मृतकका आफन्तलाई ३५ लाख राहत

मृतकका आफन्तलाई  ३५ लाख राहत

लोकसंवाद संवाददाता  |  समाज  |  भदौ ३०, २०७७

म्याग्दी । गत असारमा म्याग्दीको धौलागिरि गाउँपालिका–६ मराङ र मालिका गाउँपालिका–७ बिममा गएको पहिरोमा ज्यान गुमाएकाका आफन्तलाई सङ्घीय सरकारले पठाएको राहत हस्तान्तरण गरिएको छ । असार २५ र २६ गतेको पहिरोमा ज्यान गुमाउने २३ जना मृतकका परिवारलाई गृह मन्त्रालय पठाएको ३५ लाख वितरण गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । मराङको राम्चेका चार जना मृतकका नजिकका हकदार विदेशमा भएकाले पछि हस्तान्तरण गरिने प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले बताउनुभयो । 

'बिमको तल्लो गाउँका वीरबहादुर नेपालीसहित परिवारका चारै जनाको मृत्यु भएका कारण हकदार नभएकाले राहत वितरण भएन्”, उहाँले भन्नुभयो, “सरकारको पछिल्लो नियमअनुसार एउटा परिवारका एक जना सदस्यको मृत्यु भएमा दुई लाख र एकभन्दा बढीको एक लाख बढाएर एउटा परिवारलाई पाँच लाखसम्म राहत वितरण गरेका छाैँ ।' यसअघि प्रतिमृतक  एक लाखका दरले राहत पाउने व्यवस्था थियो । बेपत्ताको हकमा जीवित फर्किएको अवस्थामा फिर्ता गर्ने र नभेटिए सरकारले दाबी नगर्ने सर्तसहित मृतक सरहनै राहत उपलब्ध गराइएको छ । 

नगदै वितरण गरिएको राहत रकम कार्यक्रमस्थलमै प्रभु र गरिमा बैंकको दरवाङ शाखाका कर्मचारीलाई बोलाएर खाता खोल्न लगाई जम्मा गरिएको थियो । राहत वितरणका लागि सुरक्षा अधिकारीसहित दरवाङ पुग्नुभएका प्रजिअ अधिकारीले दुईवटै स्थानीय तह र वडाका जनप्रतिनिधिको रोहबरमा राहत वितरण गर्नुभएको थियो । राहतले पीडामा मल्हम लगाउने अपेक्षा गर्दै प्रजिअ अधिकारीले अतिआवश्यकबाहेकका काममा पैसा खर्च नगर्न सुझाव दिनुभयो । प्रदेश सरकारले पठाएको राहत रकम पनि छिट्टै वितरण गरिने प्रजिअ अधिकारीले बताउनुभयो । 

धौलागिरि गाउँपालिकाका अध्यक्ष थमसरा पुन र मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले पीडितको साथमा तीनै तहका सरकार रहेको बताउँदै राहतबापत प्राप्त रकमले आवास व्यवस्थापनमा उपयोग गर्न आग्रह गर्नुभयो । धौलागिरिका अध्यक्ष पुनले मृतकका प्रतिपरिवार दश हजार रुपैयाका दरले किरिया खर्चबापत गाउपालिकाले उपलब्ध गराएको बताउनुभयो । मालिकाका अध्यक्ष रोकाले किरिया खर्चबापत मृतकका परिवारलाई  २५ हजारका दरले उपलब्ध गराइने बताउनुभयो । 

उहाँहरुले पहिरोबाट घरबास गुमाएकाको पुनःस्थापनाका लागि सुरक्षित ठाउँमा जग्गाको खोजी भइरहेको बताउनुभयो । असार २५ र २६ गतेको पहिरोमा मराङमा १९ जनाको मृत्यु, दुई जना बेपत्ता, बिममा आठ जनाको मृत्यु र एक जना बेपत्ता र दुखुमा एक जना बेपत्ता भएका थिए ।