देवेन्द्र केसी 'देवु' | साहित्य | असोज २४, २०७७
१
पीडाका खातहरूले घेरिएको छ मान्छे
समस्याका बाढीहरूले बेरिएको छ मान्छे
महामारीको रौद्र रूप विश्वभरि नै फैलिएको छ
लाचार र विवश मुहारमा फेरिएको छ मान्छे ।
२
फूल चढाउनेलाई तिरस्कार गर्यौ कि कतै
बगेकी प्रेम–गङ्गामा जहर छर्यौ कि कतै
जाति हुन्न हजुरको मनमा पाप भर्नेलाई
मेरी मनकी चरीले बास सर्यौ कि कतै !
३
कसैले इमान्दारीको गुणगान गाए
कसैले सत्य र न्यायको बखान सुनाए
इमान, सत्य र न्याय पर्दा पछाडि रोए
बेइमान, भ्रष्ट र घातीले धन–मान कमाए ।
४
जन्मथलो बिर्सिनेहरूलाई पाप लाग्छ पक्कै
कर्मथलो मात्र चुम्नेहरूलाई मात लाग्छ पक्कै
कर्मथलो र जन्मथलो छुट्याउनुहुँदैन स्वार्थमा
इमान बेचिदिनेहरूलाई घात लाग्छ पक्कै ।
५
होचो कसैको कद हुँदैन
आत्मा कसैको बध हुँदैन
दुखी रहोस् यो नाथे मन
अटुट कसैको पद हुँँदैन ।
६
दुष्ट मति पसिसकेपछि केही लाग्दो रहेनछ
कुलतमा फसिसकेपछि केही लाग्दो रहेनछ
माटोको माया नै नलागेपछि बाँकी के नै रह्यो र ?
इमानबाटै खसिसकेपछि केही लाग्दो रहेनछ ।
७
अक्षरहरू उनेर मुक्तक, कविता बनाउन खोज्छ ऊ
अनायासै रोइदिन्छ पापी मन, मनाउन खोज्छ ऊ
होचो कदको सिकारुलाई वाहवाह किन चाहियो ?
अग्लाहरूको अगाडि उपस्थिति जनाउन खोज्छ ऊ ।
८
समुद्र आँसु खोज्दै मेरै घर आइपुगेछ
पीडा, छट्पटी बोकेर झन् वर आइपुगेछ
तिम्रो कित्तामा नपुगोस् दुःख मनसुवा मेरो
गाउँतिर सारेको पाइला शहर आइपुगेछ ।
९
नखोस मान्छे हो खुसी चोट पर्न सक्छ
अँध्यारोमा लुकेर वैरीले दागा धर्न सक्छ
भर छैन यहाँ अचेल कोही आफ्फ्नैको पनि
व्याधा बनेर स्वप्निल चाराहरू छर्न सक्छ ।
१०
भो चाहिँदैन बरु सहानुभूति इमान बाँचे पुग्छ
तिम्रो खुट्टा पनि देखियो रत्यौली ननाचे पुग्छ
सतीले सरापेको भन्ने चरितार्थ नै भइसकेपछि
घर त हाँसेकै छ लाजले अब जग नहाँसे पुग्छ ।
(केसीको प्रकाशोन्मुख मुक्तककृतप 'इमानको पहाड'बाट)