दुःख कृषकको नाफा बिचौलियालाई

दुःख कृषकको नाफा बिचौलियालाई

लोकसंवाद संवाददाता  |  समाज  |  असोज ०५, २०७७

पोखरा । पोखराकी सुशीला केसी अधिकारीले चितवनको आफ्नो बारीको केरा कोसाको रू तीन हाराहारीमा बिक्री गर्नुहुन्छ तर स्थानीय बजारमा आफूले भने प्रतिकोसा  रू १० सम्ममा किन्ने गर्नुभएको छ ।
 
उहाँ मात्र होइन देशभरका किसान र उपभोक्ता बिचौलियाको मारमा छन् । अधिकारीले गुनासो गर्नुभयो, 'बिचौलियाको यो मनोमानीको विषयमा तपाइँहरुले कलम चलाइदिनुपर्यो ।' आफूले सस्तोमा बिक्री गर्दा उपभोक्ताले त्यहीअनुसारको मूल्यमा किन्न पाए सन्तोष हुने अधिकारीको भनाइ छ । भरतपुर महानगरपालिका–२६ भगडीमा १० बिघामा उहाँको पौलमी कृषि फार्म छ । त्यहाँको चार बिघामा चार हजार घरी केरा बिक्रीयोग्य भएको छ ।
 
आफ्नो बारीबाट व्यापारीले प्रतिकोसा  तीनमा उठाउने गरेको उहाँ बताउनुहुन्छ । भारतको केरलाबाट झिकाइएको उच्चस्तरको बेर्ना लगाएको उहाँको भनाइ छ । पानीका कारण थप पाँच बिघामा लगाएको केरामध्ये ७५ प्रतिशत नष्ट भएको छ । यो पीडा हुँदाहुँदै बिक्रीयोग्य केराले पनि बजार मूल्य नपाउँदा आफू जस्ता कृषक मारमा परेको उहाँले दुखेसो पोख्नुभयो ।
 
जिल्लाका स्थापित केरा कृषक लक्ष्मण सुवेदी बिचौलियाको मारमा परेको गुनासो गर्नुहुन्छ । बारीबाट प्रतिकोसा तीनदेखि चारमा बिक्री गरेको केरा उपभोक्ताले आठसम्म यहीँको बजारमा किन्नुपर्ने बाध्यता रहेको उहाँको भनाइ छ । जिल्लाभरमा उहाँको मात्र ७५ बिघामा केराखेती लगाइएको छ । भरतपुरको गौरीगञ्जबाट थोक मूल्यमा उपभोक्तालाई केरा बिक्री गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, 'मण्डी, खुद्रा व्यापारी हुँदै उपभोक्तामा पुग्दा धेरै महँगो भएपछि मैले फार्मबाट पनि खुद्रा बेच्न थालेँ ।'आम कृषक र उपभोक्ता बिचौलियाको मारमा परेको सुवेदीको भनाइ छ । सुवेदी २१ वर्षयता यहाँ धेरै केराखेती गर्ने कृषकका रूपमा परिचित हुनुहुन्छ ।

चितवन केरा उत्पादक सङ्घका अध्यक्ष घानाथ महतो केरा बारीबाट प्रतिकोसा डेढदेखि चार रुपैयाँसम्ममा बिक्री हुने गरेको भए पनि उपभोक्ताले दोब्बरभन्दा बढी तिरेर किन्नुपर्ने बाध्यता रहेको पीडा पोख्नुहुन्छ । 'जमानादेखि हामीले पीडा पोख्दै आएका छौँ । कसले सुनिदिने', उहाँले भन्नुभयो, 'दुःख कृषकको तर नाफा बिचौलियालाई मात्र भयो ।' जिल्लामा केराखेती गर्ने कृषकको सङ्ख्या ७०० रहेको छ । तीन हजार बिघाभन्दा बढीमा केराखेती गरिएको छ । एक बिघामा केराखेती गर्न करिब चार लाख खर्च हुन्छ । उहाँका अनुसार एक बिघामा एक हजार ६०० बोट लगाइन्छ । एउटा बोटमा ८० देखि १०० कोसा केरा फल्ने गर्दछ ।

अहिले बजारमा लुकीछिपी भारतीय केरा आइरहेकाले यहाँको केरा बिक्री कम भएको कृषक बताउँछन् । देशका विभिन्न जिल्लामा लकडाउन र निषेधाज्ञा हुँदा केराको खपत कम हुँदै गर्दा बिचौलियाको मनोमानी अरु बढेको महतोको भनाइ छ ।