पहिरामा परी मृत्यु भएका मृतकका परिवारलाई आर्थिक सहयोग

पहिरामा परी मृत्यु भएका मृतकका परिवारलाई आर्थिक सहयोग

लोकसंवाद संवाददाता  |  समाज  |  असोज २६, २०७७

पाेखरा । गत साउन २ गते विहान गएको पहिरामा परी मृत्यु भएका माछापुच्छ्रे गाउँपालिका–८ खोराकोमुखका तीन जनाको परिवारलाई राहत स्वरुप आर्थिक सहयोग प्रदान गरिएको छ ।गाउँपालिका कार्यालयमा आइतबार आयोजित कार्यक्रममा गण्डकी प्रदेश सरकारबाट ५० हजार रुपैयाँ तथा तथा गाउँपालिकाबाट ५० हजार रुपैयाँ गरी मृतकका परिवारलाई जनही एक लाख रुपैयाँका दरले राहत प्रदान गरिएको हो । 

आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुुर चुमान तथा गाउँपालिका अध्यक्ष कर्ण बहादुर गुरुङले पीडित परिवारलाई राहत रकम हस्तान्तरण गर्नुभएको थियो । खोराकोमुख पाखाका प्रेमराज विकको घर माथिबाट आएको पहिरामा पुरिएर उहाँका तीन छोराका दुई नाति १६ वर्षीय कुशल, १४ वर्षीय समिर तथा १६ वर्षीया नातिनी रेजिना विकको घटनास्थलमै मृत्यु भएको थियो ।

राहत वितरण कार्यक्रममा मन्त्री चुमानले यस वर्ष गण्डकी प्रदेशमा प्राकृतिक विपत्तिका घटनाहरु अघिल्ला वर्षका तुलनामा बढी घटेको बताउँदै विस्थापितहरुको पुर्नःस्थापना तथा पीडितहरुलाई राहत प्रदान गरिने बताउनुभयो । सङ्घीय सरकारसँगको सहकार्यमा विस्थापितहरुका लागि आवास निर्माण गरिने उहाँले जानकारी दिनुभयो । मन्त्री चुमानका अनुसार मनसुन शुरु भएयता प्राकृतिक विपत्ति परेर गण्डकी प्रदेशमा १२६ जनाको मृत्यु तथा २३ बेपत्ता छन् । विपत्तिमा परेर ८९ जना घाइते भएको बताइन्छ । 

गण्डकी प्रदेशसभा सदस्य रामजीप्रसाद बरालले इञ्जीनियरिङ डिजाइन तथा नाप जाँच बिना खनिएका ग्रामिण सडकका कारणबाट वर्खायाममा जनधनको क्षति पुगेको बताउनुभयो । 

यस वर्ष पहिरोमा परी कास्कीमा तीन महिला, दुई पुरुष, तीन बालिका तथा तीन बालक गरी कूल ११ जनाले ज्यान गुमाएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।