चुरोट पिउनु रक्सीको तुलनामा बढी हानीकारक

चुरोट पिउनु रक्सीको तुलनामा बढी हानीकारक

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत १६, २०७५

रक्सी पिउने र चुरोट पिउनेबीच सँधै एउटा बहसले प्राथमिकता पाउँछ, रक्सी र चुरोटमा कुन धेरै हानीकारक ? रक्सी पिउनेलाई लाग्छ चुरोट धेरै, अनि चुरोट पिउनेलाई लाग्छ रक्सी । 

बिबिसि नेपाली सेवाबाट साभार यस लेखका अनुसार, ब्रिटेनको सेन्टर फर टोबाको एन्ड अल्कोहल स्टडिजका निर्देशक एवं नटिङ्गम विश्वविद्यालयका प्राध्यापक जन ब्रिटन भन्छन्, ‘अध्ययनका अनुसार चुरोट पिउनु रक्सीको तुलनामा बढी हानीकारक छ । अन्य रोगको कुरा गर्ने हो भने त चुरोट रक्सीभन्दा धेरै नै खतरनाक छ । यदि चुरोट पिउनेहरू आफ्नो स्वास्थ्यप्रति चिन्तित छन् भने उनीहरुका लागि सबैभन्दा राम्रो भनेकै चुरोट पिउन छाड्नु हो ।’ उनी भन्छन, ‘मान्छेहरू खतराको तुलना गरेर चुरोट वा रक्सीको चयन गर्छन् ।’

ब्रिटेनमा भएको एउटा अनुसन्धानले एक सातामा ७५० मिलिलिटर रक्सी पिउँदा सोही अवधिमा महिलाले १० र पुरूषले ५ वटा चुरोट पिउँदा बराबरकै क्यान्सरको खतरा उत्पन्न हुने देखाएको छ ।
ब्रिटेनका अनुसन्धानकर्ताहरूले भनेका छन्, ‘यो कम रक्सी पिउँछु भन्नेहरूलाई जागरूक गर्ने एउटा उपयुक्त तरिका हो ।’

विशेषज्ञहरूका अनुसार अधिकांश रक्सी पिउनेहरूका लागि रक्सीका तुलनामा चुरोट पिउनु धेरै खतरनाक हुनसक्ने र त्यसबाट क्यान्सर लाग्न सक्ने खतरा बढ्ता रहन्छ । र, त्यस्तो जोखिमलाई कम गर्ने एउटा मात्र तरिका भनेको चुरोटलाई पूर्णरूपमा त्याग्नु हो ।

एकजना महिला वा पुरुषले एक सातामा १४ युनिटभन्दा बढी रक्सी पिउनु उपयुक्त हुँदैन। यो भनेको लगभग साढे तीन लिटर बियर वा ६ गिलास जति वाइन बाराबर हो ।
उक्त अनुसन्धानमा कसैको स्वास्थ्य खतरमा रहेको छ भने रक्सी पिउने कुनै मात्रा तय गर्नु ठीक नहुने उल्लेख छ।
अनुसन्धानले कम रक्सी पिउनेमा पनि क्यान्सरको खतरा रहने देखाएको छ ।

‘बीएमसी पब्लिक हेल्थ’को एउटा लेखमा अनुसन्धानकर्ताहरूले भनेका छन्, ‘यदि चुरोट नपिउने १ हजार पुरुष वा १ हजार महिलाले एक सातामा एक बोतल रक्सी पिए भने लगभग १० जना भन्दा बढी पुरूष र १४ जना भन्दा बढी महिलालाई उनीहरूको जीवनकालमा क्यान्सरको खतरा बढाइदिन्छ ।’ 

रक्सी पिउने महिलामा स्तन र पुरुषमा पेट तथा कलेजोको क्यान्सरको खतरा बढी हुनसक्छ ।

उक्त अनुसन्धानमा सहभागी अनुसन्धानकर्ताहरूले ‘क्यान्सर रिसर्च यूके’को क्यान्सरको खतरामा आधारित तथ्याङ्कहरूको प्रयोग गरेका हुन् ।

त्यसका साथै उनीहरूले सुर्ती र रक्सीका कारण हुने क्यान्सर रोगीहरूको तथ्याङ्कको पनि अध्ययन गरेका थिए ।

स्तन क्यान्सरको अनुसन्धान गर्ने डा. मिनौक सोमेकरले भने, ‘अनुसन्धानले रोचक कुराहरू अगाडि ल्याएको छ तर त्यसको तस्बिर स्पष्ट छैन ।’

अध्ययनमा क्यान्सरका बारेमा मात्र चर्चा गरिएको छ । तर अन्य खाले रोगबारे चर्चा छैन । चुरोट पिउनेहरूलाई मुटु तथा फोक्सो सम्बन्धी रोगहरू धेरै लाग्ने मानिन्छ ।