लोकसंवाद संवाददाता | समाचार | असोज ०७, २०७७
नेपाल पत्रकार महासंघ प्रदेश १ समितिले कोरोना भाइरसको महामारीको समयमा जोखिम मोलेर आफ्नो भूमिका निर्वाह गरिरहेका पत्रकारलाई सञ्चार गृहले नियमित पारिश्रमिक नदिनु, न्युन पारिश्रमिक दिनु, बेतलबी बिदामा राख्नु र कामबाटै निकाल्नु गैरकानुनी र आपत्तीजनक भएको जनाएको छ ।
समितिले विज्ञप्ति जारी गर्दै नेपाल रिपब्लिक मिडियाद्वारा प्रकाशित नागरिक दैनिकले नियमित पारिश्रमिक नदिएको तथा पूर्वजानकारीविनै जागिरबाट निकालेको विरोधमा प्रदेश १ अन्तर्गत पत्रकार महासंघ सुनसरीका सदस्यसमेत रहेका सुविद गुरागाईको नेतृत्वमा सोमबारदेखि शुरु भएको सत्याग्रहप्रति महासंघ प्रदेश समितिले ऐक्यबद्धता जनाएको छ ।
पत्रकार गुरागाईलाई इमेल पठाएर बन्दाबन्दीको समयमा जागिरबाट हटाइएको थियो । सो मिडियामा आबद्ध प्रदेश १ मा कार्यरत अधिकांश पत्रकारले पछिल्लो समयमा नियमित पारिश्रमिक पाएका छैनन् ।
समितिका महासचिव विवेक गौतमले सहज अवस्थामा मिडियाको हैसियत वृद्धि हुँदा त्यसको फाइदा सबै सञ्चालकले लिने र महामारीमा श्रमजीवी पत्रकारलाई पारिश्रमिक नदिने तथा कामबाट हटाउने कार्य तत्काल बन्द गर्न माग गरेका छन् ।