लोकसंवाद संवाददाता | समाचार | असोज ०६, २०७७
काठमाडौ । नागरिक दैनिकमा कार्यरत पत्रकार, कर्मचारी र मजदुरले पाँच दिने सत्याग्रह सुरू गरेका छन् ।
नेपाल रिपब्लिक मिडियाले सञ्चालन गरेको नागरिकले नियमित रूपमा पारिश्रमिक नदिएको तथा पूर्वजानकारीविना जागिरबाट अवकाश दिएकाेमा सत्याग्रह सुरू भएको हो ।
नागरिककाे कार्यालय अगाडि साेही दैनिकको तेस्रो पृष्ठ हेर्दै आएका पत्रकार सुविद गुरागाईं सत्याग्रह बसेका छन् । उनलाई अन्य सहकर्मीले पनि साथ दिएका छन् ।
उक्त दैनिकमा कार्यरत अर्का एक पत्रकारका अनुसार नियमित तलब दिइएको छैन । ‘जेठ र असारको तलब बल्लबल्ल पाइएको छ,’ उनले भने, ‘दुई महिनाको तलब पाएका छैनौं ।’ विभिन्न दबाबमूलक कार्यक्रम गरे पनि प्रकाशन गृहले नियमित तलब नदिएको उनले जानकारी दिए ।
कोरोनाका बेला जोखिम मोलेर रिपोर्टिङ, सम्पादन लगायतका कामहरू गरिएको छ, तैपनि नियमित तलब पाइएन,’ उनले भने, ‘लकडाउनका बेला निस्शुल्क पत्रिका बाँडेको प्रकाशन गृहले दिनरात नभनी काम गरिरहेका पत्रकार, कर्मचारी र मजदुरलाई नियमित तलब दिएन।’
नागरिक दैनिकमा गरिएको सत्याग्रहमा नेपाल पत्रकार महासंघले पनि ऐक्यवद्धता जनाएको छ ।
कोरोनाका बाहनामा प्रकाशन गृहले पत्रकार, कर्मचारी र मजदुरलाई पूर्वजानकारीविनै निष्कासन गरिएकोले पत्रकार महासंघले समस्या समाधान गर्न पटकपटक आग्रह गरिसकेको बताएको छ।
महासंघका महासचिव रमेश बिष्टका अनुसार विभिन्न प्रकाशन गृह गरी १२ वटा प्रकाशन गृहमा पारिश्रमिक नदिने र कर्मचारी निकालिएका घटनाबारे महासंघको जानकारीमा छ।
‘केही सञ्चार गृहमा समस्या समाधान भएका पनि छन्। तर केहीमा भने दबाबमूलक कार्यक्रम गर्दा पनि समस्या समाधान भएन। यसबारे महासंघले प्रेस रजिष्ट्रार कार्यालयमा जानकारी गराइएको भए पनि कुरा मिलेन। अब श्रम अदालतमा मुद्दा हाल्ने तयारी छ,’ महासचिव बिष्टले भने।
समस्या समाधान नभएपछि श्रमजीवी पत्रकारहरूको सहभागितामा गत साउन १९ गते बबहरमहलमा पत्रकार महासंघको नेतृत्वमा प्रदर्शन पनि भएको थियो ।
नागरिक दैनिकले भने पत्रकारहरूलाई लकडाउन सुरू भएपछि ओर्क फर्म होम राखेको र असारदेखि काममा बोलाए पनि नआएकोले केही समस्या देखा परेको बताएको छ ।
नागरिकको व्यवस्थापनले भने पत्रकार, मजदुर र कर्मचारीलाई चैत, वैशाख, जेठ महिना वर्क फ्रम होममा राखिएको तर असारमा काममा बोलाउँदा उनीहरू नआएपछि समस्या उत्पन्न भएको बताएको छ। समस्या समाधानका लागि छलफल गर्दैछौं।’ असारसम्मको तलब पनि केही दिनअघि दिइसकेको व्यवस्थापनको दाबी छ ।
प्रकाशन गृहका प्रबन्ध निर्देशक विनोदराज ज्ञवाली भने आफूलाई सत्याग्रहबारे जानकारी नभएको भन्दै समस्या हल गर्ने विषयमा पञ्छिएकाले उनकै कारण समस्या जटिल बन्ने खत्तरा रहेको आन्दोलनमा सहभागी नागरिककर्मीहरुले बताए ।