लोकसंवाद संवाददाता | समाचार | चैत २०, २०७५
दक्षिण पूर्वी एशियाली मुलुक ब्रुनाईले समलिङ्गीलाई ढुङ्गाले हिर्काएर मारिने सजाय सहितको नयाँ इस्लामिक कानून बुधवारदेखि लागु गरेको छ ।
चोरीको सजाय हातखुट्टा काटिने जस्ता व्यवस्थाहरू पनि नयाँ कानूनमा रहेका छन् ।
अन्तराष्ट्रिय समुदायमा धेरैले यो कानूनको विरोध गरेका छन् ।
ब्रुनाईको समलिङ्गी समुदायले आफूहरूले मध्ययुगको जस्तो सजाय पाउने डर व्यक्त गरेका छन् ।
‘तपाईँ उठ्दा तपाईँको छिमेकी, परिवार वा सडक किनारमा व्यापार गर्ने वृद्धाले समेत तपाईँलाई मानव नै होइन या ढुङ्गाले हानेर मार्नु ठिक हो भनेर सोच्नुपर्ने भएको छ,’ ब्रुनाईका एक जना समलिङ्गीले बीबीसीलाई आफ्नो परिचय नखोल्ने आग्रहका साथ बताए ।
नयाँ कानून अनुसार कुनैपनि व्यक्तिलाई समलिङ्गी व्यवहार गरेको
चारजनाले देखेमा वा आफैंले स्वीकार गरे मात्रै सजाय दिन सकिन्छ
ब्रुनाईमा समलिङ्गी सम्बन्ध पहिलेपनि गैरकानूनी थियो र १० वर्षसम्मको जेल सजाय हुन सक्ने व्यवस्था थियो ।
ब्रुनाईमा ७२ वर्षीय सुल्तान हसनल बोल्कियको शासन छ । तेल र ग्याँस निर्यातका कारण ब्रुनाइ धनी राष्ट्र बनेको हो ।
ब्रुनाईका प्रधानमन्त्री पनि रहेका सुल्तान संसारका सबैभन्दा धनीमध्येमा पर्छन् ।
ब्रुनाई इन्भेष्टमेन्ट एजेन्सी जसले संसारका ठूला होटलहरू सञ्चालन गर्ने गर्छ त्यसको नेतृत्व ब्रुनाईका सुल्तानले गर्छन् ।
नयाँ कानून लागु गर्न लागेका कारण हलिउडका चर्चित अभिनेता जर्ज क्लुने र अन्यले सुल्तानका होटलहरू बहिष्कार गर्न अह्वान गरेका छन् ।
ब्रुनाईका शासक परिवारसँग ठूलो सम्पत्ति छ र ब्रुनाईका नागरिकले राज्यलाई कर तिर्नु नपर्ने सुविधा प्राप्त गर्ने गरेका छन् ।
चार लाख बिस हजार जनसंख्या भएको ब्रुनाईमा दुई तिहाई इस्लाम धर्मावलम्बी छन् ।
ब्रुनाईको कानूनमा मृत्युदण्डको व्यवस्था भएपनि सन् १९५७ यता कसैलाई पनि मृत्युदण्ड दिइएको छैन् ।
ब्रुनाईले सन् २०१४ मा ‘सरिया कानुन’ लागु गरेको थियो र सुल्तानले केही वर्षमा नयाँ मुलुकी संहिता लागु हुने बताएका थिए ।
गएको शनिवार सरकारले वेबसाइटमा एक विज्ञप्ति जारी गर्दै बुधवारदेखि ‘सरिया मुलुकी संहिता’ लागु हुने घोषणा गरेको हो ।
‘पाँच वर्ष अगाडि पनि ‘सरिया कानून’को सर्वत्र निन्दा भएको थियो,’ एमनेष्टी इन्टरनेशनलमा ब्रुनाई अध्ययन गरिरहेकी राचेल छो– हवार्डले भनिन्, ‘ब्रुनाईको मुलुकी संहिता मानव अधिकार हनन् हुने
समस्याग्रस्त कानून हो ।’
संयुक्त राष्ट्रसंघले पनि मुलुकी संहिता क्रुर, अमानवीय, अपमानजनक र मानव अधिकार संरक्षणमा बाधा पार्ने खालको कानून भएको बताएको छ ।
नयाँ कानुनमा बलात्कार, व्यभिचार, लुटपाट र मोहम्मदको अपमान गर्नेका लागि मृत्युदण्डको व्यवस्था गरिएको छ ।
गर्भपतन गरेमा सार्वजनिक रूपमा कोर्रा हान्ने र चोरीका लागि हातखुट्टा काट्ने व्यवस्था पनि छ नयाँ कानुनमा ।
साथै १८ वर्षभन्दा मुनिका किशोरकिशोरीलाई इस्लामभन्दा अरू धर्मका बारेमा सिकाउनु पनि गैरकानूनी बनाइएको छ ।
कानून मुलतः इस्लाम धर्मावलम्बीमा लागु हुने भए पनि केही कानूनी व्यवस्थाहरू सबैमा लागु हुन्छ ।