कोटेश्वर–जडिबुटी सडक : तीन लेन थपिने, सवारी चाप कम हुने अपेक्षा

कोटेश्वर–जडिबुटी सडक : तीन लेन थपिने, सवारी चाप कम हुने अपेक्षा

लोकसंवाद संवाददाता  |  कारोबार  |  असोज १३, २०७७

काठमाडौँ ।  काठमाडौँ उपत्यकाको बढी सवारी चाप हुने कोटेश्वरदेखि जडिबुटीसम्म सडक विस्तारको तयारी अन्तिम चरणमा पुगेको  जानकारी दिइएकाे छ । हाल चार लेन रहेकामा तीन लेन थप्न संरचना हटाउने काम अघि बढाइएकाे छ । यो सडकमा तीन लेन थपिएपछि यहाँको सवारी चाप केही कम हुने अपेक्षा  राखिएको छ ।

डिभिजन सडक कार्यालय काठमाडौँले गत महिनादेखि सडकका दुबैतर्फको निर्माणस्थल खाली गरिरहेको डिभिजन प्रमुख कुबेर नेपालीले बताउनुभयो । सडक बनाउन अर्थ मन्त्रालयले बजेटको स्वीकृति दिइसकेको छ । उहाँले भन्नुभयो, 'साइट क्लियर हुनासाथ ठेक्का प्रक्रियामा जानेछौँ ।'

 देशभरका अधिकांश सडक निर्माणमा त्यहाँ रहेका पूर्वाधार हटाउँदै काम अघि बढाइएको छ । यहाँ भने सडकका संरचना हटिसकेपछि ठेक्का सम्झौता गरिनेछ । छ महिनामा सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरिनेछ । उहाँले भन्नुभयो, 'संरचना हटिसकेपछि त्यति समयमा निर्माण सकिनेछ ।'

 कोटेश्वरबाट जडिबुटितर्फ लाग्दा देब्रे ९उत्तर० तर्फ एक लेन र दाहिने ९दक्षिण० तर्फ दुई लेन थप्ने गरी निर्माणस्थल खाली भइरहेको छ । विमानस्थलको सुरक्षालाई ध्यान दिइएको छ । बाहिरी बारलाई पहिले स्थानान्तरण गरिसकेपछि मात्रै अहिलेको बार भत्काइएको हो । विमानस्थलले सडक चौडा गर्न सहमति दिएसँगै सडक विस्तारलाई बाटो खुलेको हो ।

अहिले उत्तरतर्फको एउटा घरका कारण निर्माणस्थल खाली हुन नसक्ने देखिएकोले घरधनीसँग कुरा भईरहेको र सहमतिमा आएर जग्गा उपलब्ध गराउनेतर्फ प्रयास भईरहेको छ । सो सडक बनाउन केही साता भित्रै ठेक्का सम्झौता हुने प्रमुख नेपालीेले जानकारी दिनुभयो । दशैँ पहिले सम्झौता भए दशैँ–तिहार पछि निर्माण शुरु गर्ने तयारी छ । सडक निर्माणको केही समयमा भत्काउन नपरोस भनी सडकमा बिच्छयाउने संरचना पहिले नै राखिनेछ ।

यसका लागि विद्युत प्राधिकरण, नेपाल टेलिकमलगायतका सेवा प्रदायक संस्थासँग समन्वय भइरहको छ । उहाँले भन्नुभयो, 'उहाँहरु सबै संरचना जमिनमुनि राखेर सडक बनाउन सहमत हुनुहुन्छ ।' सडक निर्माणसँगै सो स्थानमा अपाङ्गतामैत्री सहितको पैदलयात्रुमार्ग र हरीयाली क्षेत्र हुनेछ । त्यसपछि जडिबुटिबाट आएका सवारीसाधन कोटेश्वर हुँदै बालकुमारीतर्फ र कोटेश्वरबाट आएका जडिबुटि हुँदै पेप्सीकोलातर्फ जान रोकिने छैनन् ।

चोक नै पार गर्नुपर्दा केही समय रोकिएपनि चोक पार नगर्ने सवारी भने राकिने छैनन् । सो सडक आगामी दिनमा मनोहरा पुलसम्म विस्तार गर्ने योजना छ । सामान्य अवस्थामा यो सडकमा लामो समयसम्म जाम हुँदा यात्रु र सवारीचालक हैरान थिए । तीनकुनेबाट लोकन्थलीसम्म नै जाम हुँदा नागरिकलाई केही किमी यात्रा गर्न घण्टौँ लाग्ने गरेको थियो ।

अहिलेको सडक विस्तार अल्पकालीन समाधान भएपनि दीर्घकालीन रुपमा यसको समाधान ‘फ्लाई ओभर’ नै भएको सडक विभागले बताउँदै आएको छ । यी संरचना बन्न अझै केही वर्ष लाग्नेछ । तीनकुने–सूर्यविनायक सडक विस्तार गरेको जापान अन्तर्राष्ट्रिय सहयोग नियोग९जाइका० ले सो स्थानमा ‘फ्लाई ओभर’ वा ‘अण्डर पास’ निर्माणका लागि अध्ययन गरिसकेको छ ।