मन्त्री ज्ञवालीद्वारा चिलिमे  एवं माथिल्लो त्रिशूली १ विद्युत्गृहको  निरीक्षण

मन्त्री ज्ञवालीद्वारा चिलिमे  एवं माथिल्लो त्रिशूली १  विद्युत्गृहको  निरीक्षण

लोकसंवाद संवाददाता  |  समाचार  |  असोज २३, २०७७

काठमाडाैं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले  दुई विद्युत्गृहको आज स्थलगत  निरीक्षण गर्नुभएको छ  । रसुवागढी सीमा क्षेत्रको भ्रमण गर्ने सिलसिलामा  मन्त्री ज्ञवालीले  स्याफ्रुबेँसीस्थित २२ मेगावाट क्षमताको चिलिमे  एवं  रसुवा र नुवाकोट जिल्लाको आधार इलाकामा गत वर्ष निर्मित ६० मेगावाट क्षमताको माथिल्लो त्रिशूली १ विद्युत्गृहको  अवलोकन गर्नुभएको हो ।

विसं २०६० देखि उत्पादन शुरू भएको चिलिमे एवं गत वर्षदेखि उत्पादित माथिल्लो त्रिशूली १ विद्युत्गृहको  अवलोकन गर्दै  उत्पादनका बारेमा  नेपाल सरकारका प्रवक्ताले जानकारी लिनुभएको रसुवाका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले बताउनुभयो ।

उहाँले यसै गरी गल्छी– रसुवागढी अन्तरराष्ट्रिय राजमार्गअन्तर्गत पर्ने  स्याफ्रुबेँसी,  मैलुङ र   वेत्रावती खण्डमा पर्ने  मार्गको समेत स्थलगत निरीक्षण गर्नुभएको थियो ।

भारी वर्षाका कारण अवरूद्व स्याफ्रु – मैलुङखण्डको  राजमार्ग मङ्गलबार साँझदेखि सञ्चालनमा आएपछि  नदी किनारबाट रसुवागढी जान सहज भएको सुरक्षा निकायले बताएको छ । दुई दिनको रसुवा भ्रमणपछि मन्त्री ज्ञवाली राजधानी प्रस्थान गर्नुभएको प्रहरी नायब उपरीक्षक  इन्द्रप्रसाद सुवेदीले बताउनुभयो ।