गोविन्द बस्नेत | साहित्य | असोज १७, २०७७
पूर्वी फाँटैमा सुन्दर अरुण नदी, बग्दछिन् सलल ।
म हुँ तिम्रो भोजपुर अब म त, बन्दै छु झलमल ।।
दक्षिणतिर दुधकोसी बग्दै, नाम लिन्छिन् मेरै ।
उत्तर त सिरानी हो मेरो, सिलिचुङ त शिरै ।।
निश्चल बनी पहरेदार गरेको छ, ट्याम्केले उभिएर ।
म त तिम्रै जन्मभूमि हुँ भोजपुर, मलाई चुमी हेर ।।
लालीगुराँस, सुनखरी र बुकी फूल फुलाउने ।
मैयुङ, सेल्मे र साउने हो मेरै छाती, चौरीगाई डुलाउने ।।
निर्मल जल बोकी उँभोतिर, बग्दैछिन् चिर्खुवा र इर्खुवा ।
मेरै छातीमाथि बग्दैछिन् हेर तिमी, तलतिर पिखुवा ।।
नामै मेरो सुवासित बनेको छ यहाँ, हतुवागढी भनी ।
राखेको छु मेरै काखमा सँगै, मेरै घोरेटार पनि ।।
दिङ्ला त मेरो पवित्र भूमि, त्यहीँ षडानन्द देखिए ।
सिद्घयोगी आवाल ब्रह्मचारी भनी, इतिहासमा लेखिए ।।
नारदमुनि थुलुङ जन्मे यहीँ, जन्मिए देवान, रामप्रसाद राई ।
योद्घा जन्माउने भूमि हो भनी, चिनिन्छ भोजपुरलाई ।।
नागी, फाँट र लेकबेँसीहरू छन्, यहाँ मनै डुलाउने ।
भाषा, धर्म र संस्कृतिहरू छन् धेरै, मनै बुझाउने ।।
भोजपुरे हौँ सबै हामी यसको, भाग्य बनाउने ।
यो जन्म थलो हो मेरो भोजपुर, धेरै स्रष्टा जन्मायो ।।
साल्पा छिन् बसेकी माथितिर, बनेर हाम्रो आस्था ।
जन्माउनु पर्छ भोजपुरले नारीहरू पनि अब, योगमाया जस्ता ।।
चैत्य गुम्बा र मठ–मन्दिरहरू छन् साझा, हामीले फुट्न हुन्न ।
उठ्नु पर्छ जुर्मुराई भोजपुरले अब, सुतेर बस्न हुन्न ।।
भोजपुर । हालः जोरापटी, काठमाडौँ