स्कुल बङ्कको कहर : मनमा डँडेलो लगाइरह्यो, म जलिरहेँ

स्कुल बङ्कको कहर :  मनमा डँडेलो लगाइरह्यो, म जलिरहेँ

रूपक अलङ्कार  |  साहित्य  |  असोज १७, २०७७

स्कुल बङ्क हान्न त हजुरबाले सिकाउनु भयो । खेत र स्कुल सँगसँगै थियो । खेत खन्दाखन्दै पानी मर्‍यो भने हजुरबा खेतबाटै कराउनु हुन्थ्यो, 'ए देवराज त्यो हाम्रो नातीलाई पठाइदे त याँ पानी मर्‍यो ।' त्यस दिनलाई मेरो छुट्टी । यस्ता औसर वर्षभरि धेरै आउँथे । मकै छर्ने दिन सियो हाल्न, रोपाइँको दिन बिउ बँड्न, बिटा लाउने दिन खाने पानी बोक्न म स्कुल बंक हान्थेँ । एक दिन स्कुल नजानु वा एक दुई पिरेड नपढ्नुलाई कहिल्यै पनि महत्त्वका दृष्टिले हेरेको छैन मैले । ठुलागाउँ पिपला बोटको श्री सेतीदेवी प्राथमिक विद्यालयमा कक्षा तिनसम्मको अध्ययन सौहार्द ढंगमा पूरा गरेपछि श्री मच्छिन्द्र माध्यमिक विद्यालय खानिखोलामा कक्षा चारमा भर्ना भएँ ।

विद्यालयको पाँच मिनेटको दुरी बढेर चालिस मिनेट पुग्यो । विद्यार्थी संख्या पनि पच्चिसबाट बढेर पन्ध्र सय पुग्यो । हरेक चिजले आकार बढाए तर हजुरबाको आज्ञा सुनेर छुट्टी मिल्ने औसर भने हराएर गयो । सबै स्कुलका मास्टरले हजुरबाले भनेको मान्दैनन् भन्ने पनि थाहा भयो । यस्तो कुराको कुनै चिन्ता थिएन किन भने स्कुल मात्र ठुलो थिएन । खेल्ने, उफ्रने, बराल्लिने र मनलाग्दी गर्ने ठाउँ पनि ठुलै फेला परेको थियो । पढ्ने कुरा कहिले पो टाउको दुखाइको विषय थियो र ? साठी सत्तरी जनाको कक्षामा हामीजस्तो पान्दुरेलाई पुछोस् कसले ?

आकाशे रंगको सर्ट र निलो पाइटमा हात्ती छाप चप्पल पड्काउँदै नौबिसे बजार ओर्लिएपछि अर्कै संसार सुरु हुन्थ्यो । संसारबाट काठमाडौँ छिर्ने सडक । अनेकौँ रंग र आकृतिका मटरहरू । मटरमा सबार सामान र मान्छेहरू । आफुजस्तै बच्चो खलासी भएर केटीलाई आँखा झिम्क्याउँदै जान्छ ,कसरी सहनु ? हामीले उसको गाडीलाई हेर्दा नि उसकै भाषामा गाली गर्छ । केटीलाई भने 'जानी हो ?' भनेर सोध्छ । कम्ती रिस उठ्ने हो र ? पढ्न जाने त नामर्दले हो भनेजस्तो गर्छ त ए ।

केही महिनामै सडकको गीत जानियो । मकालु यातायात, अग्नि यातायात, बाबा यातायातजस्ता  बस कहिले आउँछन् ? कुन होटलमा रोक्छन् ? जस्ता तथ्यांक त कन्ठै भए । कतिको त नम्बर पनि याद गरियो ।  कुन ढुंगे गाडीको ड्राइभर कहाँको दादा (डन भन्ने चलन त्यतिबेला थिएन )  हो भन्ने पनि जानियो । कुन ड्राइभरसित स्कुलको केटी पल्केकी छे भन्ने कथा समेत हाम्रा कानमा परे । केटी जिस्काउनु पर्छ भन्ने पनि जानियो । अहिले ऐनामा आफ्नै मुख हेरेर हांसो उठ्छ ।

केटाहरू हिँडेर स्कुल जानुहुन्न भन्ने पनि थाहा भयो ।केटाहरू किसिम किसिमले चलिरहेको गाडीमा झुन्डिन्थे र त्यस्तै सानका साथ सडकमा हाम्फाल्थे पनि । आफ्नै कक्षाका भुरा पनि गाडीको सांग्लो समातेर गाडीमा उक्लिन्थे । स्कुलको गेट अगाडि पुगेर ओर्लिन्थे । मजस्ता निर्दो मान्छेलाई बडो उपेक्षाले हेर्थे म उनीहरूलाई आरिसे भएर हेर्थेँ । गाडीमा झुन्डेर चढ्ने प्रयास मैले नगरेको हैन । केही दिन सांग्लोमै झुन्डेरै नौबिसेदेखि खानीखोला पुगेँ । अरूले तानेर चढ्न सक्ने भए तापनि ओर्लिन जानिएन । एक चोटि स्कुल नपुग्दैबाट ओर्लिन सुरु गर्दा पनि हाम्फाल्ने आँट नआएर बाहुन डाँडा पुगेर गाडी जाम परेपछि ओर्लेर एक किलोमीटर हिँडेर फर्किनु पर्‍यो । एकपटक चप्पल पहिल्यै खस्यो । आफू ओर्लेर चप्पल खोज्दा खोज्दै हैरान हुनुपर्‍यो । एकपटक गाडीमै खुट्टा अड्केर झन्डै सँधैका लागि राम नाम सत्य भइएन । त्यसपछि भने चलिरहेको गाडीमा झुन्डिन छोडेँ भन्दा नि हुन्छ । अरूले गाडीबाट चोरेरे फालेकै अम्बा, खरबुजा खाइयो । पुन्टेले चोरेको मार्बल त फुटाएर भाग लाएर घरसम्म पनि पुर्‍याइयो । कटरदेखि कोइलासम्म केही छोडिएन । तर गाडीमा झुन्डिने हिम्मतले भने मलाई छोडेको थियो ।

विद्यार्थीहरू हड्ताल गरेर आधा दिनमै स्कुल बन्दा गराउन पनि सक्थे । हड्ताल भइरहोस् भनेर हामी कामना पनि गर्थ्यौँ । र त्यस्ता दिनमा डुँडेको दह या सिमको दहको आनन्दमा डुब्थ्यौँ दिनभरि । जति प्रयास गरे पनि गाडीमा झुन्डिन नजाने झैँ पौडी खेल्न पनि मैले जानिनँ । तर पनि साथीहरूको साथ र संगत त कहिल्यै पनि छोडिनँ । 

अहिले बंक हान्ने चलन आए तापनि उहिले भाग्ने चलन थियो ।  जसरी कर्णकान्त (कर्ण )सरको गणित चेक गर्ने दिन निश्चित हुन्थ्यो त्यसरी नै हाम्रो भाग्ने दिन पनि निश्चित नै हुन्थ्यो । नत्र कानको जरुबुटा बाँकी नरहने । कसैको सारूँ न त भन्दा मेरो सम्पर्कमा जान्ने साथी थिएनन् पनि । कर्ण सरको पिरेट छोडेर भागियो । स्कुल गेटमा म, माइलो र निगाले (निगाले भिरबाट आउने भएकाले) चितुवा उभियौँ ।  हामीसित भाग्ने योजना मात्र थियो । कहाँ जाने भन्ने योजना थिएन । मध्य दिनमै घर पुग्नु त झन खतरापूर्ण हुनसक्थ्यो ।

संयोगबस एउटा ढुंगे ट्रक स्कुल अगाडि अडियो । हामी गाडीको ढाला समातेर उक्लिहाल्यौँ । दुइचार जना पहिल्यै पनि थिए । हामीलाई कसले मतलब गरोस् । नौबिसे सम्म कतै न कतै रोकिहाल्छ त्यसपछि लुक्नलाई सिमको दह छँदै छ । यति सोचेर हामी ढुक्क भयौँ । तर नौबिसे कट्दा नि गाडी रोकिएन । उकालो लागेको गाडीमा पो उक्लिन ओर्लिन सजिलो हुन्छ । ओरालोमा त मर्न पनि सकिन्छ । सँएलेको पिप्लाबोटमुनि कर तिर्न त रोकिहाल्छ त्यहाँ ओर्लिनुपर्छ भन्ने विचार आउनाले हाम्रो मन अलिक शान्त भयो ।

सोचेजस्तो किन हुन्थ्यो र ? कर तिर्ने ठाउँमा अरू गाडी थिएनन् । खलासीले झ्यालबाटै पैसा तिर्‍यो । गाडी सास नफेरी दौडिहाल्यो । गाडी जति दौडिन्थ्यो हाम्रो मनको छट्पटी उति नै दौडिन्थ्यो । धार्के कट्यो । जुँगे खोला कट्यो । गाडी रोकिएन । त्यतिबेलासम्म हामी करायौँं । चिच्यायौँ । सिटी बजायौँ केही सिप लागेन । महादेवबेसी पुग्ने बेलामा त हाम्रो मुटु नै बाहिर आउलाजस्तो भयो तर आएन किन भने गाडी अगाडि नबढेर आगरा खोलातिर लाग्यो ।

मलाई अचम्म लाग्यो हजुरबाले कसरी थाहा पाउनुभयो । जम्मा तिन जनालाई थाहा छ । चितुवाले भन्दै हिँडेनहोला । माइलाको त हालतै खराब भएको छ ।' किन के भो र ?अलि ढिलो आको त हो नि यो ।' हजुरआमाले पानी छ्याप्नुभयो आगामा ।'अँ आउँछ ढिलो ? यो मादेबेसी पुगेको रेछ दिउसो । यो गाडीमा झुन्डेर आएछ । बास्देउको छोरो माइलो हिँडेर आएछ ।

खोलामा पुगेर हामी ओर्लियौँ । ड्रैभरले गाली गर्ला भनेर माछा मारेजस्तो गर्न थाल्यौँ । मनमा भने घर कसरी पुग्ने र गालीबाट बच्न के निहुँ बनाउने भन्ने पिर मात्र थियो । नौबिसे ओर्लिनु पर्ने मान्छे  दस किलोमिटर टाढा महादेवबेसी पुगेका थियौँ । स्कुल छुट्टी हुन अझै तिन घन्टा बाँकी थियो तर ठिक समयमा नौबिसे कसरी पुग्ने भन्नेमात्र समस्या थियो । 

नौबिसे खोलामा पौडी खेल्ने इच्छा आगरा खोलामा पुरा भयो । आगरा खोला कता कता रमाइलो पनि । गिट्टी कुट्नेहरूको कोलाहल । ढुंगा झिक्ने र फुटाउनेहरूको भिड । गाडीको घुइँचो । खोलाको बगर पनि कति रमाइलो । हाम्रो नैबिसे खोला पनि यस्तै भए कति रमाइलो हुन्थ्योहोला । यस्तो सोच मनमा आयो । हामीले यस विषयमा छ्लफल पनि गर्‍यौँ ।

खोलाको बिहार सकिएपछि हामी बजारमा उक्लियौँ । नौबिसे भन्दा नि महादेवबेसी बजार नयाँ र रमाइलो लाग्यो । त्यहाँ मादल र गुलेली पनि बेच्न राखेको देख्यौँ हामीले । निकै बेर पसाल अगाडि उभिएर हेरेपछि यत्तिको गुलेली आफैँले पनि बनाउन सक्ने निष्कर्ष निकाल्यौँ । मादलको भने सुर चढेन हामीलाई  ।

फर्किनलाई गाडी रोक्न थाल्यौँ । तर हामीजस्ता सिँगानेलाई कसले रोकोस् । लाख बिन्ती र प्रयासमा पनि गाडी नरोकिएपछि झुन्डिनुको विकल्प भएन । त्यसका लागि सकेसम्म उपयुक्त ठाउँ खोजेर तयार भयौँ । नौबिसेबाट मास्थिर लाग्दा झुन्डिनका लागि जुन सरलता थियो त्यस्तो गौँडो महादेवबेसी वरपर पाइएन । तैपनि हिम्मत हार्ने खालको मान्छे हामी थिएनौँ । प्रयत्न जारी राख्यौँ ।

गाडी यस्तो वेगले आउँथे कि झुन्डिएर चढ्न त के भेट्टाउन पनि धौ हुने । निकै बेरमा निगाले चितुवाले गाडी समायो म र माइलो पनि कुद्यौँ । चितुवा माथि चढिगयो । मैले बल्लतल्ल गाडी भेटेँ माइलाले गाडी पनि भेटेन । म माथि पुग्दा पनि माइलो दौडी नै रह्यो । तर गाडीको स्पिडसित माइलो हार्दै गयो । चितुवाले र मैले  गाडीबाट जति बोलाए पनि, जति हात दिए पनि माइलाको केही जोर चलेन । ऊ सडकमा किनारा लाग्यो । बिस्तारै छोपिँदै गयो ।  यसरी एउटा साथी गायब भयो । निगाले चितुवा खोलापारिको मान्छे थियो तर माइलो त मेरो चारै प्रहरको साथी थियो । ऊ छुट्दा मलाई चिन्ता पर्‍यो । त्योभन्दा बढी चिन्ता घरमा के भन्ने विषयमा पर्‍यो ।

गाडी जुँगेखोला आएर रोकियो । ड्राइभर खलासी चियापानीमा लागे । हामीलाई त भोकभन्दा नि माइलाको चिन्ता बढी थियो । भोक त घरबाट हिँडेर घरै नआइपुगुन्जेल कहिले पनि लाग्दैनथ्यो । लागे पनि झन भोक लागेर अगाडिको भोक मर्ने मात्रै हो ।

तलतिरबाट आउने गाडीमा माइलो आउँछ कि, हामीभन्दा नि अगाडि जान्छ कि भनेर आँखा नझिम्क्याइ हेर्दा पनि माइलो आएन ।अर्को गाडी पनि त्यहीँ आएर रोकियो । त्यसबाट दुइजना ओर्ले । तिनीहरूलाई महादेवबेसीमा हामीले देखेका थियौँ । तिनीहरू पनि गाडीमा झुन्डिन तम्सिरहेका थिए । तिनीहरू सिदै हामी छेउ आए । एउटाले भन्यो, 'तिमीहरूको साथी खोइ?'

'गाडी चढ्नै सकेन । आउँदैहोला ।' मैले भने । अर्कोले गम्भीर भएर भन्यो, 'आउन्न अब तिमर्को साथी । गाडीमा झुन्डिन खोज्दा सडकमा खस्यो । पछाडिको गडीले कच्यक्कै पारेर गिदी छ्यालब्याल पारिदियो । सँगै आएको मान्छेलाई छोड्ने हो ? पुलिसले तिमेर्लाई गोली हान्छ अब भेट्यो भने ।

अब मेरो मनमा ढ्यांग्रो बज्न मात्र हैन भुइँचालो नै जान थाल्यो । फर्केर जाँदा पनि पुलिसले गोली ठोक्ने, घर जाँदा पनि जिउँदै गाडिने । घनघोर दुबिधामा डुब्दै हामी नौबिसेतिरै लाग्यौँ । स्कुल छुट्टी हुने समय त यसै घर्किसकेको थियो । नौबिसे चोकमै हजुरबा भेटिनुहुन्छ त्यहीँबाट मेरो दुर्दशा सुरु हुन्छ भन्ने ठानेर तलै गाडीबाट हाम्फाल्यौँ । निगाले चितुवा भिगी बिल्ली भएर आफ्नो बाटो लाग्यो । म पनि कुलाको बाटो गाउँतिर लागेँ । बाटामा त्यस्ता डेन्जर मान्छे धन्न कोही भेटिएन । घर पुग्दा ढिलो आएको भनेर हजुरआमाले नरम गाली गर्नुभयो त्यसै पचाइदिएँ ।

माइलालाई गाडीले किचेको र ऊ छटपटिएर सडकमा पछारिएको सम्भावित दृश्यले मेरो मनमा डँढेलो लगाइरह्यो । म जलिरहेँ । साँझ हजुरबा आँगनको गौँडोदेखि नै जाग्दै आउनुभयो, 'काँ छ त्यो पापको हाँडी, पिचास मोरालाई स्कुल पठाएको मादेबेसी पुगेछ । गाडीमा झुन्डिदै हिँड्दा मर्‍यो भने के बुझाउने त्यस्की आमालाई मैले । भोलि नै घर पुर्‍यादिन्छु । जेसुकै गरून् ।'

मलाई अचम्म लाग्यो हजुरबाले कसरी थाहा पाउनुभयो । जम्मा तिन जनालाई थाहा छ । चितुवाले भन्दै हिँडेनहोला । माइलाको त हालतै खराब भएको छ ।' किन के भो र ?अलि ढिलो आको त हो नि यो ।' हजुरआमाले पानी छ्याप्नुभयो आगामा ।'अँ आउँछ ढिलो ? यो मादेबेसी पुगेको रेछ दिउसो । यो गाडीमा झुन्डेर आएछ । बास्देउको छोरो माइलो हिँडेर आएछ । रात परेपछि आइपुग्यो । यसरी मनलाग्दी गरेर हिँड्ने हो  ? '

धन्न प्रभु माइलो सिंगै आइपुगेछ । मलाई अरू गालीले असर गरेन । ज्यान यसै हलुका भएर आयो ।