नरेश नाति | साहित्य | असोज १७, २०७७
एक
कहाँ तिम्रो संसार कहाँ मेरो संसार
जिउने हाम्रो जिन्दगी उस्तै नै कहाँ छ र ।
तिमी माथि आकाशमा उडी हिँड्ने चरी
मेरो जीवन बतासमा पात उडे सरी
तिम्रो जीवन फूलबारीमा फूल फुले सरी
म त सधैँ बगरमा ढुंगा लडे सरी ।
तिमी सधैँ उज्यालोमा खुशी रोज्दै हिँड्ने
मेरो जीवन अँध्यारोमा बाटो खोज्दैै हिँड्ने
तिमी मनको चाहनामा जून रोजी हिँड्छौ
म त सधैँ पीरैपीरमा ब्यथा बोकी हिँड्छु ।
दुई
कति हाँस्नु भित्र रुँदै दुनियाँको नजरमा
असह्य भो जिउन मलाई दुःखको यो संसारमा ।
किन होला हाँस्नु पर्ने सुख पाए जस्तो
सबै कुरा पूरा भई खुशी छाए जस्तो
कति बोल्नु झूठो कुरा दुनियाँको नजरमा
असह्य भो जीउन मलाई, दुखिया यो संसारमा ।
बेइजती पो हुने हो कि नलुकाए दुःख
लुकाएर आफ्नो दुःख कहाँ हुन्छ सुख
कति छेक्नु मनको पीर दुनियाँको नजरमा
असह्य भो जिउन मलाई, दुःखको यो संसारमा ।