आर्मीनीया–अजरबैजान द्वन्द्व : गैरसैनिक र गरिब विदेशीलाई जबरजस्ती युद्धमा धकेलिदै

आर्मीनीया–अजरबैजान द्वन्द्व : गैरसैनिक र गरिब विदेशीलाई जबरजस्ती युद्धमा धकेलिदै

लोकसंवाद संवाददाता  |  विदेश  |  कात्तिक ०२, २०७७

आर्मेनिया र अजरबैजानबीच नागोर्नो–काराबाख क्षेत्रलाई लिएर लामो समयदेखि जारी युद्ध यतिबेला पुनः चर्किएको छ । तीन दशकभन्दा लामो विवादलाई लिएर भइरहेको युद्ध विभिन्न देशको पहलमा युद्धविरामको कोशिस गरिएपनि सफल हुन सकेको छैन । पछिल्लो समयमा भएका गोलीबारी र भिडन्तका क्रममा थुप्रै गैरसैनिक नागरिकले पनि ज्यान गुमाएका छन् । 

यो विवादको केन्द्रमा रहेको नागोर्नो–काराबाखको पहाडी क्षेत्रलाई अजरबैजानले आफ्नो भएको दाबी गर्दै आएको छ । सन् १९९४ मा अन्त्य भएको युद्धपछि सो क्षेत्र आर्मेनियाको कब्जामा छ । 

१९८० दशकको अन्तिमदेखि १९९० को दशकसम्म चलेको युद्धका क्रममा ३० हजारभन्दा बढीले ज्यान गुमाएका थिए भने १० लाखभन्दा बढी विस्थापित भएका थिए । सो क्रममा पृथकतावादी शक्तिले नागोर्नो–काराबाखको केही इलाकामा कब्जा जमाउन सफल भए । सन् १९९४ मा युद्धविराम पछि पनि त्यस क्षेत्रमा गतिरोध जारी छ ।

यतिबेला चर्किएको यो युद्धमा स्वदेशी र विदेशी धेरै गैरसैनिक नागरिक समेत प्रयोग गरिएका समाचारहरु समेत आइरहेका छन् । यसैक्रममा अजरबैजान र आर्मेनियाका जस्तै छिमेकी देशबाट समेत सो क्षेत्रमा गैरसैनिक युवाहरु पुगेका छन् र उनीहरुले सैनिक तालिम बिना नै युद्धमा जान बाध्य पारिएको छ । 

यसरी नै युद्धमा पुगेका एक सिरियाली युवाले आफूलाई झुक्याएर त्यहाँ पुर्‍याइएको बताएका छन् । ‘हामी लडाइँ गर्न जाँदैछौँ भन्ने मलाई थाहा थिएन,’ उनी भन्छन् । परिवर्तित नाम अब्दुल्ला राखिएका ति युवा आफैंमा सञ्चार सम्पर्कमा आएकोमा पनि त्रसित छन् । 

आर्मेनिया र अजरबैजानबीच नागोर्नो–काराबाख क्षेत्रलाई लिएर भइरहेको युद्धमा थुप्रै गैरसैनिक र विदेशी नागरिकहरु प्रयोग गरिएका छन् । यो युद्धमा आर्मेनिया र अजरबैजानका साथै रुस, टर्की, इरानजस्ता केही शक्ति राष्ट्र समेत आफ्नो स्वार्थअनुसार लागेका कारण त्यहाँको अवस्था भने जटिल बनिरहेको छ । 

‘उनीहरूले २ हजार डलर दिएर अजरबैजानको सीमास्थित सैन्य शिविरको सुरक्षाका लागि जान हामीलाई भनेका थिए,’ उनले भने, ‘त्यतिबेला त्यहाँ युद्ध भएको थिएन र हामीले कुनै सैन्य तालिम पनि पाएनौं ।’

निर्देशन पाएको एक सातापछि ती सिरियाली युवक त्यहाँ पुगे । जुन ठाउँबारे उनी अनविज्ञ थिए । उत्तरी सिरियाका धेरै बासिन्दाजस्तै अब्दुल्ला पनि गरिब र युद्ध पीडित व्यक्ति हुन् । हालै गरिएको एक सर्वेक्षणमा भाग लिएकामध्ये ८१ प्रतिशत मानिसले आफूहरूले  महिनाको ५० डलरभन्दा कम तलब पाउने गरेको बताएका थिए ।

अब्दुल्ला जब अजरबैजानको सीमास्थित सैन्य अड्डामा गए । त्यहाँ उनले त्यसको ४० गुणा बढी तलब पाएकाले पनि त्यहाँ जान सहज रुपमा स्वीकार गरे । 

त्यतिबेला त्यहाँ युद्ध थिएन । उत्तरी सिरियाबाट उनीहरुलाई आवर केल्स गाउँमा पठाइयो । त्यहाँ कसैले नचिनोस् भनेर विपक्षी सिरियन नेशनल आर्मीले उनीहरुका सबै सामान, फोन, पैसा र लुगा जफत गरे ।

तर अब्दुल्लाले जसतसो आफ्नो फोन फेला पारे । ‘त्यसपछि हामीलाई दक्षिण टर्कीमा रहेको एन्टेप विमानस्थलमा पठाइयो, जहाँबाट एक घण्टा ४० मिनेटमा हामी इस्तानबुल विमानस्थल पुग्यौँ । र, त्यहाँबाट अजेरी वायुसेवामार्फत् हामीलाई अजरबैजान पठाइयो । अनि हामी सीमास्थित सेनाको चौकीमा पुग्यौं । हामीलाई कुनै सैन्य तालिम दिइएन,’ उनले भने । 

अब्दुल्ला रहेको नागोर्नो–काराबाख क्षेत्र दशकौंदेखि द्वन्द्वको केन्द्रमा छ । पहाडी भूभाग रहेको सो क्षेत्रलाई अन्तर्राष्ट्रिय रूपमा अजरबैजानको क्षेत्रका रुपमा मान्यता दिइएपनि त्यहाँ आर्मेनियाका जातीय पृथकतावादी समूहको कब्जा छ । 

दुईदेशबीच सो क्षेत्रलाई लिएर सन् १९८० को दशकको अन्त्यदेखि सन् १९९० को सुरुसम्म रक्तपातपूर्ण युद्ध भएको थियो । 

सो युद्धमा दशौं हजारको ज्यान गयो भने करिब १० लाख विस्थापित भएका थिए । उनीहरूले युद्धविरामको घोषणा गरे पनि कहिल्यै शान्ति सम्झौतामा सहमति जनाएनन् । त्यसैले बेलाबेला त्यस क्षेत्रलाई लिएर युद्ध भइरहन्छ । 

२७ सेप्टेम्बर आइतबार । अब्दुल्ला झन्डै एक सातादेखि शिविरमा थिए । अन्य सिरियालीजस्तै उनी पनि त्यहाँ लड्नका लागि नभई पैसाका लागि गएका थिए । तर आश्चर्यजनक रूपमा उनलाई सो ठाउँ छिट्टै छोड्न आदेश दिइयो । 

‘सैन्य टोलीलाई बोक्ने गाडीमा उनीहरूले हामीलाई हाले । हामीले अजरबैजानका मानिसले लगाउने लुगा लगाएका थियौं, हामी प्रत्येकसँग कालास्निकोभ थियो,’ उनले भने, ‘कार रोकियो र अग्रमोर्चामा आफूलाई पाएर हामी चकित भयौं । हामीलाई शत्रुअरू कहाँ थिए भन्ने पनि थाहा थिएन । त्यसपछि बम आक्रमण सुरु भयो, मानिसहरू डरले रोइरहेका थिए र घर जान चाहिरहेका थिए । हामी बसेकै छेउमा गोलाबारी भयो । चारजना सिरियालीको मृत्यु भयो भने तीन जना घाइते भए ।’

त्यसको केही दिनमा आफूले १० सिरियालीको शव देखेको अब्दुल्लाले बताए । अजरबैजानमा ज्यान गुमाएका सिरियालीहरूबारे सिरियामा रहेका परिवारलाई जानकारी समेत दिइँदैन । अब्दुल्लाले अन्य ७० जना घाइते भएका र उनीहरूले आवश्यकताअनुसार स्वास्थ्य उपचार नपाएको बताए ।

लडाइका लागि अजरबैजानको सीमामा ४ हजार सिरियाली नागरिकलाई पठाएको आर्मेनियाको आरोप छ । तर टर्कीले सो दाबी अस्वीकार गर्दै आएको छ । अजरबैजानका राष्ट्रपति इल्हाम अलिएभले आर्मेनियाको द्वन्द्वमा टर्कीको केवल नैतिक समर्थनमात्रै रहेको दाबी गर्छन् । तर यो युद्धमा टर्कीले सबै प्रकारका सहयोग गर्ने बताइरहेको छ । 

टर्की र अजरबैजानबीच राजनीतिक, जातीय र सांस्कृतिक सम्बन्ध समेत छ । तर टर्कीमार्फत् सिरियालीलाई आफ्नो देशबाहेक अन्यत्र लड्न पठाइएको आरोप लागेको यो पहिलो घटना भने होइन । 

गत मेमा सार्वजनिक भएको संयुक्त राष्ट्रसंघको प्रतिवेदनले उत्तरी सिरियाका लडाकुहरूलाई टर्की हुँदै लिबियाको पहिलो गृहयुद्धमा लड्नका लागि पठाइएको जनाएको थियो । ट्रिपोलीमा एक भिडियोमा सिरियाली लडाकु देखिएपछि त्यसले आक्रोश निम्त्याउनुका साथै द्वन्द्व भड्काएको आरोप पनि टर्कीमाथि लागेको थियो ।

सिरियन अब्जर्भेटरी फर ह्यूमन राइट्सका निर्देशक रमी अब्दुल रहमान लडाकुलाई अजरबैजान पठाउने कि नपठाउने भन्ने विषयमा सिरियाका सशस्त्र विपक्षीहरू विभाजित रहेको बताउँछन् । 

त्यो ठाउँमा इन्टरनेट समेत नभएका कारण सजिलै फोन खोसिएका लडाकूहरु सम्पर्कमा आउन सक्दैनन् । अब्दुल्लाले भनेका छन्, ‘युद्ध सुरु भएपछि हामीले सिरियास्थित घर फर्किन चाहेको बताएपनि उनीहरुले हामीलाई जान दिन अस्वीकार गरे । उनीहरूले हामी अग्रमोर्चामा लडाइँ गर्न नगए लामो समय जेलमा हाल्ने धम्की दिए ।’ 

आर्मेनिया र अजरबैजानबीच नागोर्नो–काराबाख क्षेत्रलाई लिएर भइरहेको युद्धमा थुप्रै गैरसैनिक र विदेशी नागरिकहरु प्रयोग गरिएका छन् । यो युद्धमा आर्मेनिया र अजरबैजानका साथै रुस, टर्की, इरानजस्ता केही शक्ति राष्ट्र समेत आफ्नो स्वार्थअनुसार लागेका कारण त्यहाँको अवस्था भने जटिल बनिरहेको छ । 

युद्धविराम समेत लागू हुन नसक्दा त्यस क्षेत्रमा सर्वसाधारण जनता भने त्रासमा बाँच्न विवश छन् । शक्ति राष्ट्रहरु यस प्रकारको अमानवीय युद्धबारे समेत मौन देखिन्छन् । जसले गर्दा निहत्था नागरिकले बढी ज्यान गुमाउने खतरा उत्तिकै बढेको छ । 

एजेन्सीको सहयोगमा