सुमन थापा ‘सङ्गम’ | साहित्य | कात्तिक ०१, २०७७
सागरको छातिमा स्नान गरेर
बतासको मुलायम खुट्किलो टेक्दै
जो निस्कन्छ आकाशको यात्रामा
उसलाई हरेक दिन भेट्छु, जीवनभरि भेट्छु
र त्यो एकदिन हुन्छ ।
जसै घामको निन्द्रा खुल्छ
ब्युउँझन्छु म पनि ऊ सङ्गै
हिँड्छु पछि पछि उसकै छाँया बनेर
अनन्त यात्रा पूरा गरी
ओर्लन्छु फेरि आजको साँझसङ्गै, सधैँको साँझसङ्गै
र त्यो एकदिन हुन्छ ।
दिन र रातहरुमा
जीवनका यावत दुर्घटनामा
समयका सुइहरुले
सोधिरहन्छन् मलाई
मेरो जन्मको समय
मेरो मृत्युको समय
तर म तिनैलाई सोध्न चाहन्छु
जीवनको पूर्ण समय
भेट्नसाथ सोध्न चाहन्छु
छुट्ने बेला सोध्न चाहन्छु
र त्यो एकदिन हुन्छ ।
जीवन कहीँ सजिलो छ
जीवन कहीँ अप्ठ्यारो छ
यसकारण कि जीवनको अन्त्य
कहाँ कुन समय छ थाहै छैन
त्यो बिहानी छेउ
जीवनको धुन पहिल्याउँदै
म त्यहाँ आइपुग्नेछु
त्यो मूलबाटो भेट्न
भेट्मा रुन्छु या हाँस्छु भन्न सक्दिनँ
जीवनका सारा घटनाहरू
भेटहरु, बिछोडहरु
उमङ्गहरु, यातनाहरु
सपनाहरु, बिपनाहरु
आवाजहरु, मौनताहरु
सबै जन्मिए मसँगै केही दिनलाई यो संसारमा
र विलय हुनेछ मेरो निम्ति सधैँ सधैँलाई
म संङ्गै मेरो मृत्युमा ।
जीवनको कुनै एउटा याम फेरि जन्मिनेछ
नयाँ रूपमा
र, दिन, महिना, वर्ष बित्नेछ
हिजोले पछ्याउँदैन
भोलि भेटिँदैन
त्यो हरेक समय र भोगाई
समग्रमा वर्तमानको आज
एकदिन हुनेछ ।