लोकसंवाद संवाददाता | विदेश | असोज १९, २०७७
एजेन्सी । अफगानिस्तानको हेल्माण्ड प्रान्तका एकजना जिल्ला प्रमुखको बम हमला गरेर हत्या गरिएको समाचारमा जनाइएको छ ।आइतबार भएको सो बम हमलामा परी अफगानिस्तानको हेल्माण्ड प्रान्तका जिल्ला प्रमुख नाकिबुल्लाह रोशनको ज्यान गएको हो ।
हेल्माण्ड प्रान्तका प्रान्तीय गभर्नर ओमार जवाकले उक्त कुराको जानकारी गराउनुभएको छ । उहाँले तालिबानीहरुले गरेका बम आक्रमणमा परी उहाँको ज्यान गएको जानकारी दिनुभयो ।रोशन उक्त प्रान्तको लस्कर ए गाह जिल्लाका एक लोकप्रिय नेता पनि रहनुभएको जानकारी गराइएको छ ।
प्रान्तीय गभर्नर जवाकले उक्त जिल्लामा रहेका अर्का कानुनी अधिकारी पनि नराम्ररी घाइते भएको जानकारी यहाँका स्थानीय सञ्चारमाध्यमहरुलाई दिनुभएको छ ।पछिल्ला केही दिनहरुमा उक्त क्षेत्रमा तालिबानीहरुले बम हमलाका घटनाहरु गराइरहेका छन् ।
अफगान सरकार र तालिबानीहरुकाबीचमा कतारको दोहामा हालै वार्ता शुरु भएको बताइएको थियो । तर यता अफगानिस्तानमा भने तालिबानीहरुले भने हिंसात्मक हमलाहरु जारी नै राखेका छन् ।