लोकसंवाद संवाददाता | समाज | भदौ ३०, २०७७
पाँचथर । पाँचथरको फाल्गुनन्द गाउँपालिका–१ र २ का अति विपन्न ६ घर दलित परिवारको सरकारले घर निर्माण गरिदिएको छ । फाल्गुनन्द एक, नवमीडाँडाका तीन र वडा नं २ इम्बुङका तीन घर विपन्न दलितको जनता आवास कार्यक्रमअन्तर्गत सरकारले घर निर्माण गरिदिएको हो । प्रदेश नं १ को शहरी विकास तथा भवन निर्माण आयोजनाबाट प्रत्येक घर तीन लाख ३२ हजार ५०० को लागतमा निर्माणसम्पन्न भएको फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष वीरबहादुर कुरुङ्वाङले जानकारी दिनुभयो ।
फाल्गुनन्द–१ र २ का अति विपन्न ६ घर दलित परिवारको घर निर्माण भइसकेको अध्यक्ष कुरुङ्वाङले बताउनुभयो । फाल्गुनन्द–१ नवमीडाँडाका भवानीबहादुर दर्जी, कमलबहादुर दर्जी र पूर्णबहादुर विश्वकर्माको घर निर्माण भएको छ । यस्तै फाल्गुनन्द–२, इम्बुङका मीरा बाग्दश, धनबहादुर दर्जी र धनराज दर्जीको घर निर्माणसम्पन्न भएको हो । सरकारले घर निर्माण गरिदिएपछि विपन्न वर्गका उनीहरु हर्षित भएका छन् । गरिबीकै कारण बस्ने राम्रो घर नभएको र चुहिने छानो भएको घरमा सुत्न, बस्नसमेत ढुक्कले राम्ररी नपाइरहेको बेला सरकारले घर निर्माण गरिदिएर गरिबहरुलाई राहत प्रदान गरेको कमलबहादुर दर्जीकी श्रीमती फूलमाया दर्जीले बताउनुभयो । उहाँले भन्नुभयो, 'हाम्रो लागि पनि सरकार छ भन्ने आभास भएको छ, सरकारले घर निर्माण गरिदिएर हाम्रा निम्ति ठूलो राहत प्रदान गरेको छ ।'
सरकारले घर निर्माण गरी दिएपछि विपन्न वर्गका पूर्णबहादुर विश्वकर्मा पनि खुशीले दङ्ग हुनुहुन्छ । 'घर बनाउन सक्ने अवस्था थिएन, सरकारले घर निर्माण गरिदिएकाले हामी हर्षित भएका छौँ', उहाँले भन्नुभयो, 'सरकारले यतिका खर्च गरेर घर निर्माण गरेर हामी गरिबको उद्धार गरेको छ ।' यस्तै सरकारले घर निर्माण गरिदिएपछि फाल्गुनन्द–१ का भवानीबहादुर दर्जीले समेत खुशी व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, 'हामी विपन्नको घर बनाउने अवस्था थिएन, बालबच्चाहरु धेरै, सरकारबाट घर पाइयो, बसियो, आनन्द भयो, एकदम गौरव लागेको छ ।'
जनता आवास कार्यक्रमअन्तर्गत निर्माण गरिएका घरहरु प्राविधिक मापदण्डबमोजिम नै निर्माणसम्पन्न भएको फाल्गुनन्द–२ का वडाध्यक्ष बहादुरसिंङ नेम्वाङले बताउनुभयो । वडा नं. २ मा निर्माण गरिएका घरहरु गुणस्तरीय सामग्रीको प्रयोग गरी प्रभावकारी ढङ्गले निर्माण गरिएको उहाँको भनाइ छ ।