झोलुङ्गे पुल निर्माणका लागि अध्ययन हुँदै

झोलुङ्गे पुल निर्माणका लागि अध्ययन हुँदै

लोकसंवाद संवाददाता  |  समाज  |  भदौ ३१, २०७७

तनहुँ । तनहुँको बन्दीपुर गाउँपालिकाका विभिन्न ठाउँमा झोलुङ्गे पुल निर्माण गरिने भएको छ । झोलुङ्गे पुल नभएका खोला तथा लामो समय हिँडेर वारपार गर्नुपर्ने ठाउँमा गाउँपालिकाले झोलुङ्गे पुल निर्माण गर्न लागेको हो ।

गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले झोलुङ्गे पुल निर्माणका लागि सम्भाव्यता अध्ययनका लागि दमौलीस्थित गैरसरकारी संस्था समन्वय समितिसँग सम्झौता गरिएको जानकारी दिनुभयो । 'गाउँपालिकाका विभिन्न वडामा झोलुङ्गे पुल निर्माणका लागि डिपिआर तयार गर्न सम्झौता भएको छ, अध्ययनपछि कहाँ–कहाँ पुल निर्माण गर्न उपयुक्त हुन्छ, त्यही ठाउँमा काम तत्कालै अगाडि बढाउँछौँ', थापाले भन्नुभयो ।

उहाँका अनुसार बन्दीपुर–१ र भानु नगरपालिका–४ जोड्ने चुँदीखोला, बन्दीपुर–१ कटुवाको घुम्तीदेखि सोही ठाउँ जोड्ने नाहालाखोला, बन्दीपुर–३ र सोही वडाको शेराटार जोड्ने खुदीखोला, बन्दीपुर–२ र वडा नं ६ जोड्ने साम्दीखोला तथा बन्दीपुर–२ र वडा नं ४ जोड्ने पाहरपानी खोलामाथि झोलुङ्गे पुल निर्माण गर्न लागिएको छ । 
    
उहाँका अनुसार ती झोलुङ्गे पुल निर्माणपछि यहाँका पाँच हजारभन्दा बढी सर्वसाधारण लाभान्वित हुनेछन् । उहाँका अनुसार पुल निर्माणमा गाउँपालिकाले १० प्रतिशत लगानी गर्नेछ भने बाँकी रकम सङ्घीय सरकारले व्यहोर्नेछ । सम्भाव्यता अध्ययनपछि मात्रै पुलको लागत थाहा हुने थापाको भनाइ छ । 

गैरसरकारी संस्था समन्वय समिति ९एनजिओ नेटवर्क० का अध्यक्ष प्रतापसिंह गुरुङले सम्भाव्यता अध्ययनका लागि गाउँपालिकासँग सम्झौता भइसकेकाले तत्कालै काम शुरु गरिने जानकारी दिनुभयो । एनजिओ नेटवर्कले जिल्लाका अधिकांश ठाउँमा झोलुङ्गे पुल निर्माणको काम गर्दै आइरहेको छ । नेटवर्कले गत आर्थिक वर्षमा जिल्लाका विभिन्न ठाउँमा नौ पुल निर्माण शुरु गरेको थियो । जुन हाल निर्माणाधीन अवस्थामा छ । बन्दाबन्दीका कारण ती झोलुङ्गे पुल निर्माण गर्न नसकिएको गुरुङले बताउनुभयो ।