एक्काइस फरार अभियुक्त पक्राउ

एक्काइस फरार अभियुक्त पक्राउ

लोकसंवाद संवाददाता  |  अपराध  |  असोज १२, २०७७

बागलुङ । जिल्ला प्रहरी कार्यालय बागलुङले पछिल्लो समय फरार अभियुक्तलाई धमाधम पक्राउ गर्न थालेको छ । जिल्ला अदालत बागलुङबाट विभिन्न प्रकृतिको मुद्दाको फैसला भई कार्यान्वयन हुन बाँकी मुद्दाका लागि फरार अभियुक्त पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालय बागलुङले शनिबार र आइतबार मात्रै २१ जना फरार अभियुक्त पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजेन्द्र रेग्मीले जानकारी दिनुभयो । उहाँका अनुसार यसअघि प्रहरीले २० जना फरार अभियुक्तलाई पक्राउ गरी अदालतमा पेश गरेको छ ।  

शनिबार र आइतबार पक्राउ पर्नेमा आठ दिनदेखि २० वर्षसम्म कैद तोकिएका र  १०० देखि एक लाख २५ हजार रुपैयाँ जरिवाना तोकिएका व्यक्तिहरु रहेका छन् । बहुविवाह, लागुऔषध, गालीबेइज्जती, डाँका, सवारी ज्यान, जबरजस्ती करणी, सार्वजनिक अपराध, चोरी र जालसाजी अपराधमा दोषि प्रमाणित भई फरार रहेका उनीहरुलाई कैद भुक्तानका लागि पक्राउ गरी अदालतमा पेश गरिएको उहाँले जानकारी दिनुभयो ।