स्वतन्त्र भारतको पहिलो मतदाता, जसका लागि रेड कार्पेट ओच्छ्याइन्छ

स्वतन्त्र भारतको पहिलो मतदाता, जसका लागि रेड कार्पेट ओच्छ्याइन्छ

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत १६, २०७५

भारतमा पहिलो आम निर्वाचन १९५२ मा सम्पन्न भएको थियो । तर स्वतन्त्र भारतको पहिलो मतदाताले भने १९५१ मै मतदान गरिसकेका थिए । पहिलो मतदाता श्यामशरण नेगीले पहिलो चुनावदेखि अहिलेसम्म मतदान गर्दै आएका छन् । 

काठमाडौं । लोकतन्त्रमा मतदान गर्नु अधिकार मात्र होइन, एक किसिमले सामाजिक र राजनीतिक दायित्व पनि हो । 

विगत ६८ वर्षदेखि अनवरत रुपमा यो दायित्व निर्वाह गर्दै आएका छन भारतको हिमाचल प्रदेश राज्यका किन्नौरवासी १०२ वर्षीय श्यामशरण नेगी । 

१९५१ मा ३४ वर्षको उमेरमा पहिलोपटक भोट हाल्दा नेगीले सोचेका पनि थिएनन, उनको नाम स्वतन्त्र भारतको इतिहासमा पहिलो भोटरका रुपमा स्वर्णाक्षरले लेखिने छ । हुन त सम्पूर्ण भारतवासीलाई यो कुरा सन २००७ मा मात्र थाहा हुन आयो कि नेगी नै देशको पहिलो मतदाता हुन । 

भारतमा पहिलो आम निर्वाचन फेब्रुअरी १९५२ मा सम्पन्न भएको थियो । धेरै कम मानिसलाई थाहा होला, निर्वाचन आयोगले जनवरी, फेब्रुअरी महिनामा हुनसक्ने हिमपातलाई मध्येनजर गरि हिमाचल प्रदेशको पहाडी भेगमा निर्वाचन अक्टुवर १९५१ मै गराएको थियो । 

पहिलो निर्वाचनमा भोट हालेदेखि अहिलेसम्म प्रत्येक निर्वाचनमा नेगी सहभागी हुँदै आएका छन । उनले अहिलेसम्म लोकसभाको लागि १६ पटक र विधानसभाको लागि पन्ध्रपटक मतदान गरिसकेका छन । उनी २०१९ को निर्वाचनमा मतदान गर्न व्याग्रताका साथ प्रतिक्षा गरिरहेका छन । 

२००७ को जुलाई महिनामा भारतको निर्वाचन आयोगले स्वतन्त्र भारतको पहिलो मतदाताको खोजी गर्नुपूर्व नेगीलाई कसैले पनि चिन्दैनथ्यो । 

तर त्यसपछि नेगी ‘सेलीब्रेटी’ बन्न पुगे । भारतीय प्रशासनिक सेवाको अधिकारी मनीषा नन्दाले नेगीबारे खोज गरेकी थिइन ।  मनीषा नन्दा वर्तमानमा हिमाचल प्रदेशको अतिरिक्त मुख्यसचिव पदमा कार्यरत छिन ।

१ जुलाई १९१७ मा जन्मिएका नेगी सरकारी स्कुलका शिक्षक थिए । पहिलो निर्वाचनमा उनी मतदान कर्मचारीको रुपमा खटिएका पनि थिए ।  नेगीको बारेमा पत्ता लगाउने बारे मनीषा नन्दाले भनिन् ,‘हामीले चार महिनासम्म सबै रेकर्ड र फाइल खोतल्यौैं । निर्वाचन आयोग दिल्लीको मुख्यालयमा पनि खोजी गर्‍यौं । मेरो लागि यो खोज पीएचडी गर्नु सरह नै थियो ।’

२०१२ मा तत्कालीन म्ख्य चुनाव आयुक्त नवीन चावलाले किन्नौर जिल्लाको कल्पा गाउ स्थित नेगीको घरमा पुगी उनलाई सम्मानपत्र  प्रदान गरेका थिए ।

भारतमा भएको २०१४ को आम निर्वाचनमा गुगलले नेगीलाई फीचर गर्दै, प्लेज टु भोट कैम्पेन (उभिमनभ तय खयतभ अबmउबष्नल) भिडियो जारी गरेको थियो । उनको उक्त भिडियोले अमिताभ बच्चनको  भिडियो भन्दा बढी ‘भ्युज’ पाएको थियो । 

नेगीले मत हाल्ने बुथमा उनका लागि ‘रेड कार्पेट’ ओच्छयाएर स्वागत गरिन्छ । मुख्य चुनाव अधिकारीले  अघि आएर उनको स्वागत गर्छन ।