लोकसंवाद संवाददाता | समाचार | असोज २४, २०७७
पछिल्लो समयमा समाजमा घरेलु तथा बाल हिंसा, छुवाछुत, दलितमाथि अत्याचार, बलात्कार, एसिड आक्रमण जस्ता आपराधिक घटना बढ्दो क्रममा छन् । बालिका, युवती, एकल महिला, वृद्धासमेत बलात्कारको शिकार भइरहेका छन् ।
नेपालको पछिल्लो तथ्यांङ्क हेर्ने हो भने दैनिक ६ जना महिला बलात्कार वा यौनजन्य हिंसामा परेको उजुरी प्रहरीमा दर्ता भएको देखिन्छ । यद्यपि यस्ता घटनामध्ये केबल १० प्रतिशत मात्रै प्रहरीमा दर्ता हुने गरेको बताइन्छ । अहिले पनि बलात्कारका घटना गाउँमा नै मिलाउने तथा डर, त्रास, धाक, धम्की आदिका कारण यस्ता घटना सार्वजनिक हुँदैनन् ।
सन् २०१९–२० को तथ्यांङ्क हेर्ने हो भने २ हजारभन्दा बढी बलात्कार तथा यौनजन्य हिंसाका घटना प्रहरीमा दर्ता भएको पाइन्छ । पछिल्ला वर्षहरुमा नेपालमा बलात्कार तथा यौनजन्य हिंसाका घटनामा भएको बढोत्तरी आश्चर्यजनक छ ।
२०६८ सालमा एसएलसी परीक्षा दिन गएकी बैतडीकी १४ वर्षीया पूजा बोहरामाथि बलात्कार भयो । ठूलो आर्थिक चलखेलमा अभियुक्तले २०६९ सालमा अदालतबाट छुटकारा पाएपछि उनले तत्कालीन कानुनमन्त्रीलाई पत्र नै लेखेकी थिइन् । पुजा बोहरादेखि निर्मला पन्त हुँदै बझाङको मास्टा गाउँपालिका–२ की सम्झना विकसम्म आइपुग्दा बलात्कारका घटनाले पराकाष्ठा नै नाघेको छ । बाबुबाट छोरी बलात्कृत, शिक्षकबाट छात्रा बलात्कृत हुन्छन् भने समाजका कुन ठाउँमा महिला सुरक्षित छन् ?
विश्वमा महिलाका लागि सबैभन्दा असुरक्षित राष्ट्रमा भारत शीर्ष स्थानमा पर्छ । पछिल्लो समयमा बढ्दो यौनजन्य हिंसाका घटनाले नेपाल भारतलाई भेट्ने दौडमा लागेको जस्तो भान हुन्छ ।
नेपालमा दैनिक औसत ६ महिला बलात्कृत भइरहेका छन् । नेपाल प्रहरीका अनुसार आर्थिक वर्ष २०७५/७६ मा २ हजार २ सय ३० महिला बलात्कृत भएका थिए । ७ सय ८६ महिलामाथि बलात्कार प्रयास भएका थिए । यस्तो तथ्यांक बर्सेनि बढ्दो छ । आर्थिक वर्ष २०७४/७५ मा देशभर झन्डै १ हजार ५ सय बलात्कारका घटना भएका थिए भने बलात्कार प्रयास भएको भन्दै करिब ७ सय उजुरी प्रहरीकहाँ परेका थिए ।
संयुक्त राष्ट्रसंघले केही वर्षअघि एक अध्ययन गरेर सार्वजनिक स्थान, सडकमा महिलाका लागि सबैभन्दा खतरनाक देशको सूची बनाएको थियो । यो सूचीमा अग्रणी राष्ट्र भारतमा हरेक दुई मिनेटमा कुनै न कुनै महिलामाथि बलात्कार या यौनजन्य हिंसा हुने गरेको पाइएको थियो ।
दुई दिनअघि एक युवतीले आफ्नो अनुभव लेखेकी थिइन् । जसअनुसार उनलाई दौड़िने र साइकल चलाउने शोक छ । तर उनी पैदल या साइकल लिएर सड़कमा निस्किदा कुनै नराम्रो अनुभव गर्न नपरेको सायदै कम हुन्थ्यो । कहिले कसैले उनको छातीमा हात लगाएर जान्थे त कोही सडकमा आफ्नो पाइन्टको चेन खोलेर उभिन्थे । कसलैले लगातार पीछा गर्दथे भने कोही छेउबाटै अश्लील टिप्पणी गर्दै जान्थे । उनले हरेक अलग दिन, हरेक अलग समयमा अलग स्थानमा गएर हेरिन् । तर अवस्थामा फरक पाइनन् । उनको डर, आवेग र असहजता कम भएन ।
यो कुराको अर्थ भनेको महिलाका लागि सकड धेरै खतरनाक छ । सडकमा डर लागेमा महिला घर जान्छन् । तर घरको अवस्था के छ त ?
घरको अवस्था के भन्ने पनि जानिहालौं । उनी लेख्छिनः
मेरो पछिल्लो कोलोनीमा एक सुन्दर घर थियो । घरमा एक सुन्दर महिला थिइन् । उनी पाँच महिनाकी गर्भवती थिइन् । त्यो घरबाट अक्सर मानिस चिच्याएको र महिला रोएको आवाज आउँछ ।
एक पटक मैले किचनको झ्याल खोलेर हेरेँ । एक जनाले ती महिलाको चुल्ठोमा समातेर उनको टाउको भित्तामा ठोक्काइदिन्छ । एक पटक प्रहरी पनि आएको थियो । तर घरेलु मामिला भन्दै ती मानिसलाई सम्झाएर गए । तर त्यो घरबाट महिला रोएको आवाज आउन रोकिएन ।
भारतमा लकडाउनको समयमा २५ मार्चदेखि ३१ मेको बीचमा १ हजार ४७७ महिलाले घरेलु हिंसा भएको रिपोर्ट प्रहरीमा गरेका थिए । यति छोटो समयमा यति धेरै हिंसाका घटना पछिल्लो १० वर्षमा पनि दर्ता भएका थिएनन् ।
धेरै मान्छेले यही रिपोर्टलाई नै आधार बनाएर घरेलु हिंसालाई हेर्ने गरेका छन् । तर नेशनल फैमिली हेल्थ सर्भेको रिपोर्टअनुसार घरेलु हिंसाको शिकार ८६ प्रतिशत महिलाले कहिल्यै पनि हिंसाको रिपोर्ट गर्दैनन्, न प्रहरीकोमा जान्छन् न त कसैको सहयोग नै माग्छन् । हिंसाको रिपोर्ट गर्ने र सहयोग माग्ने महिलाको संख्या १४ प्रतिशत छ भने उनीहरूमध्ये ७ प्रतिशत मात्रै प्रहरी र न्यायालयसम्म पुग्न सक्छन् ।
भारतको नेशनल क्राइम रकेर्ड ब्यूरोका अनुसार हरेक तीन मिनेटमा एक महिलामाथि घरमा कुटपिट हुन्छ । घरमा भएका हिंसाको निशानी लुकाएर घरमा आएका पाहुनालाई मुस्कुराएर स्वागत गर्छन्, सबैसँग झुठ बोल्छन्, भान्सामा लुकेर रुन्छन्, किनकि महिलालाई बचपनदेखि बोलेमा तिम्रो बदनामी हुन्छ भनेर सिकाएको हुन्छ । हिंसा पुरुषले गर्छ र बदनामी महिलाको हुन्छ । बलात्कार पुरुषले गर्छ तर चरित्र खराब महिलाको हुन्छ ।
बिच सडकमा पाइन्ट खोलेर पुरुष उभिदा महिला डराउनुपर्छ, पुरुषले कपडा खोल्छ, महिलाले मुख छोप्नुपर्छ । पुरुषका घृणित कामका लागि महिलाले लाज मानिदिनुपर्छ । बाहिर पुरुषले महिलामाथि यौनजन्य हिंसा गर्छन्, घरमा महिलालाई थुनिन्छ । बलात्कारी पुरुष हुन्छन् तर महिलालाई बलात्कारबाट बच्ने पाठ सिकाइन्छ ।
थोमसन रोयटर्स फाउन्डेशनले आफ्नो सर्वेक्षणले पनि भारत महिलाका लागि सबैभन्दा खतरनाक देश भएको उल्लेख गरेको थियो । सडकमा जाँदा बलात्कार र यौनजन्य हिंसा तथा घरभित्र पनि घरेलु हिंसा हुने गरेको पाइन्छ । महिलालाई कुनै कुराको तत्काल जवाफ दिएमा मुखमुखै लागेको आरोप लाग्छ भने डराउन छाड्ने हो भने चरित्रहीनको बात लाग्छ ।
नेपालको अवस्था पनि अब कम खतरनाक छैन । नेपालमा दैनिक औसत ६ महिला बलात्कृत भइरहेका छन् । नेपाल प्रहरीका अनुसार आर्थिक वर्ष २०७५/७६ मा २ हजार २ सय ३० महिला बलात्कृत भएका थिए । ७ सय ८६ महिलामाथि बलात्कार प्रयास भएका थिए । यस्तो तथ्याङ्क बर्सेनि बढ्दो छ । आर्थिक वर्ष २०७४/७५ मा देशभर झन्डै १ हजार ५ सय बलात्कारका घटना भएका थिए भने बलात्कार प्रयास भएको भन्दै करिब ७ सय उजुरी प्रहरीकहाँ परेका थिए ।
डेढ–दुई दशकअघिसम्म यो संख्या निकै कम हुन्थ्यो । २०५५/५६ मा १ सय ४१ महिला बलात्कृत भएका थिए भने १८ जनालाई बलात्कार प्रयास भएको थियो । त्यतिबेला घटनै कम हुन्थे या प्रहरीसम्म आइपुग्दैनथे भन्ने बेग्लै विषय हो, प्रहरीमा आइरहेको अहिलेको तथ्याङ्क भने आफैंमा डरलाग्दो छ ।
तर हालै गृहमन्त्री रामबहादुर थापाले बलात्कारको अवस्था त्यति चिन्ताजनक नभएको बताएपछि त्यो आलोचनाको विषय भएको छ । महिलाहरु आफ्नै बाबु, मामा, काका, गुरु, आफन्त, दाइ, भाइ, घर, छिमेक, समाजबाट असुरक्षित हुने अवस्था सिर्जना भएको छ ।
बलात्कार जस्तो जघन्य अपराधका पीडितले अझै पनि त्यसपछि परिवार र समाजको संरक्षणभन्दा घृणा सहनुपर्ने बाध्यता छ । समाजमा पुनर्स्थापनाका लागि समाज, दोषी र राज्य कसैले पनि दायित्व बहन नगर्दा पीडित पीडामाथि पीडा बोकेर बस्न बाध्य हुन्छन् । बलात्कारविरूद्ध कडा कानुनी व्यवस्था भएपनि बलात्कारका घटनामा भने कमी आउन सकेको छैन ।
कानुनमा व्यवस्था हुँदा हुँदै पिन बलात्कारका घटना बढ्नुमा हाम्रो सामाजिक व्यवस्था, शक्ति र पैसाको उन्माद या के कुराले प्रश्रय पाइरहेको छ ? त्यसलाइ पत्ता लगाएर कानुनको दायरामा ल्याई अपराधीलाई हतोत्साही बनाउन आवश्यक छ ।