चीनले लुकाछिपी, भारतले खुल्लमखुल्ला

चीनले लुकाछिपी, भारतले खुल्लमखुल्ला

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत १६, २०७५

भारतले बुधवार २७ मार्चका दिन ‘एन्टी स्याटेलाइट मिसाइल’को सफलतापूर्वक परीक्षण गर्‍यो । यस परीक्षणमा पृथ्वीदेखि ३०० किमि माथि ‘लो अर्थ अर्बिट’मा झण्डै २७ हजार किमि प्रति घण्टाले घुमिरहेको एउटा ‘स्याटेलाइट’लाई पुथ्वीबाट प्रहार गरिएको मिसाइलले ध्वस्त बनाइएको थियो । भारत यस्तो सामरिक क्षमता सम्पन्न चौथो देश बन्न पुग्यो । 

काठमाडौं । राष्ट्रका नाममा सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतका वैज्ञानिकले ‘स्याटेलाइट’ ध्वस्त गरेको जानकारी विश्व सामु राखे । 

यसभन्दा झण्डै १२ वर्ष पहिला सन् २००७ मा चीनले पनि यस्तो उपलब्धि हासिल गरेर रुस र अमेरिकापछि आफूलाई अन्तरिक्षको तेस्रो महाशक्तिका रुपमा स्थापित गरेको थियो । 

पृथ्वीको सतहदेखि २ हजार किमि माथि सम्मको आकाशलाई ‘लो अर्थ अर्बिट’ भनिन्छ । चीनले ८०० किमि माथि घुमी रहेको ‘स्याटेलाइट’लाई निशाना बनाएको थियो, भारतले भने ३०० किमि माथि घुमी रहेको ‘स्याटेलाइट’लाई प्रहार गरेको छ । 

चीनले ‘स्याटेलाइट’लाई ध्वस्त बनाएको समाचार गोप्य राखेको थियो । पछि अमेरिका लगायत विश्वका अनेकौं राष्ट्रले चीनको यस कार्यप्रति कडा आपत्ति जनाएका थिए । 

पृथ्वीमाथिको आकाशमा ‘स्याटेलाइट’ प्रायः तीनवटा ‘अर्बिट’मा स्थापित गर्ने गरिन्छन् । ‘लो अर्थ अर्बिट’ यो भूमिदेखि २००० किमि सम्मको क्षेत्र हो । २००० किमि देखि ३५७८६ किमि सम्मको उचाइलाई ‘मिडियम अर्थ अर्बिट’ भनिन्छ । र यसभन्दा माथिको क्षेत्रलाई ‘हाई अर्थ अर्बिट’ भनिन्छ । 

विभिन्न गतिविधिका लागि पठाइएका ‘स्याटेलाइट’लाई यिनै कक्षमा स्थापित गरिन्छ । पृथ्वीदेखि ८१ किमि माथिको क्षेत्रलाई अन्तरिक्ष मान्ने गरिन्छ । अन्तरिक्षमा घुमीरहेको ‘स्याटेलाइट’लाई निशाना बनाउने कार्य सबैभन्दा पहिला रुसले सन् १९८५मा गरेको थियो ।