रविकुमार श्रेष्ठ | साहित्य | असोज १७, २०७७
म मौनतामा अल्झिरहेछु
बाँच्ने अभिलाषा बोकी
निराशाको बादललाई हटाई
आशाको किरण प्रस्फुटन गर्न
म आफैँमा हराइरहेछु ।
म एकान्तमा छटपटाइरहेछु
स्वतन्त्रताको आभाष पाउन
मानसिक पीडाको बेवास्ता गरी
स्वतन्त्रता खोज्न म आफैभित्र
भोल्तेयेर र रुसोलाई खोजिरहेछु ।
म शब्दहरूमा हराइरहेछु
अर्थ पाउने आशमा
अर्थको अर्थ बुझ्न
म भाषाको गहिराइभित्र डुबिरहेछु
म होमर र भर्जिल पढिरहेछु
व्यास र वाल्मीकिलाई बुझ्न
देवकोटाको मुनामदन पढ्दै
कालिदासको मेघदुत बुझ्न
म हरपल साहित्य पढिरहेछु ।
म मोतीराम र भानुभक्तलाई खोजिरहेछु
नवयुग कविहरूका लेखहरूमा
मौलिकता मौलाएको युगमा
प्रत्येक व्यक्तिमा अन्तर्निहित व्यक्तित्व बुझ्न
म पहिले आफै
आफ्नो व्यक्तित्वको अध्यनमा लिन भैरहेछु
म आकाशगंगाको अवलोकन गरिरहेछु
शून्यतामा
अथाह ब्रह्माण्डको घेराहीन घेरामा
आफ्नो अस्तित्व खोज्न
म गन्तव्यहीन गन्तव्यतिर बढिरहेछु ।