भिम राई (माक्पाली कान्छा) | समाज | चैत १६, २०७५
आकाश छोएर
गयो चीलगाडी
बोकेर गयो
उसले हजार सपनाहरु
लिएर भारी मन
प्रस्थान कक्षमा
आँशु पुछ्दै बसेकी प्रिया
के देख्दि हुन
चिलगाडीमा
छुट्ने बेलामा
आँशुको तप्केनीसँगै
गोजीमा राखिदिएकी रूमाल
आकाशमा उसले
छाम्यो कि छामेन
मनमा उठेका
बग्रेल्ती तर्कनाहरु
आँशुको ढिकमा
झार्यो कि झारेन होला
आकाशमा उड्यो
आकाशमै विलायो
क्षितिज भन्दा पर
मनले बाहेक
आँखाले देख्दैन
के खायो होला
के लायो होला
बोकेको छ जिम्मेवारी
उठाएको छ कदम
सम्झेको छ दायीत्व
कर्तव्य छ
जहान छोराछोरी प्रति
दुःखपछि आउने सुख
पठाएको हो चिनो
देब्रेछातीमा हुन्छ मुटु
मुटुसँगै बस्ने गरि
कोटको भित्रपट्टीको गोजीमा
राखि दिएकी रुमाल
रंग मन पराएर होईन
आकार देखेर
लोभिएकी हुँदै हैन
साँचिएको थियो
अभिलाषा
पोका परिएको थियो
सपना
आयो चिलगाडी
आकाशको उही बाटो भएर
लिएर आयो
बाकसमा
कैद भएका सपना
थिएन रुमाल
फिक्का भईसकेको थियो
नबोल्ने त्यो
चोला
उस्तै थियो
चिलगाडी
उस्तै थियो
त्यो रहर
फगत
कफनमा सुतेका थियो
सबै सपनाहरु