लोकसंवाद संवाददाता | समाज | असोज ०१, २०७७
चितवन । बर्सातको समयमा लाठीले बोरा अड्याएर त्यहीँभित्र जीवन गुजारिरहेका दुई दिदीबहिनीलाई यहाँका सामाजिक अगुवाले सहयोग जुटाएर घर बनाउन शुरु गरेका छन् । निषेधाज्ञाको समयमा दुःख परेकाहरुलाई सहयोग गर्न सङ्गठित भएको अगुवाको समूहले सहयोग जुटाएर घर बनाउन शुरु गरेको हो ।
खैरहनी नगरपालिका–८ का मुरलीप्रसाद गजुरेल, प्रेम रिमाल, कमल पाठक, अशोक न्यौपाने र लेखबहादुर पुनले कालिका नगरपालिका–५ मा घर बनाइदिन शुरु गर्नुभएको हो । गजुरेलले भन्नुभयो 'त्यहाँ ६२ वर्षकी मुसरी महतो र ४८ वर्षीया बहिनी फोहोरी महतोको विजोग अवस्था देखेर हामीले सहयोग जुटाएर घर बनाउन थाल्यौँ ।' स्थानीय पत्रकार सन्तकुमार चौधरीले उनीहरुको अवस्थाको बारेमा लेखेपछि गजुरेलसहितका अगुवा समूहले शुरुमा उनीहरुलाई छ महिना खानाको व्यवस्था गर्यो । बिनामास्क माग्दै हिँडेपछि स्थानीय त्रसित भएका थिए ।
गजुरेलले थप्नुभयो 'लाठीले बोरा अड्याएर मुसलधारे वर्षामा बसेको देखेर हामीले शुरुमा त्रिपाल, म्याट र टर्चलाइट दियौँ ।' पछि मन नमानेर घरै बनाउन सहयोग जुटाउन थालेको उहाँको भनाइ छ । दुई बहिनीकै थोरै जग्गाको छेउमा गजुरेलको समूहले घर बनाइदिन शुरु गरेको छ । हालसम्म दुई लाख ५० रुपैयाँ हजार सङ्कलन भइसकेको उहाँले जानकारी दिनुभयो । टिनले छाएको घर सम्पन्न हुन तीन लाख ५० हजार रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।
गत भदौ २८ गतेदेखि स्थानीयवासीसँगै अगुवाहरुले श्रमदान शुरु गर्नुभएको थियो । हालसम्म डिपीसीको काम भइसकेको भन्दै उहाँले सहयोग जुटिरहेको र छिट्टै घर सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो । जापानको योकायामा नेपाली समाजका अध्यक्ष प्रेम आचार्यले आफूले एक लाख ४० हजार र साथीभाइसँग ६७ हजार २०० रुपैयाँ सङ्कलन गरी पठाइसक्नुभएको छ । अमेरीकामा रहनुभएकी जयन्ती थापाले घर बनेपछि कपडाका लागि १५ हजार रुपैयाँ पठाइसक्नुभएको छ ।
अन्य व्यक्तिले पनि पठाउने क्रम जारी रहेको छ । गजुरेलका अनुसार दिदीबहिनीमध्ये जेठीको माडीमा र बहिनीको भण्डारामा विहे भएको भए पनि श्रीमान्ले छोडेपछि स्थानीयवासीको गाईभैँसी चराउने काम गरेका थिए । जसको पिँढीमा बस्न पाइन्छ त्यहीँ बस्ने खाने गरेका उनीहरु पछिल्ला दिनमा बेसहारा भएर त्यहाँ बोराको ओत लागेर बसेका थिए ।
उनीहरू बसेको जग्गा ती दुई बहिनीमध्ये एकको श्रीमान् रहेको र उनी गैँडा तस्करीको अभियोगमा कारागारमा भएकाले उनीहरुको पनि रेखदेख गर्ने अवस्था नरहेको गजुरेलको भनाइ छ ।