लोकसंवाद संवाददाता | विदेश | असोज २१, २०७७
एजेन्सी । उत्तर कोरियाका एक वरिष्ट कुटनीतिज्ञ हाल दक्षिण कोरिया सरकारको संरक्षणमा दक्षिण कोरियामा रहेको एक सांसदले बताएका छन् । इटालीका लागि उत्तर कोरियाली ती कुटनीतिज्ञ सन् २०१८ को अन्त्यतिर इटालीबाट फरार भएका थिए ।
दक्षिण कोरियाली सांसदले सार्वजनिक गरेको तथ्य प्रमाणित भएमा उत्तर कोरिया परित्याग गर्ने जो सोङ गिल दोस्रो बरिष्ट अधिकारी हुनु हुनेछ । उहाँ इटालीका लागि उत्तर कोरियाली राजदूत हुनुहुन्थ्यो ।
यसअघि सन् १९९७ मा सत्तारुढ उत्तर कोरियाली वर्कर्स पार्टीका वरिष्ट अधिकारी ह्वाङ जाङ–योप उत्तर कोरिया परित्याग गरेर दक्षिण आइपुग्नु भएको थियो । ह्वाङ जाङ–योपले स्वर्गीय नेता किम जोङ–इललाई पढाउनु भएको थियो ।
दक्षिण कोरियाली गुप्तचर निकायले उत्तर कोरियाली कुटनीतिज्ञ जो नोभेम्बर २०१८ मा आफ्नी पत्निसहित रोम निवास छाड्नु भएको बताएको थियो । युरोपेली मुलुकभन्दा बाहिरको मुलुकमा उहाँ रहनु भएको पनि गुप्तचर प्रतिवेदनमा उल्लेख छ ।
दक्षिण कोरियाली नेसनल एसेम्ब्लीको गुप्तचर समितिका सदस्य समेत रहनु भएका सांसद हा ताए–केयुङले उत्तर कोरियाली कुटनीतिज्ञ जो सोङ गिल गत वर्ष दक्षिण कोरिया आइपुगेको बताउनु भएको छ ।
दक्षिण कोरियाली संचार माध्यमहरुले मंगलबार साँझ उत्तर कोरियाली कुटनीतिज्ञ दक्षिण कोरियामा रहेको समाचार प्रशारण गरेका थिए । सांसद हा ले कुटनीतिज्ञ जो को सुरक्षाका लागि थप विवरण दिन अस्वीकार गर्नुभयो ।
सांसद हा ले समाचारको स्रोतका बारेमा केही बताउनु भएको छैन । तर दक्षिण कोरियाको राष्ट्रिय अनुसन्धान विभागले नै विवरणहरु सांसदलाई बताएको अनुमान गरिएको छ । तर विभागले कुटनीतिज्ञको आगमनका बारेमा अध्ययन गरिरहेको बताएको छ ।
दक्षिण कोरियाको विदेश तथा एकीकरण मामिला मन्त्रालयले भने उक्त रिपोर्टको सत्यताका बारेमा केही बताएको छैन ।
कुटनीतिज्ञ जो सोङ गिलभन्दा अघि लन्डनस्थित राजदूतावासमा कार्यरत थाए योङ हो पनि दूतावास परित्याग गरी भाग्नु भएको थियो । उहाँ सन् २०१६ मा सियोल पुग्नु भएको थियो र यसैवर्ष संसदका लागि निर्वाचित हुनु भएको थियो ।
सन् १९९० को दशकयता उत्तर कोरिया परित्याग गरेर दक्षिण कोरिया आइपुगेकाहरुको संख्या करिब ३३ हजार पुगिसकेको छ । दक्षिण कोरिया आइपुगेकाहरुले उत्तर कोरियामा राजनीतिक दमन भएको र गरिबी अति ठूलो समस्या रहेको बताउँदै आएका छन् ।