लोकसंवाद संवाददाता | स्वास्थ्य | असोज २५, २०७७
बुटवल । बुटवलमा कोरोना सङ्क्रमितको एकै दिन आज तीन जनाको मृत्यु भएको छ । अस्पतालका कोरोना सङ्क्रमितको उपचारका लागि सघन उपचार कक्षको अभाव हुँदा एक सङ्क्रमितको भने उपचारका लागि बुटवल बाहिर लैजाँदै गर्दा बाटामा मृत्यु भएको छ ।
बुटवलको सङ्क्रमितको उपचारका लागि सघन उपचार कक्ष नपाइएका दाङको बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालमा लैजाँदै गर्दा आज बिहान बाटैमा मृत्यु भएको हो । बुटवल–११ का ८४ वर्षीय पुरुषको उपचारका लागि लैजाने क्रममा कपिलवस्तुको धानखोलामा मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले आज जारी गरेको विज्ञप्तिमा जनाइएको छ । उनी लामो समयदेखि मुटु रोगको समस्याले पीडित रहेको जनाइएको छ ।
कोरोना सङ्क्रमित बुटवल–११ की ६१ वर्षीया महिलाको उपचारका क्रममा आज बिहान करिब २ बजे कोरोना विशेष अस्पताल बुटवलमा मृत्यु भएको हो । बुधबार कोरोना विशेष अस्पतालको कक्षमा भर्ना भएकी सङ्क्रमित महिलाको उपचारका क्रममा मृत्यु भएको जनाइएको छ । श्वासप्रश्वासको समस्या देखिएपछि भेन्टिलेटरमा राखेर उपचार गर्दागर्दै उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।
बुटवल–१ का ७० वर्षीय पुरुषको गए राति १० बजे कोरोना विशेष अस्पतालको सघन उपचार कक्षमा उपचारका क्रममा मृत्यु भएको हो । शनिबार अस्पताल भर्ना भएका उनमा यही असोज २२ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।