डिजे साउण्ड सिस्टम प्रयोगमा प्रतिबन्ध

डिजे साउण्ड सिस्टम प्रयोगमा प्रतिबन्ध

लोकसंवाद संवाददाता  |  समाज  |  असोज २३, २०७७

सर्लाही । जिल्लामा डिजे साउण्ड सिस्टम प्रयोगमा प्रतिबन्ध लगाइएको छ । जिल्लाभित्र हुने धार्मिक, सामाजिक, राजनीतिकलगायतका कार्यक्रममा प्रयोग गरिने डिजे साउण्ड सिस्टमले  चर्को ध्वनि प्रबाह हुनाका साथै ध्वनि प्रदुषण, स्वास्थ्य समस्या, शान्ति सुरक्षामा असर र सामाजिक सद्वाभावमा समेत असर पारेको भन्दै जिल्ला प्रहरी कार्यालयले आफ्नो क्षेत्रभित्र सो सिस्टम प्रयोगमा प्रतिबन्ध लगाएको हो ।

जिल्ला सुरक्षा समिति, जिल्लास्तरीय सर्वदलीय र सर्वपक्षीय बैठक तथा स्थानीय तहका प्रमुखहरुको संयुक्त बैठकले   जिल्लाभित्र डिजे साउण्ड  प्रयोगमा प्रतिबन्ध लगाउन सिफारिस गरेको  प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले बताउनुभयो । 

यस्ता साउण्ड सिस्टमले दुर्घटनासमेत बढाउने भएकाले जिल्लाका कुनै पनि स्थानमा यस्तो  स्पिकर राख्न नदिन स्थानीय प्रशासन ऐन २०२८ बमोजिम आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिनुभयो ।

ठूलो स्वारमा डिजे साउण्ड सिस्टम बजाउने र अस्लील खालमा गीत संगीत बजाउने गर्दा समाजमा विकृति फैलदै गएकाले बाध्य भएर यस्तो निर्णय गरिएको जिल्ला समन्वय समितिका सभापति मेथुर चौधरीले बताउनुभयो । 

उक्त  आदेशको बर्खिलाप गरेको पाइएमा सो सिस्टम जफत गर्नाका साथै  प्रचलित कानून बमोजिम कारबाही गरिने प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनुभयो  ।