सब्बु पाठक | साहित्य | असोज २४, २०७७
खुला आकाशरुपी हृदय आकाश च्यातेर हेर
साँझमा अनगिन्ती ताराहरु अटेको देख्नेछौ
बिहानीमा अटल सूर्य देख्नेछौ
रातमा निश्चल चन्द्रले स्वागत गर्नेछ
सबै आफ्नै कर्ममा रमाइरहेका छन्
आफ्नै गतिमा दगुरी रहेछन्
आफ्नै स्वाभिमानमा नतमस्तक छन्
चाहे बादलले ढाकोस्
असिना अनि वर्षात नै किन नहोस्
निसंकोच अनि आफैंप्रति नतमस्तक
आफ्नो कर्ममा
आफ्नो स्वाभिमानमा
आफ्नो स्वाधिनतामा
पर्वाह छैन कुनै बादलको
कालो होस कि सेतो
अनि गर्व छ आफ्नै पराक्रमको
यो विशाल हृदय आकाशमा रहेका
अनगिन्ती संख्यामा
म स्वयं पनि एक हुँ
मेरो आफ्नै गति छ
म मेरै गतिमा रमाउँछु
कोही परिवर्तन गर्न नखोज
किनकि परिवर्तन स्वयंमा हुनुपर्छ
म त्यो स्वयं खोजिरहेछु
स्वतन्त्र रुपमा
लम्किँदै
अनि चम्किँदै