प्रदेश ५ काे राजधानी र नामको प्रस्तावमा मतदान गर्ने नेकपाको निर्णय

प्रदेश ५ काे राजधानी र नामको प्रस्तावमा मतदान गर्ने नेकपाको निर्णय

लोकसंवाद संवाददाता  |  समाचार  |  असोज १८, २०७७

बुटवल । प्रदेश नं ५ सरकारले शुक्रबार प्रदेशसभामा प्रदेशको स्थायी राजधानी र नामाकरणको प्रस्तावका पक्षमा मतदान गर्न सत्तापक्षीय दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले ह्वीप जारी गर्ने निर्णय गरेको छ ।

मुख्यमन्त्री शङ्कर पोखरेलको सरकारी निवासमा शनिबार बसेको संसदीय दलको बैठकले सरकारका तर्फबाट शुक्रबार प्रदेशसभामा प्रस्तुत स्थायी राजधानी र नामाकरणको प्रस्तावमा मतदान हुँदा अनिवार्य उपस्थित हुन र प्रस्तावका पक्षमा मतदान गर्न ह्वीप जारी गर्ने निर्णय गरिएको नेकपा संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकालले जानकारी दिनुभयो । उहाँले कसैले पनि संसदीय दलको ह्वीपको उल्लङ्घन गरेमा पार्टी विधानबमोजिम कारवाही हुनेसमेत चेतावनी दिनुभएको छ ।

दलका सचेतक ढकालले पाल्पा, रुपन्देही र कपिलवस्तुका प्रदेशसभा सदस्यले कपिलवस्तुमा राजधानी हुनुपर्ने धारणासहित सरकारको तर्फबाट प्रस्ताव गरिएको विषयमा फरकमत राख्नुभएकोसमेत बताउनुभयो । उहाँले बैठकमा आएका फरकमतलाई संसदीय दलमा सङ्ग्रहणीय र सुरक्षित गर्ने र सबैले सरकारको प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय भएकोसमेत जानकारी दिनुभयो ।

प्रदेशसभा सदस्यले राखेका धारणााको जवाफमा पार्टी संसदीय दलका नेता तथा मुख्यमन्त्री शङ्कर पोखरेलले पार्टी निर्णयविपरीत नजान निर्देशन दिनुभयो । उहाँले सरकारले प्रदेशसभामा प्रस्तुत गरेको प्रस्तावप्रति असहमत रहेका प्रदेशसभा सदस्यका धारण आ–आफ्ना क्षेत्रका मतदाताप्रतिको जवाफदेहिताका कारणले आएकाले जायज रहेको बताउनुभयो । उहाँले सबै जिल्लाका मागको सम्बोधन गर्दा असजिलो भए पनि एउटा साझा धारणा बनाएर निर्णयमा जानुपर्ने बाध्यताले सरकारले अघि सारेको उक्त प्रस्तावको पक्षमा मतदान गर्न निर्देशन दिनुभयो ।

सरकारले प्रदेशको स्थायी राजधानी दाङको देउखुरी क्षेत्र र नाम लुम्बिनी राख्न प्रदेशसभामा प्रस्ताव पेश गरेको छ । प्रदेशसभाको शुक्रबारको बैठकमा प्रदेश सरकारका तर्फबाट आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीले यस्तो प्रस्ताव पेश गर्नुभएको हो । सरकारले दाङको राप्ती गाउँपालिका र गढवा गाउँपालिका तथा अर्घाखाँचीको सितगङ्गा नगरपालिकाले ओगटेको राप्ती नदीले चर्चेको किनारको भाग देउखरी उपत्यकालाई प्रदेशको स्थायी राजधानी बनाउन प्रस्ताव गर्नुभएको छ ।