लोकसंवाद संवाददाता | समाचार | असोज १२, २०७७
दाङ । नेपाल सरकारले शहरी विकास भवन निर्माण विभाग डिभिजन कार्यालयमार्फत दाङको घोराहीमा ठूलो लगानीमा बहुद्देश्यीय सभागृह निर्माणको काम अन्तिम चरणमा पुगेको छ । घोराही उपमहानगरपालिका–१४ नयाँबजारमा निर्माण सम्पन्न गर्न थालिएको सो सभागृह २६ करोड ७७ लाख १८ हजार ९०३ को लागतमा निर्माण हुन लागेको छ ।
सभागृह निर्माणको संयोजन उद्योग वाणिज्य सङ्घ दाङले गरिरहेको छ । निर्माणाधीन सो सभागृह निर्माणको आधा बढी काम सकिएको उद्योग वाणिज्य सङ्घका अध्यक्ष नारायण भुसालले जानकारी दिनुभयो । सभागृह निर्माणको जिम्मेवारी बङ्गलामुखी गौरी पार्वती जेभी ललितपुरले पाएको छ । बहुउद्देश्यीय सभागृह तीन तलाको बनाइएको छ भने एक हजार क्षमताको हल बनाइएको छ ।
उद्योग वाणिज्य सङ्घले विसं २०६९ को महोत्सवबाट ५१ लाख र २०७२ सालको महोत्सवबाट २४ लाख ९९ हजार रकम सङ्कलन गरेको थियो । सो रकम पनि सङ्घले नेपाल सरकारलाई सहयोग गर्दै सभागृहमा लगानी गरेको सङ्घका अध्यक्ष भुसालले जानकारी दिनुभयो । सभागृहको शिलान्यास विसं २०६९ मा भएपनि निर्माण विसं २०७५ को कात्तिक दोस्रो साताबाट शुरु भएको थियो । सभागृह ३० महिनामा सम्पन्न गर्ने सम्भौता भएको छ ।