । इग्लैंडको शेफील्ड भन्ने स्थानमा देखिएको यो इन्द्रेणी झण्डै ५ घण्टासम्म रही रहेको थियो । 

सन् १६३७मा रेने डेस्कार्टसले सर्वप्रथम इन्द्रेणी बन्ने प्रक्रियाबारे पत्ता लगाएका थिए । इन्द्रेणीबारे तिमीहरुलाई मैले सामान्य जानकारी दिए । यस जानकारीलाई आफ्नो स्कूलका साथीहरुसँग ‘शेयर’ गर्नु र इन्द्रेणीबारे तिम्रो कुनै साथीले केही अन्य प्रश्न सोध्यो भने लेखेर ल्याउनु । म ती प्रश्नहरुको जवाफ दिनेछु । 

याे पनि 

छतमा राखेको पानी कहाँ गयो ?